तेल चोर्न नपाएपछि पटक–पटक ढुवानी प्रभावित बनाउँदै चालक

बाटो तथा गोप्य ठाउँमा ट्याङ्कर लैजाने र ठूलो परिमाणमा तेल झिकेर बेच्दै आएका चालकले अहिले त्यस्तो कार्य गर्न नपाएपछि पेट्रोलियम पदार्थ ढुवानीमा बखेडा निकालिरहेको नेपाल आयल निगम स्रोतले बताएको छ ।

नेपाल आयल निगमले ट्याङ्करमा सेक्युरिटी लकिङ सिस्टम जडान गरेपछि तेल चोर्न नपाएका चालकले विभिन्न बहाना बनाउँदै पेट्रोलियम ढुवानी रोक्दै आएका छन् ।

बाटो तथा गोप्य ठाउँमा ट्याङ्कर लैजाने र ठूलो परिमाणमा तेल झिकेर बेच्दै आएका चालकले अहिले त्यस्तो कार्य गर्न नपाएपछि पेट्रोलियम पदार्थ ढुवानीमा बखेडा निकालिरहेको नेपाल आयल निगम स्रोतले बताएको छ ।

चालकले तलबभत्ता नपुगेको, असुरक्षित भएकोलगायत बहाना देखाएर सेक्युरिटी लकिङ जडान गरेपछि तीन पटक ढुवानी ठप्प पारेका छन् ।
एक महिनाअघि भारतीय सुरक्षा बल (एसएसबी)ले चालकलाई हातपात गरेको भन्दै दुई दिनसम्म ढुवानी रोकेका थिए । त्यो बेला एसएसबीले चालकलाई लाइनमा आउन गरेको आग्रहलाई चालकले नमानेको स्रोतको दाबी छ ।

‘एसएसबीसँग विवाद भएपछि सरकारले तत्काल समस्या समाधान गरेपनि चालक तेल बोक्न गएका थिएनन्,’ निगम उच्च स्रोतले भन्यो, ‘यसबाट पनि प्रस्ट हुन्छ कि उनीहरुले तेल चोर्न नपाएकै कारण भारतमा तेल लिन नगएका हुन् ।’

त्यसैगरी, चालकले पश्चिमाञ्चलमा पनि ढुवानी प्रभावित पारेका थिए । उनीहरुले आफूहरु असुरक्षित भएको भन्दै ढुवानी प्रभावित पारेको भए पनि खासमा तेल चोर्न नपाएर आन्दोलनमा उत्रिएको निगमले बताएको छ ।

निगमका अनुसार चालकले बुधबार पनि हवाइ इन्धन उठाएका थिएनन् । तलबभत्ता कम भएको भन्दै बुधबार हवाइ इन्धन नबोकेको बताएका छन् । तर, वास्तविकतामा त्यस्तो नभई तेल चोर्न नपाएको रीस पोखेको स्रोतको दाबी छ ।