चक्रपथको सुविधा दिन नै नसक्ने गरी सहर विस्तार हुँदै गएपछि अहिले बाहिरी चक्रपथको आवश्यकता महसुस गरिएको छ ।
काठमाडौं उपत्यकाको ‘लाइफ लाइन’ हो चक्रपथ । अव्यवस्थित तथा अस्तव्यस्त तरिकाले विस्तार हुँदै गएको काठमाडौं सहरमा चक्रपथबिनाको जीवन निर्वाह कल्पनाभन्दा बाहिरको भएको छ । करिब ५० लाख मानिसको आवादी र झन्डै १० लाख सवारीको चाप रहेको काठमाडौं उपत्यकामा ४ लेनको चक्रपथसमेत नभइदिएको भए सवारी जामले राजधानीबासीको दैनिकी झनै अस्तव्यस्त बन्ने थियो । तर, साढे ४ दशक पुरानो यही चक्रपथले केही हदसम्म भए पनि सवारीको आवागमनलाई अहिलेसम्म केही सहज बनाइदिएको छ ।
काठमाडौं र ललितपुरलाई समेटेर २०२७ सालमा चीनको अनुदान सहयोगमा २७.२ किलोमिटर लम्बाइको यो चक्रपथ बनाइयो । उपत्यकामा पर्ने तीन जिल्लामध्ये भक्तपुरलाई चक्रपथले नसमेटेकोमा अहिलेसम्म पनि भक्तपुरबासीले चित्त दुखाइरहेका छन् । भक्तपुर–२ बाट भर्खरैै प्रतिनिधिसभा सदस्यमा निर्वाचित एमाले नेता महेश बस्नेत भन्छन्, ‘उपत्यकाका तीन जिल्लामध्ये भक्तपुरलाई मात्र नसमेटी दुई जिल्लालाई समेटेर चक्रपथ विस्तार गरिएकोमा अहिले पनि भक्तपुरबासीले चित्त दुखाइरहेछन् । अब भक्तपुरमाथि विभेद हुन दिन्नँ ।’
यद्यपि, नेता बस्नेतले यसो भनिरहँदा पनि चक्रपथले समेत भक्तपुरको मुख्य सहरबासीलाई कोटेश्वर हुँदै काठमाडौंको मुख्य सहरसँग जोड्न योगदान भने गरिरहेकै छ । यस तथ्यलाई भक्तपुरबासीले भुल्न मिल्दैन । विस्तार हुँदै गरेको उपत्यका सहर अहिले चक्रपथको प्रभाव क्षेत्रभन्दा निकै बाहिरसम्म पुगिसकेको छ । हालको चक्रपथले सुविधा नै दिन नसक्ने गरी सहर विस्तार हुँदै गएपछि अहिले बाहिरी चक्रपथको आवश्यकता महसुस गरिएको छ । र, यसको निर्माण योजना बनाइएको छ । बाहिरी चक्रपथले भक्तपुरसहित उपत्यकाका तीनओटै जिल्लालाई समेट्छ । र, त्यो उपत्यकाबासीको जीवन निर्वाहको अर्को आधार मार्ग (लाइफ लाइन) बन्न सक्ने आशा गरिँदै छ ।
हालकै भित्री चक्रपथले समेत कलङ्की, बल्खु, एकान्तकुना, सातदोबाटो, कोटेश्वर, चाबहिल, नारायणगोपालचोक, टोखा, माछापोखरी, सीतापाइलाजस्ता चारैतिर रहेका नाकाहरुबाट विभिन्न भागका मानिसलाई काठमाडौंको मुख्य सहरमा भित्र्याउने र बाहिर पठाउने कार्यमा सहयोग पु¥याइरहेको छ । चक्रपथकै कारण केही हदसम्म भए पनि ठूला गाडीको चाप सहरका भित्री सडकहरुमा कम परेको छ ।
यसरी वर्तमानमा जीवन निर्वाहको आधार बनिरहेको भित्री चक्रपथलाई मिहिन रुपले नियाल्दै एक फन्को लगाउने हो भने मानिसका रङरङका पेसा व्यवसाय र जीवनचर्या देख्न पाइन्छ, जसले चक्रपथको महत्त्व र यसको गलत प्रयोग पनि प्रस्टैसँग देखाइदिन्छ ।
चक्रपथको फन्को लगाउँदा देखिने दृश्य
१. धूलोको साम्राज्य : मानिस र सवारीको चापसँगै साँघुरिएको चक्रपथलाई अहिले कलङ्कीदेखि कोटेश्वरसम्म फराकिलो पार्ने काम भइरहेको छ । यस खण्डमा सडक निर्माणका लागि प्रयोग भएका डोजर, एस्काभेटर, टिपर, ढुङ्गा, गिट्टीबालुवा, अस्फाल्ट, रोडरोलर, पिच बिछ्याउने मेसिनजस्ता सामग्री बाटोमा यत्रतत्र देख्न सकिन्छ । निर्माणका लागि खनिएका बाटोको कतै छेउ, कतै बीचबाट गुड्ने गाडीले धुलोमुस्लो उडाइरहेका छन् । आम यात्रु, सडकछेउमा व्यवसाय गर्नेहरु, दैनिक कार्यालय धाउने कामदार कर्मचारी सबैले धूलोको साम्राज्यलाई छिचोल्दै, फोक्सोभरि धूलो भर्दै आफ्नो गन्तव्य तय गर्न बाध्य छन् । केहीले मास्क प्रयोग गरेका छन् । तर, वायुमण्डलमै घुलेको धूलो सामान्य मास्कले छेक्न सकेको छैन । सडक निर्माणमा जुटेका निर्माण कर्मचारी तथा मजदुर र सवारी व्यवस्थापन मिलाउन चोकचोकमा खटिएका ट्राफिक प्रहरी यस खण्डमा सबैभन्दा बढी पीडित देखिन्छन् । उनीहरुको युनिफर्मसमेत धूलोले फुस्रै देखिन्छ । ड्युटी अवधिभर धूलोमा बस्दा स्वास्थ्यमा परेको असरबारे उनीहरुको चिन्ता लिने परिवारबाहेक अर्को कुनै जिम्मेवार निकाय छैन ।
२. जतासुकैबाट रोड क्रस : हुइँकिइरहेका सवारीसाधनहरुलाई छल्दै चक्रपथ क्रस गर्नु काठमाडौंका आममानिसको बाध्यात्मक दैनिकी नै बनेको छ । जेब्राक्रस भएकै ठाउँबाट रोड छिचोल्दासमेत निकै सावधानी अपनाउनुपर्ने देखिन्छ । किनभने जेब्राक्रस नै सवारी चालकले टाढाबाट नदेख्ने गरी ठाउँठाउँमा खुइलिएका छन् । कतिपयले भने जेब्राक्रस नभएकै ठाउँबाट सडक पार गरेर निकै हतारो, बहादुरी र सान देखाउँदै आएका पनि छन् । अझ कोही ‘भलादमी’ त ओभरहेड ब्रिज (आकासे पुल) भएको ठाउँमा समेत पुलमुनिबाटै काटो काटिदिन्छन् । निकै भीड हुने ठाउँमा आकासे पुल बनाउनुपर्ने भए पनि धेरैजसो ठाउँमा त्यो सुविधा छैन ।
३. ओभर हेड ब्रिज कि सपिङ सेन्टर ? : गोङ्गबु बसपार्कलगायतका ठाउँमा भएका आकासे पुललाई सरकारले नै सपिङ सेन्टरका रुपमा विकास गरेको छ । पुलको मुनि सटर निकालेर सरकारी निकायले पसल भाडामा लगाएको हो । तर, पुलमाथि नै व्यापार गर्नेहरु निकै बढेका छन् । त्यसको नियमन गरी उनीहरुको व्यापारलाई सहजीकरण गर्दै पैदल यात्रीका लागि बनाइएको पुललाई सदुपयोग गर्ने वातारण सरकारी निकायले बनाउन सकेका छैनन् ।
४. चक्रपथका आआफ्नै प्रयोजन ः चक्रपथ होस् वा अन्य कुनै मार्गहरु नै किन नहुन्, सडक भनेको यातायातका साधन तथा पैदल यात्रीको आवागमनकै लागि बनाइएका हुन् । तर, काठमाडौंको चक्रपथलाई आआफ्नो आवश्यकताअनुसार धेरैले धेरै किसिमका प्रयोजनमा लगाएको देखिन्छ । सवारीसाधन पार्किङ स्थल, ठेलागाडामा गरिने (फलफूल, तरकारी, चटपटे, मःमः÷चाउमिनलगायत) व्यापार स्थल, ढुङ्गाको सिलौटो–जाँतो कुँद्नेलगायत फिरन्ता व्यवसायीहरुको आश्रयस्थल, छाडा चौपायाहरुको क्रिडास्थल, व्यक्तिगत निर्माण सामग्री भण्डारण स्थल, विवाह उत्सवमा बाजासहितको नाचगान गर्ने थलो, राजनीतिक दलका नाराजुलुस, सभा गर्ने थलोलगायत अनेक रुपमा चक्रपथको प्रयोग भइरहेको छ । गोङ्गबु बसपार्क छिर्ने ठाउँमा रहेको आकासे पुल गाउँबाट विदेश जान आएका युवा, बेरोजगार युवा, गाउँ फर्किन आएका यात्रुहरुको घाम ताप्ने तथा समय बिताउने थलोका रुपमा समेत रहेको देखिन्छ । चक्रपथको यस्तो बहुउद्देश्यीय प्रयोगले सडक दुर्घटनाको सास्तीसमेत आमयात्रु तथा पैदल यात्रुले भोग्दै आइरहेका छन् ।
५. कतै भत्काइँदै, कतै बनाइँदै : बन्दै गरेको चक्रपथको कलङ्की कोटेश्वर खण्डबाहेक बाँकी १७ किलोमिटर खण्डमा पनि विभिन्न निर्माणका काम भइरहेको देखिन्छ । गौशाला चोकमा ढल निर्माण सकिएको छ । नारायणगोपाल चोकमा रहेको प्रसिद्ध गायक नारायणगोपालको सालिक ढलेपछि सोही सालिक निर्माणको काम चलिरहेको छ । त्यहाँबाट सामाखुसी–गोङ्गबु क्षेत्रमा चक्रपथका दुवैतिर नाला निर्माणलगायतका काम पनि भइरहेको छ । कतैकतै ढल निर्माणको काम भइरहेको देखिन्छ । कतै बिजुलीको पोल सार्ने त कतै पानीका पाइप जोड्ने काम चक्रपथमा निरन्तर भइरहेको देखिन्छ । टेलिफोनका तारहरु काट्ने र जोड्ने काम पनि भइरहेका छन् ।
बाँकी १७ किलोमिटरमा पनि चीनकै दयादान
चीन सरकारको अनुदान सहयोगमा चक्रपथको पूरै भाग विस्तार हुने भएको छ । हाल उक्त चक्रपथको १० दशमलव ३९ किलोमिटर सडक चीन सरकारकै अनुदान (प्रोजेक्ट ग्रान्ट) सहयोगमा विस्तार भइरहेको हो । चीनकै अनुदानमा चार लेनमा निर्माण भएको २७.२ किलोमिटर लम्बाइको चक्रपथ फेरि चीनले नै अनुदान दिएर ८ लेनमा विस्तार गरिदिन लागेको हो ।
‘हाल विस्तार भइरहेकोबाहेक १७ किलोमिटर चक्रपथसमेत चीनले नै विस्तार गरिदिने भएको छ,’ भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयका सहसचिव इन्जिनियर केशव शर्माले भने, ‘त्यसका लागि सम्भाव्यतासहितको आवश्यक प्राविधिक अध्ययन प्रतिवेदन तयार पारी त्यसमाथि दुवै देशका अधिकारीहरुबीच छलफल भइरहेको छ ।’
विस्तार गर्न बाँकी रहेको उक्त १७ किलोमिटर चक्रपथलाई दुई चरणमा गरी सम्पन्न गरिदिन पहिल्यैदेखि इच्छुक देखिँदै आएको चीन हाल एकै चरणमा विस्तार गर्न तयार देखिएको उनले जानकारी दिए । उनका अनुसार नेपाल र चीन दुवै देशका सरकारी अधिकारी तहमा भएको उक्त विषयलाई राजनीतिक नेतृत्वले औपचारिक समझदारी÷सम्झौता गरिसकेपछि बाँकी काम अघि बढ्नेछ ।
‘नेपालको अर्थ मन्त्रालय र चीनको वाणिज्य मन्त्रालयको राजनीतिक नेतृत्व तहबीच सहमति भएपछि उक्त आयोजना चीनले विस्तार गरिदिनेछ,’ शर्माले भने ।
चिनियाँ पक्ष बाँकी भाग आयोजना अनुदान (प्रोजेक्ट ग्रान्ट) मोडलमै बनाइदिन तयार भएको हो । यस मोडलमा आयोजना बनाउँदा चीनले नेपाललाई नगद अनुदान नदिई उक्त आयोजना आफ्नै लगानीमा आफ्नै कन्सल्ट्यान्ट तथा ठेकेदार कम्पनीमार्फत निर्माण गरिदिनेछ । आयोजना निर्माण गरेर नेपाललाई हस्तान्तरण गर्नेछ । हाल विस्तार भइरहेको कलङ्की–एकान्तकुना–कोटेश्वर खण्डको १० किलोमिटर चक्रपथसमेत चीनले आयोजना अनुदान मोडलमै निर्माण गरिरहेको हो ।
कलङ्की–कोटेश्वर १० किमि साउन १५ सम्ममा
हाल विस्तारमा रहेको कलङ्की–कोटेश्वर चक्रपथको काम ६० प्रतिशत पूरा भएको चक्रपथ सुधार आयोजनाका प्रमुख (इन्जिनियर) ज्ञानेन्द्र झाले बताए ।
‘आउँदो साउनको १५ (२०१८ जुलाई)सम्ममा यो आयोजना सक्ने लक्ष्य छ,’ उनले भने, ‘सडकका फाउन्डेसनको अधिकांश काम सकिएको छ ।’ यो आयोजना निर्माणको जिम्मा चीन सरकारले चीनकै कम्पनी साङ्घाई कन्स्ट्रक्सन गु्रपलाई दिएको थियो । २०१२ डिसेम्बरबामट सुरु भएको यो आयोजना अनेक अवरोध झेलेर पूरा हुने दिशामा रहेको उनले बताए ।
उक्त आयोजनाका लागि चीन सरकारले करिब ५ अर्ब नेपाली रुपैयाँ (३.१२ मिलियन रेन्मिन्पी) लगानी गर्ने सम्झौता नेपालसँग गरेको थियो । आयोजनाअन्तर्गत उक्त १० किलोमिटर सडकलाई ८ लेनको बनाइँदै छ । यस सडकमा ४ लेनको मुख्य ट्र्याक, २/२ लेनका २ ओटा साइड ट्र्याक निर्माण भइरहेको छ । साइड ट्र्याक निर्माणको काम ५ किलोमिटर पूरा भइसकेको छ ।
आयोजनाअन्तर्गत बागडोल, ग्वार्को र कोटेश्वरमा गरी ३ ओटा आकासे पुल (ओभरहेड पेडिस्ट्रिन ब्रिज) निर्माण सम्पन्न भइसकेको छ । कलङ्की खसीबजार, बल्खु, सानेपा (वाग्मती) र बालकुमारी गरी चार स्थानमा रहेका ४ नदीमा दायाँबायाँ २/२ ओटा गरी ८ ओटा पुल निर्माण सम्पन्न भइसकेका छन् ।
आयोजनाअन्तर्गत अब केही ठाउँमा रहेका बिजुलीका पोलहरु सार्ने, आवश्यक केही भौतिक संरचना हटाउने काम बाँकी छ ।
आयोजनाकै आकर्षणका रुपमा कलङ्की चोकमा निर्माण भइरहेको नेपालकै पहिलो ‘अन्डरपास’ निर्माणको कामसमेत करिब ६० प्रतिशत पूरा भएको आयोजनाले जनाएको छ । कलङ्की खसीबजारदेखि बाफलसम्म करिब ८ सय मिटर लम्बाइको अन्डरपास निर्माण भइरहेको हो । यो अन्डरपास निर्माण भए थानकोतिरबाट रविभवनतर्फ आउने गाडी सडकबाटै गुड्नेछन् भने चक्रपथ भएर गुड्ने गाडी अन्डरपासमार्फत गुड्ने हुँदा हाल कलङ्की चोकमा देखिएको जामको समस्या केही हदसम्म घट्ने विश्वास गरिएको छ ।
भूकम्प र नाकाबन्दीले यस आयोजनाको काम ढिलो भएको आयोजनाले जानकारी दिएको छ । २०७२ वैशाख १२ गते आएको भूकम्पपछिका केही महिना अयोजनाको काम ठप्पै भएको थियो । त्यसयता २०७२ मा संविधान जारी भएपछि भारतले लगाएको नाकाबन्दीका कारण आयोजनाका लागि आवश्यक पेट्रोलियम पदार्थ, निर्माण सामग्रीको समेत अभाव यो आयोजनाले झेलेको थियो ।
हाल पनि तोकेकै समयभित्र यो आयोजना सकिनेमा आयोजनाकै अधिकारीहरु पूर्ण रुपमा विश्वस्त हुन सकिरहेका छैनन् । ‘आउँदो साउन १५ भित्र आयोजनाको सबै काम सक्न केही कठिन नै हुने हो कि भन्ने आशङ्का हामीलाई पनि भइरहेको छ,’ प्रमुख झाले भने, ‘यस विषयमा आयोजनाको निर्माण ठेक्का लिएको साङ्घाई कन्स्ट्रक्सन गु्रप, उपत्यका विकास प्राधिकरणलगायत सरोकारवाला निकायसँग हामीले समन्वय र छलफल गरिरहेका छौं ।’