नेपाल चेम्बर अफ कमर्स र नेपाल–चीन चेम्बर अफ कमर्स एन्ड इन्डस्ट्रीद्वारा संयुक्त रुपमा आयोजित ’प्रोस्पेक्ट्स अफ नेपाल–चीन ट्रेड एन्ड इकोनोमिक रिलेसन्स’ विषयक अन्तरक्रियात्मक कार्यक्रममा बोल्दै उनले आज सो कुरा बताएका हुन् ।
नेपालका लागि चिनियाँ राजदूत यु होंगले ’ट्रान्स–हिमायलयन मल्टी–डाइमेन्सनल कनेक्टिभिटी नेटवर्क’ को ’फ्रेमवर्क’ अन्तर्गत हुने आपसी सहकार्यबाट नेपालले प्रचुर मात्रामा फाइदा लिनुपर्ने बताएकी छन् । नेपाल चेम्बर अफ कमर्स र नेपाल–चीन चेम्बर अफ कमर्स एन्ड इन्डस्ट्रीद्वारा संयुक्त रुपमा आयोजित ’प्रोस्पेक्ट्स अफ नेपाल–चीन ट्रेड एन्ड इकोनोमिक रिलेसन्स’ विषयक अन्तरक्रियात्मक कार्यक्रममा बोल्दै उनले आज सो कुरा बताएकी हुन् ।
संसारलाई समृद्धिले जोड्ने चिनियाँ सपना जोडिएको बृहत् विश्वव्यापी परियोजना ’बेल्ट एन्ड रोड इनिसियटिभ’मा नेपाल सहभागी भैसकेकाले यस अन्तर्गत हुने सहकार्यबाट नेपालको समृद्धिको गति तीव्र बन्ने कुरा उनले बताइन् । भर्खरै मात्र नेपालका प्रधानमन्त्री केपी शर्मा ओलीको चीन भ्रमणका क्रममा भएका सहमति र सम्झौताहरु ऐतिहासिक भएको भन्दै उनले भनिन्, ‘नेपाल–चीन सम्बन्ध यो बिन्दुमा आएर ऐतिहासिक क्षणमा आइपुगेको छ । यो मैत्रीपूर्ण सम्बन्धको फ्रेममा साझा धारणा र अनुभवको आदान–प्रदानले दुवै देशलाई प्रचुर फाइदा र सिकाइ हुनेछ ।’
नेपाल–चीनको नयाँ नाका केरुङलाई आधुनिक भौतिक पूर्वाधार सहितको अन्तर्राष्ट्रिय नाकामा रुपान्तरण गर्न चीन सहयोग गर्न तयार भएको समेत उनको कथन थियो । तातोपानी नाकालाई पुनः सञ्चालनमा ल्याउने सवालमा दुई–पक्षीय रुपमा उच्च तहमा थप कुराकानी गर्दै जान आवश्यक रहेको उनको धारणा थियो ।
सन् २०२० सम्ममा २० लाख पर्यटन भित्र्याउने नेपाल सरकारको लक्ष्य प्राप्त गर्ने कुरामा चीनले सहयोगी भूमिका खेल्न तयार रहेको कुरा पनि राजदूत होंगले बताइन् । कनेक्टिभिटीसँग सम्बन्धित भौतिक पूर्वाधार निर्माणका लागि संयुक्त लगानी र मेहनत महत्त्वपूर्ण हुने उनको तर्क थियो ।
देशको समृद्धिका लागि शिक्षा महत्त्वपूर्ण भएकाले नेपालको समृद्धिमा टेवा पुर्याउने उद्देश्यले प्रदान गरिएको छात्रवृत्तिमा हाल सात हजारभन्दा बढी विद्यार्थी चीनमा अध्ययन गरिरहेको कुरा उनले बताइन् ।
एक अर्को प्रसङ्गमा राजदूत होंगले भनिन्, ‘नेपालको सम्भाव्यता थाहा भएभन्दा निकै बढी रहेको र उक्त सम्भाव्यता पत्ता लगाउन चीनले सहयोग गर्नुपर्छ ।’
सो कार्यक्रममा नेपाल चेम्बर अफ कमर्सका अध्यक्ष राजेशकाजी श्रेष्ठले नेपालको समृद्धिका लागि थप चिनियाँ लगानी अपरिहार्य रहेको कुरा बताए । अफ्रिका, युरोप, लेटिन अमेरिका र एसियाली देशहरुमा चिनियाँ लगानीले कतिपय ठाउँमा कायापलट गरेको भन्दै उनले भने, ‘चिनियाँ लगानीमा प्रचुर मात्रामा वृद्धि हुन गएमा नेपालका लागि मात्र होइन, दुई देशबीच प्रविधि, लगानी, श्रम र अनुभवबीचमा हुने सहकार्यको माध्यमबाट नेपालमा उत्पादित वस्तुहरुको चीनमा हुने निर्यातले चीनलाई पनि फाइदा पुग्छ ।’
चीन सबैभन्दा ठूलो लगानीकर्ता र निर्यातकर्ता मात्र नभै विश्वमै सबैभन्दा ठूलो आयातकर्ता समेत भएकाले उसको हिमालयन छिमेकी नेपालको उत्पादनलाई चीनले आयात गरेर नेपालको चीनसँगको व्यापार घाटा कम गर्न सघाउनुपर्ने श्रेष्ठको धारणा थियो ।
चिनियाँ दूतावासको कुटनीतिक मण्डलका अन्य सदस्य र नेपाल चेम्बर अफ कमर्सका कार्यसमिति सदस्यहरुको उपस्थिति रहेको उक्त कार्यक्रममा डा अन्जान शाक्य, दिपेशरत्न तुलाधर, निरज राई लगायतले पनि नेपाल–चीन व्यापार सम्बन्धबारे आफ्नो भनाइ राखेका थिए ।