एक सातादेखि नेपालगञ्जमा बाक्लो हुस्सु लाग्न थालेपछि त्यहाँबाट हुने हवाई उडान अनियमित भएका छन् । बाग्लो हुस्सुका कारण न्यून भिजिबिलिटी भएकाले नेपालगञ्जदेखि उडान हुने बाजुरा, जुम्ला, हुम्ला, मुगु र डोल्पामा नियमित उडान घटेको नेपालगञ्ज विमानस्थलले जनाएको छ ।
एकसाता अघिसम्म तारा, सम्मिट, मकालुलगायतका सबै एयरलाइन्सले नियमित उडान गर्दै आएका थिए, आजभोलि ती सबैले उडान घटाएका छन्, नागरिक उड्डयन प्राधिकरण जुफाल विमानस्थलका प्रमुख श्रीकृष्ण रिजालले बताए ।
उनले भने, “जुफाल विमानस्थलमा दिउँसो तीव्र हावा चल्ने भएकाले बिहानको समयमा मात्र उडान हुने र नेपालगञ्जमा बिहानको समयमा बाक्लो कुहिरो लाग्नाले सबै एयरलाइन्सले उडान घटाएका हुन् ।”
हिउँदभरि नै पश्चिमका उडान अनियमित भइरहने भएकाले पुसदेखि फागुनसम्म हवाई यात्रा गर्नुपर्ने यात्रुलाई सास्ती हुने गरेको उनले बताए ।
डोल्पा, जुम्ला, हुम्लालगायतका जिल्लामा हिमपातसँगै चिसो बढ्ने भएकाले यतिखेर जाडो छल्न तराई झर्ने सर्वसाधारणको घुइँचो छ । तर, आजभोलि मौसमको खराबीले कहिलेकाहीँ मात्र उडान हुने भएकाले जुफाल विमानस्थलमा दिन प्रतिदिन यात्रुको चाप बढ्दै गएको उनको भनाइ थियो ।
उडान अनियमित भएपछि सबैभन्दा बढी मर्का बिरामी, विद्यार्थीलाई परेको छ । कतिपय सर्वसाधारणहरु हप्ता जहाज कुरेर पनि हवाई टिकट नपाउँदा पैदल यात्रा गरेर गन्तव्यसम्म पुग्न बाध्य भएका छन् ।