राष्ट्र बैङ्कले विनियोजित बजेट, वर्तमान वित्तीय अवस्था र चालू आवको मौद्रिक नीति कार्यान्वयनको सकारात्मक तथा नकारात्मक अवस्थाको विश्लेषणका आधारमा मौद्रिक नीति सार्वजनिक गर्दै छ ।
नेपाल राष्ट्र बैङ्कले बुधबार आर्थिक वर्ष २०७५–७६ का लागि मौद्रिक नीति सार्वजनिक गर्दै छ । बैङ्कले आगामी आर्थिक वर्षका लागि विनियोजित बजेटको लक्ष्यलाई सार्थक बनाउने बलियो आधार लिएर मौद्रिक नीति सार्वजनिक गर्न लागेको हो ।
राष्ट्र बैङ्कका प्रवक्ता नारायण पौडेलले आज अपराह्न आगामी आवका लागि नयाँ मौद्रिक नीति सार्वजनिक गर्न लागेको बताए । राष्ट्र बैङ्कले विनियोजित बजेट, वर्तमान वित्तीय अवस्था र चालू आवको मौद्रिक नीति कार्यान्वयनको सकारात्मक तथा नकारात्मक अवस्थाको विश्लेषणका आधारमा मौद्रिक नीति सार्वजनिक गर्दै छ ।
राष्ट्र बैङ्कले सार्वजनिक गर्न लागेको मौद्रिक नीतिले शैक्षिक प्रमाणपत्र धितो राखेर बैङ्कबाट ऋण लिन पाइने व्यवस्था गर्न लागेको छ । आगामी आवको बजेटमा सरकारले ८ प्रतिशतसम्मको महत्वकाङ्क्षी आर्थिक वृद्धिदरको लक्ष्य राखेको छ । सार्वजनिक हुन लागेको मौद्रिक नीतिले उक्त लक्ष्य सम्बोधन गर्न सक्ने बताइएको छ ।
साथै सरकारले अनुत्पादक क्षेत्रमा जाने कर्जामा कडाइ गर्ने, उत्पादनमूलक क्षेत्रमा लगानी बढाउने मौद्रिक नीति ल्याउने तयारी गरेको छ । नयाँ मौद्रिक नीतिमा रियल इस्टेट कर्जालाई कसिलो बनाउने तयारीमा राष्ट्र बैङ्क छ । निजी प्रयोजनका सवारी साधनको सीमा घटाउने सम्भावना पनि रहेको जनाइएको छ । सार्वजनिक हुन लागेको मौद्रिक नीतिले उत्पादनमूलक क्षेत्रको कर्जालाई जोड दिनेछ ।
महँगी नियन्त्रण, आर्थिक वृद्धिलाई आवश्यक मुद्रा प्रवाह र सरकारलाई सहयोग पुग्ने खालको मौद्रिक नीति सार्वजनिक गर्ने तयारीमा राष्ट्र बैङ्क लागेको छ ।