यस वर्ष १९ हजार मेट्रिक टन चिया उत्पादन

केन्द्रीय तथ्याङ्क विभाग, राष्ट्रिय चिया तथा कफी विभाग बोर्डले सार्वजनिक गरेको तथ्याङ्कअनुसार यस वर्ष १८ हजार नौ सय ५८ मेट्रिक टन चिया उत्पादन भएको हो ।

आर्थिक वर्ष २०७४/०७५ मा व्यावसायिक रुपमा १९ हजार मेट्रिक टन चिया उत्पादन भएको छ । केन्द्रीय तथ्याङ्क विभाग, राष्ट्रिय चिया तथा कफी विभाग बोर्डले सार्वजनिक गरेको तथ्याङ्कअनुसार यस वर्ष १८ हजार नौ सय ५८ मेट्रिक टन चिया उत्पादन भएको हो ।

झन्डै एक सय १३ ओटा चिया उत्पादन गर्ने कारखानाले वार्षिक रुपमा उक्त परिमाणमा चिया उत्पादन गर्छन् । कारखानाबाट वार्षिक ५२ हजार एक सय मेट्रिक टन चिया उत्पादन गर्ने क्षमता भएपनि ती कारखानाबाट पूर्ण क्षमतामा चिया उत्पादन हुन सकेको छैन । परम्परागत चिया खेती, योजन विहीन चिया बगान, निर्वाहमुखी, ब्राह्मण जातिले मात्रै खेती गर्ने परम्परा, पहाडी क्षेत्रमा मात्रै सीमित, कर्जा प्रवाहमा समस्याका कारण उत्पादनमा सन्तोषजनक प्रगति नदेखिएको हो ।

अहिले एक हेक्टरमा मात्रै चिया खेती गर्ने किसानको सङ्ख्या अधिक छ । कुल उत्पादनको ८२ प्रतिशत चिया यिनै एक–एक हेक्टर क्षेत्रफलमा खेती गर्ने किसानले उत्पादन गर्छन् । खासगरी नेपालका १४ जिल्लाका सात हजार आठ सय ६६ हेक्टर क्षेत्रफल जमिनमा व्यावसायिक चिया खेती हुन्छ । इलाम, झापा, पाँचथर, धनकुटा, तेह्रथुम, ताप्लेजुङ, भोजपुर, मोरङ, सङ्खुवासभा, नुवाकोट, सिन्धुपाल्चोक, दोलखा, रामेछाप र ललितपुर व्यावसायिक चिया उत्पादन हुने जिल्ला हुन् । नेपालमा खासगरी सीटीसी चिया, अर्थोडक्स, ग्रीन टी र स्पेसल चिया उत्पादन हुनेगर्छ । यस वर्ष सबैभन्दा बढी सीटीसी चिया १६ हजार ३६ मेट्रिक टन उत्पादन भएको छ । त्यस्तै अर्थोडक्स दुई हजार छ सय ७०, ग्रीन टी दुई सय २०, स्पेसल टी ३२ मेट्रिक टन उत्पादन भएको छ ।

सामुद्री सतहदेखि तीन हजार मिटरको उचाइसम्म चिया खेती गर्न सकिन्छ । प्रायःजसो पहाडी क्षेत्र र मध्य तराईमा चिया उत्पादनका लागि राम्रो वातावरण मानिन्छ । हाल आफ्नै जमिनमा चिया बगान बनाई खेती गर्ने किसान अधिक छन् । झन्डै ९५ प्रतिशतले आफ्नै जग्गामा चिया खेती गरिरहेका छन् । अरुको जग्गा लिजमा लिई खेती गर्ने चार प्रतिशत र अन्य उपभोग अन्तर्गत खेती गरेका एक प्रतिशत मात्रै छन् ।