११ महिनामा ५५ करोडका स्मार्टकार्ड भित्रिए

नेपालमा १८ ओटा मुलुकबाट भित्रिने यी स्मार्टकार्डको प्रयोग बैङ्क, लाइसेन्स, आईडीकार्डलगायत अन्य निजी कम्पनीका सुरक्षात्मक कार्यमा प्रयोग हुने गरेको विभागले जनाएको छ ।

एघार महिनामा ५५ करोड रुपैयाँबराबरको स्मार्टकार्ड नेपाल भित्रिएको छ । भन्सार विभागको पछिल्लो तथ्याङ्कअनुसार सो रकमका स्मार्टकार्ड भित्रिएको हो ।

नेपालमा १८ ओटा मुलुकबाट भित्रिने यी स्मार्टकार्डको प्रयोग बैङ्क, लाइसेन्स, आईडीकार्डलगायत अन्य निजी कम्पनीका सुरक्षात्मक कार्यमा प्रयोग हुने गरेको विभागले जनाएको छ ।

भन्सार विभागको तथ्याङ्कमा ५५ करोड रुपैयाँका एक करोड ५२ लाखभन्दा बढी स्मार्टकार्ड भित्रिएको उल्लेख छ । जसमा सबैभन्दा बढी स्मार्टकार्ड चीनबाट ल्याइएको भन्सार विभागका प्रवक्ता शिव भण्डारीले जानकारी दिए ।

चाइनाबाट जेठ महिनासम्म ३६ करोड ३८ लाख तीन हजार रुपैयाँ बराबरको स्मार्टकार्ड भित्रिएको विभागले जनाएको छ । त्यसपछि त्यही अवधिमा सबैभन्दा बढी भारतबाट, १४ करोड ११ लाख ९८ हजार रुपैयाँका र दुई करोड ४९ लाख ८३ हजार रुपैयाँका स्मार्टकार्ड थाइल्यान्डबाट ल्याइएको तथ्याङ्कमा उल्लेख छ ।

अन्य मुलुक सिङ्गापुर, दुबई, न्युजील्यान्ड तथा फ्रान्सबाट क्रमशः एक करोड, ६८ लाख ४५ हजार, १२ लाख ७६ हजार तथा ५३ लाख तीन हजार रुपैयाँ बराबरका स्मार्टकार्ड भित्रिएको विभागले जनाएको छ । त्यस्तै डेनमार्क, हङकङ, इटाली, जापान, मलेसिया, म्याक्सिको, नेदरल्यान्ड, कतार, ताइबान, टर्की र अमेरिकाबाट स्मार्टकार्ड आयात भएको छ ।

केही समयअघि नेपालमा मालिका इन्कर्पोरेट प्रालिले नेपालमा नै स्मार्टकार्ड बनाउने र छाप्ने प्रविधि भित्र्याएको थियो । कम्पनीले विद्यालय तथा कलेजका आईडी कार्डलाई पनि डिजिटल गर्न सकिने बताएको थियो ।

बैङ्क कार्ड, स्मार्ट आईडी कार्ड लगायतका डिजिटल कार्डहरु यसै कम्पनीमा छापिने बताइए पनि हालसम्म कुनै पनि काम हुन सकेको छैन । अमेरिकन कम्पनी जेब्रासँगको सहकार्यमा यो प्रविधि भित्रिएपछि स्मार्ट कार्डमा पूर्ण बाह्य निर्भरता घट्ने विश्वास कम्पनीको भए पनि अन्य मुलुकबाट स्मार्टकार्डको आयात नघटेको भन्सार विभागको भनाइ छ ।

यातायात व्यवस्था विभागले सवारी अनुमति पत्र स्मार्ट–लाइसेन्स छाप्न चार ओटा मेसिन आयात गरेको जनाएको छ । तर, पनि सो मेसिनले प्रभावकारी काम गर्न नसकेको विभागको भनाइ छ ।

हाल स्मार्टकार्ड बैङकिङ तथा कर्पोरेट क्षेत्रमा बढी प्रयोग हुँदै आएको विभागले जनाएको छ भने स्कुल, कलेज, होटल तथा क्लबहरुमा प्रयोगमा आउन थालिसकेको छ । त्यस्तै भविष्यमा राष्ट्रिय परिचयपत्र लगाएत सरकारले वितरण गर्ने अन्य परिचयपत्रहरुपनि स्मार्टकार्ड हुनेछन् ।