पेट्रोलियम पाइपलाइन बिछ्याउने काम रोकियो

‘निरन्तर वर्षा भइरहेका बेला पाइपलाइन बिछ्याउन मिल्दैन, त्यसैले केही दिन रोकिएको हो,’ नेपाल आयल निगमका प्रवक्ता वीरेन्द्र गोइतले भने, ‘पाइप बिछ्याउने कामबाहेक अन्य काम रोकिएको छैन ।’ उनका अनुुसार पानी परिरहेको बेला प्राविधिक रुपमा पनि पाइपलाइन बिछ्याउन मिल्दैन ।

निजगढ–मोतियारी–अमलेखगन्ज पेट्रोलियम पाइपलाइन बिछ्याउने काम रोकिएको छ । केही दिनदेखि निरन्तर भइरहेको वर्षाले पाइपलाइन बिछ्याउन अवरोध पुर्याएपछि तत्काल पाइप बिछ्याने काम रोकिएको नेपाल आयल निगमले जनाएको छ ।

‘निरन्तर वर्षा भइरहेका बेला पाइपलाइन बिछ्याउन मिल्दैन, त्यसैले केही दिन रोकिएको हो,’ नेपाल आयल निगमका प्रवक्ता वीरेन्द्र गोइतले भने, ‘पाइप बिछ्याउने कामबाहेक अन्य काम रोकिएको छैन ।’ उनका अनुुसार पानी परिरहेको बेला प्राविधिक रुपमा पनि पाइपलाइन बिछ्याउन मिल्दैन । उनका अनुसार आगामी भदौबाट पाइप बिछ्याउने काम सुरु हुने बताए । ‘अन्य काम अहिले पनि चालू छ, मात्रै पाइपलाइन बिछ्याउने काम बन्द भएको हो,’ उनले भने, ‘सकेसम्म भदौअघि नै काम सुरु हुन्छ, नभए पनि भदौबाट जसरी पनि पाइप बिछ्याउन थाल्छौं ।’

‘३७ किलोमिटरमध्ये अब २३ किलोमिटर मात्रै पाइप बिछ्याउन बाँकी छ । वर्षाले अवरोध नगरेको भए, अहिले १७ किलोमिटरभन्दा बढी पाइप बिछ्याउने काम पूरा हुन्थ्यो,’ गोइतले भने । निगमले बाराको जितपुर–सिमरा उपमहानगरपालिकाको सिमरादेखि पाइपलाइन बिछ्याइरहेको थियो । अहिले रोकिएको छ ।

२ अर्ब ७५ करोड भारतीय रुपैयाँको लागतमा निर्माण सुरु भएको परियोजनामा २ अर्ब भारत सरकार र ७५ करोड नेपाल सरकारको लगानी छ । लिखित इन्फ्रास्ट्रक्चर प्रालिले पाइपलाइन बिछ्याउने ठेक्का पाएको हो । भारतीय सीमादेखि अमलेखगन्जसम्मको नेपाली भूभागमा पाइपलाइनको लम्बाइ ३६ दशमलव २ किलोमिटर पर्छ । भारततर्फ मोतिहारीबाट र नेपालतर्फ सिमराबाट पाइप बिछ्याउन सुरु भइसकेको छ ।

पाइपलाइनमार्फत प्रतिघण्टा २ लाख लिटर इन्धन भित्रिने निगमले जनाएको छ । निगमले अमलेखगन्जस्थित डिपोका चार ओटा ट्याङ्कीको स्तरोन्नतिको काम पनि गरिरहेको छ । भारत फरिदाबादको मोतिप्रभा इन्फ्राटेक प्रालिले ट्याङ्की स्तरोन्नतिको काम गरिरहेको छ ।