गाउँपालिकाको केन्द्रदेखि सबै वडामा अहिले सडक सञ्जाल जोडिएपछि यहाँको आर्थिक, सामाजिक तथा पर्यटनको क्षेत्रमा समेत ठूलो टेवा पुग्ने भएको छ ।
पाल्पा : निर्माण थालिएको १३ वर्षपछि रिङरोडसहितको सडक सञ्जाल गाउँमा जोडिएको छ । रामपुर आर्यभन्ज्याङ सडकखण्डअन्तर्गत साविक गल्धाको बेलडाँडाबाट मित्याल, झिरुवास, सहलकोट हुँदै गाँडाकोट, भलायटार, गण्डकीढिक हुँदै रामपुरको बेझाँड बजारसँग जोड्ने रिङरोडको अवधारणासहित सुरुवात भएको सडकले अहिले गाउँगाउँ जोडिएको हो ।
तत्कालीन समयमा गाँडाकोटको भलायटार र गल्धाको बेलडाँडादेखि मित्याल रुक्से भन्ज्याङसम्म जसोतसो सडक पुगे पनि अन्य स्थानमा सडक सञ्जाल जोडिन सकेको थिएन । पूर्वी पाल्पाका साविक गाँडाकोट, सहलकोट, झिरुवास र मित्याल गाविस जोड्ने सडक रिङ्रोडसहित जोडिएपछि यस क्षेत्रका स्थानीवासीमा खुसियाली छाएको छ ।
२०६१ सालमा जिविस पाल्पा र हेल्भेटास नेपालको आर्थिक सहयोगमा स्थानीयवासीको जनश्रमदान र न्यून ज्यालामा मित्यालबाट झिरुवास–७ को धार्केसिंसम्मको नौ किमि सडक निर्माण, गाँडाकोटको भलायटारदेखि सहलकोटको आनन्दीसम्मको १३ किमी सडक र सहलकोटको आनन्दीदेखि हात्ती भञ्ज्याङसम्मको पाँच किमी सडक निर्माण सुरु भएको थियो ।
२०६३ सालमा निर्माण सम्पन्न गर्ने सहमति भए पनि तत्कालीन समयमा द्वन्द्व र आन्दोलनका कारण झिरुवासको धार्केसिंसम्म २०६४ मा र भलायटारदेखि सहलकोटको हात्ती भन्ज्याङसम्म २०६५ मा सडक निर्माण सम्पन्न भएको थियो ।
बाँकी सडकखण्डअन्तर्गत सहलकोटको लिन्दीदेखि झिरुवासको धार्केसिंसम्मको सडक रामपुर झ्यालबास सडकखण्ड निर्माणका क्रममा जोडिए पनि सहलकोटको हात्तीभञ्ज्याङदेखि लिन्दीसम्मको साढे दुई किमि सडक नजोडिँदा रिङ्रोडको मान्यता पाउन सकेको थिएन ।
द्वन्द्वको समय भएकाले बीचमै सडक निर्माण कार्य अलपत्र अवस्थामा परेको वडा नं २ का वडा अध्यक्ष पूर्णबहादुर वाकावलले बताए । ‘काम नियमित गर्न पाएको भए पहिले नै सडक जोडिन्थ्यो, दाताले पनि सहयोग गर्ने प्रतिबद्धता जनाएका थिए तरद्वन्द्वले नियमित काम गर्न नपाउँदा परियोजना फेजआउट भएर गयो,’ वाकावलले भने ।
बाँकी साढे दुई किमि सडक निर्माण कार्य आव २०७१÷७२ बाट सुरु भएको थियो । संसद् विकास कोष र जिविसको १५ लाख, २०७३÷७४ मा संसद् विकास कोषको १९ लाख र जिविस पाल्पाको पाँच लाखबाट साढे एक किमि मार्ग खोलिएको थियो ।
बाँकी एक किमि मार्ग खोल्ने र आनन्दीदेखि लिन्दीसम्मको सडक स्तरोन्नति गर्ने काम चालू आवमा झन्डै रु ५० लाखको लागतमा जोडिएको उपभोक्ता समितिका अध्यक्ष मनबहादुर रानाले बताए । सडक निर्माणका लागि गाउँपालिकाले ४२ लाख र वडाले रु तीन लाख रकम विनियोजन गरेको थियो । अहिले निस्दी गाउँपालिकाको केन्द्रसँग नजोडिएको वडा नं १ पनि जोडिएको छ ।
गाउँपालिकाको केन्द्र मित्याल पुग्नका लागि रामपुर हुँदै मित्याल जान बाध्य सहलकोटका र बाकामलाङ्का स्थानीयवासी सडक सञ्जाल जोडिएपछि छोटो दूरीमा यात्रा गर्न पाउने भएपछि उनीहरुलाई ठूलो राहत मिलेको वडा नं १ का वडाध्यक्ष पूर्णबहादुर खाँडको भनाइ छ ।
गाउँपालिकाको केन्द्रदेखि सबै वडामा अहिले सडक सञ्जाल जोडिएपछि यहाँको आर्थिक, सामाजिक तथा पर्यटनको क्षेत्रमा समेत ठूलो टेवा पुग्ने भएको छ ।