फेयर बिजनेस फेयर अकाउन्टिङ गर्न अर्थमन्त्रीकाे सुझाव

व्यावसायिक प्रतिष्ठानले थोरै कर तिर्नुपर्ने गरी लेखाविवरण तयार नगर्न लेखापरीक्षकहरुलाई निर्देशन दिँदै अर्थमन्त्री डा युवराज खतिवडाले कुनै किसिमको मोलाहिजालाई स्थान नदिइने बताएका छन् ।

अर्थमन्त्री डा युवराज खतिवडाले वित्तीय क्षेत्रमा सुशासन र पारदर्शी कर प्रशासनको अवधारणा अघि बढाइएको बताएका छन् । अब व्यावसायिक प्रतिष्ठानले थोरै कर तिर्नुपर्ने गरी लेखाविवरण तयार नगर्न लेखापरीक्षकहरुलाई निर्देशन दिँदै उनले कुनै किसिमको मोलाहिजालाई स्थान नदिइने बताएका छन् ।

उनले नेपाल चार्टर्ड एकाउन्टेन्ट संस्था (आइक्यान) को वार्षिकोत्सव कार्यक्रममा कर्पोरेट हाउसहरुले कम नाफा देखाएर राज्यलाई थोरै कर तिर्ने प्रवृत्ति हटाउनु पर्ने बताए । लेखापरीक्षण व्यवसाय पारदर्शी हुनुपर्ने बताउँदै उनले भने  ‘यहाँ कर्पोरेट क्षेत्रका प्रतिनिधि तथा लेखाव्यवसायी पनि भएकाले करमा भार कम पर्ने काम गर्न हुँदैन ।’

उनले व्यवसायीले फेयर बिजनेश र लेखापरीक्षकले फेयर अकाउन्टिङ गरेमा राम्रो हुने बताए । आइक्यान नियमनकारी निकाय पनि भएकाले उसले आवश्यक पर्दा नियामकीय अधिकार प्रयोग गर्न डराउन नहुने उल्लेख गरे ।

अर्थमन्त्री खतिवडाले लेखा व्यवसाय पनि सङ्क्रमणकै अवस्थामा रहेको भन्दै अब बन्ने लेखापरीक्षण ऐनले त्यसलाई थप व्यवस्थित गर्ने पनि जानकारी दिए ।

यस अधिवेशनले एक वर्षका लागि जगन्ननाथ उपाध्याय निरौलालाई अध्यक्ष तथा उपाध्यक्षमा कृष्णप्रसाद आचार्यलार्इ निर्विरोध निर्वाचन गरेकाे छ ।