प्रशिक्षण कार्यक्रमको उद्घाटन गर्दै कृषि मन्त्रालयका सचिव डा. युवकध्वज जीसीले नेपालका लागि चिनियाँ प्रविधि जान्ने र सिक्ने यो राम्रो अवसर भएको बताए ।
चिनियाँ कम्पनीले नेपालीलाई मकैखेतीबारे सीपमूलक तालिम दिने भएको छ । नेपालका किसानलाई मकै उत्पादनमा भएको ह्रास कम गर्न र खाद्य सुरक्षा सुनिश्चिततामा सघाउन मङ्गलबारदेखि नेपालमा ‘हाइब्रिड मकै विस्तृत प्रविधि’ प्रशिक्षण कार्यक्रम गरिएको छ ।
४६ दिनसम्म चल्ने प्रशिक्षण कार्यक्रमलाई चीनको युआन लङपिङ हाई–टेक एग्रिकल्चर कम्पनी लिमिटेड र नेपाल कृषि अनुसन्धान परिषद्द्वारा संयुक्त रुपमा सञ्चालन गरिएको छ ।
फेब्रुअरी २०१६ मा चीन तथा नेपाल सरकारले कृषि प्रविधि सहयोगसम्बन्धी एक सम्झौतामा हस्ताक्षर गरेपछि यस्तो कार्यक्रम भएको हो । प्रशिक्षण कार्यक्रमको उद्घाटन गर्दै कृषि मन्त्रालयका सचिव डा. युवकध्वज जीसीले नेपालका लागि चिनियाँ प्रविधि जान्ने र सिक्ने यो राम्रो अवसर भएको बताए । यसले खाद्य सङ्कटलाई आमूल परिवर्तन गर्ने उनको भनाइ छ । ‘यद्यपि नेपाल सरकारले बढ्दो जनसङ्ख्याको खाद्य सुरक्षामा उच्च प्राथमिकता दिएको छ, तर पनि मकैको उत्पादन बढाउन असफल भएका छौं । त्यसकारण, हामी आशा गर्छौं, यो प्रशिक्षण कार्यक्रम त्यस कार्यमा सहयोगी बन्नेछ,’ जीसीले भने ।
युआन लङपिङ हाई–टेक कृषि कम्पनी लिमिटेडका अनुसार, प्रशिक्षणको उद्देश्य हाइब्रिड मकै प्रविधि साझा गर्नु हो । यसैगरी, नेपाली मकैलाई ‘आर’ र ‘डी’ क्षमतामा पुर्याउने तथा मकैको अनुसन्धान, विस्तार र रोपाइँको क्षेत्रमा एउटा सहयोगी मञ्च तयार गर्नु हो ।
लङपिङ कम्पनीका वाङ झिउसङले भने, ‘प्रशिक्षण हाइब्रिड मकै आनुवंशिक र प्रजनन, बीज उत्पादन, उच्च उत्पादन तथा उत्पादनपछिको प्रविधिमा केन्द्रित हुनेछ ।’
नेपालले मकै उत्पादन बढाउन सकेको छैन । नेपालले प्रत्येक वर्ष लगभग १.५ देखि १.७ मिलियन मेट्रिक टन मकै उत्पादन गर्छ भने औसत उत्पादकत्व प्रतिहेक्टर १.८ देखि दुई मेट्रिक टन छ । सरकारी तथ्याङ्कअनुसार, नेपालका ३८ जिल्लामा खाद्यान्न अभाव हुने गरेको छ ।
मकै उत्पादन कम हुनुमा अन्य कारणका अतिरिक्त सीमित या निम्न गुणस्तरको बीउ, हाइब्रिड बीउको प्रयोग नगर्नु, उच्चस्तरीय प्रकारका जात नहुनु, बीउको कम प्रयोग, सिँचाइ सुविधाको कमी, उर्वर भूमिको कमी तथा अपर्याप्त प्राविधिक जनशक्ति रहेको विशेषज्ञहरुको दाबी छ ।
बीउबिजन गुणस्तर नियन्त्रण केन्द्रका प्रमुख मदन थापाले भने, ‘उपर्युक्त कारणलाई मध्यनजर गर्दै यो प्रशिक्षणले अनेक क्षेत्रबाट प्रशिक्षित जनशक्ति
विकसित गर्न सहयोग गर्नेछ, परिणामस्वरुप नेपालमा पूर्णरुपले मकै उत्पादनमा वृद्धि हुन सक्छ ।’
अनुसन्धान, कृषि विस्तार प्रणाली, बीउ कम्पनी, सहकारी, विश्वविद्यालय तथा कृषि उद्यमीसहित देशभरिका ३५ जना सो प्रशिक्षण कार्यक्रममा सहभागी छन् ।
डोटी जिल्लाबाट आएका सहभागी रविन गिरिले भने, ‘मलाई यस प्रशिक्षणबाट धेरै आशा छ, किनकि यसमा सैद्धान्तिक प्रस्तुति तथा क्षेत्रीय पर्यटन दुवै समावेश छन् । मलाई विश्वास छ, यो अति उपयोगी हुनेछ ।’
सिन्ह्वाका लागि सृष्टि काफ्लेको रिपोर्टको अनौपचारिक अनुवाद ।