आठ प्रतिशत आर्थिक वृद्धि गर्न १४ खर्ब ३८ अर्ब खर्चिइने

मङ्गलबार नेसनल बैङ्किङ इन्स्टिच्युटले आयोजना गरेको मौद्रिक नीतिसम्बन्धी छलफल कार्यक्रममा मौद्रिक नीति लेखन गर्ने नेपाल राष्ट्र बैङ्कको अनुसन्धान विभागका प्रमुख तथा कार्यकारी निर्देशक नरबहादुर थापाले भने, ‘केन्द्रीय सरकारले ३ खर्ब १४ अर्ब र प्रदेश तथा स्तानीय तहले १ खर्ब २१ अर्ब रुपैयाँ पुँजीगत खर्च गर्छन् ।’

चालू आर्थिक वर्ष (२०७५/७६) मा ८ प्रतिशत आर्थिक वृद्धि हासिल गर्न १४ खर्ब ३८ अर्ब रुपैयाँ पुँजीगत खर्च गरिने भएको छ । नेपाल राष्ट्र बैङ्कको अनुसन्धान विभागका प्रमुख तथा कार्यकारी निर्देशक नरबहादुर थापाले सरकारी र निजी क्षेत्रबाट चालू वर्षको वृद्धि प्राप्त गर्न यो रकम खर्च गरिने बताएका हुन् ।

‘सङ्घ, प्रदेश र केन्द्रको गरी ४ खर्ब ३५ अर्ब पुँजीगत खर्च र निजी क्षेत्रबाट १० खर्ब ७ अर्ब रुपैयाँ खर्च हुँदा लक्षित आर्थिक वृद्धि हासिल हुन्छ,’ मङ्गलबार नेसनल बैङ्किङ इन्स्टिच्युटले आयोजना गरेको मौद्रिक नीतिसम्बन्धी छलफल कार्यक्रममा मौद्रिक नीति लेखन गर्ने थापाले भने, ‘केन्द्रीय सरकारले ३ खर्ब १४ अर्ब र प्रदेश तथा स्तानीय तहले १ खर्ब २१ अर्ब रुपैयाँ पुँजीगत खर्च गर्छन् ।’

तीनै तहको सरकारको बजेट १४ खर्ब ७० अर्ब रुपैयाँ रहेको र यो रकम खर्च गर्न सक्दा आर्थिक क्रियाकलापमा बढोत्तरी आउने उनले बताए । ‘सरकारी प्राथमिकतालाई राष्ट्र बैङ्कले सघाउनु पर्छ,’ थापाले भने, ‘उच्च आर्थिक वृद्धिका लागि चालू मौद्रिक नीतिले धेरै विषयमा फड्को मारेको छ ।’ कार्यक्रममा थापाले २०१४ को ‘विश्वकप फुटबल’ को आधाकारिक गीत ‘दिस टाइम फर अफ्रिका’ भनेजस्तै चालू वर्षको मौद्रिक नीति ‘दिस टाइम फर ग्रोथ’ भएको दाबी गरे ।

कार्यक्रममा थापाले २० अर्बको पुनर्कर्जालाई ३५ अर्ब पुर्याइएको तथा विदेशी मुद्रामा ऋण ल्याउन बाटो खोलिएकाले लगानीको अभाव नहुने बताए । ब्याज दर घटाउने दिशामा समेत राष्ट्र बैङ्कले काम गरेको भन्दै थापाले ५ प्रतिशतको निक्षेप र कर्जाबीचको ब्याज अन्तर (स्प्रेड दर)लाई साढे चार प्रतिशतमा झारेर दीर्घकालीन ऋणको ब्याज घटाउन सहयोग गरेको दाबी गरे ।

कृषि क्षेत्रले साढे ४ प्रतिशत र गैरकृषि क्षेत्रले साढे १२ प्रतिशत वृद्धि हासिल गरे लक्षित आर्थिक वृद्धि हासिल हुने थापाको भनाइ छ । नयाँ आर्थिक वर्ष सुरु भएदेखि नै सरकारले कृषि, उद्योग, जलविद्युत् र पूर्वाधार निर्माणलाई प्राथमिकतामा राखेर अगाडि बढेकाले ११/१२ प्रतिशतको आर्थिक विस्तार हुन कुनै समस्या नरहेको उनले बताए । उनले निर्माणाधीन बूढीगण्डकी जलविद्युत् आयोजना र निजगढ अन्तर्राष्ट्रिय विमानस्थलजस्ता परियोजना अघि बढ्दा आर्थिक वृद्धिमा टेवा पुग्ने बताए ।

कार्यक्रममा नेपाल बैङ्कर्स सङ्घका अध्यक्ष ज्ञानेन्द्रप्रसाद ढुङ्गानाले कर्जा, निक्षेप र पुँजी अनुपात (सीसीडी रेसियो) नहटाएसम्म बैङकमा लगानीयोग्य पुँजीको अभाव कायमै रहने बताए । विगत २ वर्षदेखि निरन्तर लगानीयोग्य पुँजी (क्रेडिट क्रन्च) को समस्या झेल्दै आएका बैङ्कले चालू वर्ष समस्या नभोग्लान भन्ने स्थिति नरहेको ढुङ्गानाको भनाइ छ । राष्ट्र बैङ्कले अनिवार्य नगद अनुपात (सीआरआर) ६ बाट ४ प्रतिशतमा झार्दा ४८ अर्ब रुपैयाँ तरलता थपिएको दाबी गरेपनि त्यसले लगानीयोग्य रकमको अभाव नहटाउने दाबी गरे ।

राष्ट्र बैङ्कको अनुमानअनुसार चालू वर्ष ५ खर्ब रुपैयाँ निक्षेप परिचालन भएपनि निजी क्षेत्रले लगानी गर्ने १० खर्बमध्ये ५ खर्ब रुपैयाँ के ‘इक्विटी’मा लगानी गर्ने हुन् भनेर ढुङ्गानाले प्रश्न गरेका थिए । त्यसअघि थापाले ५ खर्ब निक्षेप परिचालन हुने भएपनि निजी क्षेत्रले लगानी गर्ने १० खर्ब रुपैयाँमध्ये बाँकी ५ खर्ब कसरी निजी क्षेत्रको रकम जुट्छ भनेर बताएनन् ।