आयल निगम निरन्तर घाटामा, पेट्रोलियम पदार्थको मूल्य बढ्न सक्ने

नेपाल आयल निगमका प्रवक्ता वीरेन्द्र गोइतले अन्तर्राष्ट्रिय बजार मूल्य अध्ययन गरिरहेको बताउँदै मूल्य समायोजनका विषयमा छलफल भइरहेको बताए ।

नेपाल आयल निगम पछिल्लो समय निरन्तर घाटामा गएको छ । भारतीय आयल कर्पोरेसन (आईओसी)ले पेट्रोलियम पदार्थको मूल्य बढाएर पठाए पनि नेपालमा पहिलेकै मूल्यमा बिक्री गरिहेकाले घाटा भएको जनाएको छ ।

नेपाल आयल निगमका प्रवक्ता वीरेन्द्र गोइतले अन्तर्राष्ट्रिय बजार मूल्य अध्ययन गरिरहेको बताउँदै मूल्य समायोजनका विषयमा छलफल भइरहेको बताए । ‘हामी केही दिन अन्तर्राष्ट्रिय बजारको मूल्य हेर्छौं,’ प्रवक्ता गोइतले भने, ‘मूल्य नघटे बढाउन बाध्य हुनेछौं ।’ निगमले एक महिनाअघि पेट्रोलियम पदार्थको मूल्य बढाएपनि विद्यार्थीहरुको चर्को दबाबपछि घटाएको थियो ।

निगमको तथ्याङ्कअनुसार १५ दिनमा २५ करोड रुपैयाँ घाटा भएको सार्वजनिक गरेको छ । १५ दिनअघि पनि निगमले पाक्षिक घाटा तीन करोड रुपैयाँ रहेको जनाएको थियो । निगमका प्रवक्ता गोइतले आईओसीले मूल्य बढाएर पठाए पनि निगमले ग्यास, पेट्रोल, डिजेल, मट्टीतेल र हवाई इन्धनको मूल्य यथावत राखेकाले घाटा बढेको बताएका छन् ।

हाल पेट्रोलमा प्रतिलिटर ०.५२ रुपैयाँ, डिजेलमा प्रतिलिटर २.९० रुपैयाँ र खाना पकाउने एलपी ग्यासमा २३३.९० रुपैयाँ घाटा छ । भारतले हरेक १५ दिनमा पेट्रोलियम पदार्थको मूल्य बढाएर पठाउँदासमेत सीमा नाका रक्सोलमा भन्दा नेपालमा पेट्रोल प्रतिलिटर २३.६९ र डिजेल प्रतिलिटर २६ रुपैयाँ सस्तोमा बिक्री भइरहेको जनाइएको छ ।

हाल पेट्रोल प्रतिलिटर १ सय १०, डिजेल र मट्टीतेल प्रतिलिटर ९३ रुपैयाँमा बिक्री भइरहेको छ । यस्तै, प्रतिलिसिन्डर ग्यासको मूल्य १३ सय ७५ रुपैयाँ छ । आन्तरिक हवाई इन्धनको मूल्य प्रतिलिटर १ सय रुपैयाँ तथा अन्तर्राष्ट्रिय हवाई इन्धनको मूल्य प्रतिलिटर १.०७ अमेरिकी डलर छ ।