कृषि उत्पादन बढाउन सूचनामैत्री मोबाइल एप्स प्रणाली लागू गरिने

जलवायु प्रकोप तथा समुत्थान निर्माण आयोजनाले नियमित रुपमा कृषिसम्बन्धी जानकारी, कृषि बजार सूचना, जलवायु परिवर्तन, प्रविधिहरुको प्रयोगलगायतका विषयमा निरन्तर एमएमएसबाहेक विभिन्न माध्यमबाट कृषकहरुलाई जानकारी गराउँदै आएको हो ।

सरकारले कृषि उत्पादकत्व बढाउन सूचनामैत्री प्रणालीमा जोड दिने भएको छ । कृषकहरुलाई कृषिसम्बन्धी जानकारी र पूर्वसूचना प्रणाली लागू गर्न कृषि मोबाइल एप्स प्रणाली सेवा विस्तार गर्ने भएको हो । कृषिसँग सम्बन्धित जलवायु प्रकोप, मौसम तथा प्रविधिहरुको जानकारी समयमै उपलब्ध गराउन यस वर्ष कृषि मोबाइल एप्समार्फत ५० हजार कृषकलाई एसएमएस सेवा पु¥याउने भएको छ ।

जलवायु परिवर्तनले कृषिमा पार्ने क्षति तथा पूर्वजानकारी प्रणालीबाट हुने अनपेक्षित क्षतिलाई न्यूनीकरण गरी कृषि उत्पादकत्व बढाउन सूचनामैत्री एसएमएस सेवा विस्तार गर्न लागिएको कृषि मन्त्रालयका प्रवक्ता योगेन्द्रकुमार कार्कीले बताएका छन् । उनले चालू आर्थिक वर्षमा झन्डै ५० हजारभन्दा बढी कृषकमा त्यस्तो सेवा विस्तार गर्ने लक्ष्य लिएको बताए ।

हालसम्म कृषिसम्बन्धी जानकारीसहितको एसएमएस सेवा ३५ हजारभन्दा बढी कृषकसम्म पु¥याएको मन्त्रालयले जनाएको छ । त्यसमा पनि नेपाल टेलिकम र एनसेल सेवा लिने कृषकहरुलाई नियमित रुपमा एसएमएस पठाउने गरिएको हो । आर्थिक वर्ष २०६९/०७० देखि सुरु गरिएको यो सेवा विस्तारका लागि ६ मिलियन यूएस डलर लागत लाग्ने भएको छ । जलवायु प्रकोप तथा समुत्थान निर्माण आयोजनाले नियमित रुपमा कृषिसम्बन्धी जानकारी, कृषि बजार सूचना, जलवायु परिवर्तन, प्रविधिहरुको प्रयोगलगायतका विषयमा निरन्तर एमएमएसबाहेक विभिन्न माध्यमबाट कृषकहरुलाई जानकारी गराउँदै आएको हो ।

आयोजना लागू भएका २५ जिल्लामा ‘कृषि मौसम सल्लाह सेवा बुलेटिन’ तयार भई वितरण गरिएको छ । आयोजनाको वेबसाइट ‘हाम्रो कृषि’ एप्समा सबै जानकारी समाविष्ट गरिएको जनाइएको छ ।

राष्ट्रिय योजना आयोगको तथ्याङ्कअनुसार १९ जिल्लामा किसान कल सेन्टर स्थापना भइसकेको छ । त्यस्तै कृषि सूचना प्रणालीको सामग्री २५ जिल्लामा वितरण भइसकेको र यस वर्ष बाँकी जिल्लाहरुमा पनि पु¥याउने लक्ष्य लिइएको छ ।

अर्थमन्त्री डा. युवराज खतिवडाले आर्थिक वर्ष २०७५÷०७६ को बजेटमा पनि मोबाइल सेवामार्फत कृषकलाई कृषि उपजहरुको मूल्यलगायत बजार सूचना प्राप्त हुने प्रणालीको व्यवस्था गरेको छ । त्यसका लागि पनि कृषि क्षेत्रको लगानी जोखिम व्यवस्थापनका लागि बजेट छुट्याएको हो । चालू आर्थिक वर्षमा सरकारले सबै स्थानीय तहमा कृषि र पशुपन्छीसम्बन्धी प्राविधिक ज्ञान र सीप प्रदान गर्न ‘कृषि ज्ञान केन्द्र’समेत स्थापना गर्ने भएको हो ।