कन्काईको बजेट ४० करोड

चालू खर्च तीन करोड ४६ लाख ५० हजार र पुँजीगततर्फ २० करोड ९० लाख पाँच हजार रुपैयाँ छ । उल्लिखित चालू खर्चको रकममा सामाजिक सुरक्षा भत्ता तथा शिक्षा र स्वास्थ्यतर्फको अन्य सशर्त अनुदान रकम जोडिएको छैन ।

कन्काई नगरलाई भ्रष्टाचारमुक्त र समृद्ध नगर बनाइने उद्घोषका साथ आव २०७४/०७५ को बजेट सार्वजनिक गरिएको छ । गत कात्तिक ३० गते पहिलो नगर सभाबाट पारित चालू आव २०७४/७५ को बजेट, नीति तथा कार्यक्रम सार्वजनिक गरिएको छ ।

कार्यक्रममा कन्काई नगरपालिकाका प्रमुख राजेन्द्रकुमार पोखरेलले ४० करोड २६ लाख ५५ हजार रुपैयाँको बजेट मङ्गलबार सार्वजनिक गरे । नेपाल सरकारबाट नगरपालिकालाई वित्तीय समानीकरण, सशर्त अनुदान, सामाजिक सुरक्षा, सडक बोर्ड नेपाल, स्थानीय शासन तथा सामुदायिक विकास कार्यक्रम, सङ्घ प्रदेश तथा जिल्ला समन्वय समितिबाट थप हुन सक्ने अनुदानका साथै कन्काई नगरपालिकाको आन्तरिक आय र राजस्व बाँडफाँटबाट प्राप्त हुन सक्ने रकम समावेश गरी बजेट सार्वजनिक गरिएको छ ।

यसमध्ये चालू खर्च तीन करोड ४६ लाख ५० हजार र पुँजीगततर्फ २० करोड ९० लाख पाँच हजार रुपैयाँ छ । उल्लिखित चालू खर्चको रकममा सामाजिक सुरक्षा भत्ता तथा शिक्षा र स्वास्थ्यतर्फको अन्य सशर्त अनुदान रकम नजोडिएको बताइएको छ ।

कुल पुँजीगत खर्चमध्ये कृषि तथा पशुपालन क्षेत्रमा ६४ लाख ३० हजार, भौतिक पूर्वाधार विकासतर्फ आठ करोड ३२ लाख, लक्षित वर्ग कार्यक्रमतर्फ एक करोड ५० लाख, स्वास्थ्यतर्फ ३० लाख, शिक्षातर्फ ३६ लाख ५० हजार, उद्योग स्थापनातर्फ एक करोड, विपद् व्यवस्थापनतर्फ ७० लाख, पर्यटनतर्फ ९६ लाख ५० हजार, नदी नियन्त्रणतर्फ एक करोड २० लाख र विद्युत् विस्तारका लागि एक करोड १० लाख रुपैयाँ विनियोजन गरिएको छ ।