कृषि बाली तथा पशुपक्षी बिमा कार्यक्रमअन्तर्गत जिल्लामा चालू आर्थिक वर्ष २०७४/७५ को पाँच महिनाको अवधिमा ३ सय ९१ पशु र ३ हजार ७ सयभन्दा बढी कुखुराको बिमा गरिएको छ ।
सरकारले आव २०७२/७३ देखि सिरहामा सञ्चालन गरेको कृषि बाली तथा पशुपक्षी बिमा कार्यक्रम प्रभावकारी बनेको छ । कृषि बाली तथा पशुपक्षी बिमा कार्यक्रमअन्तर्गत जिल्लामा चालू आर्थिक वर्ष २०७४/७५ को पाँच महिनाको अवधिमा ३ सय ९१ पशु र ३ हजार ७ सयभन्दा बढी कुखुराको बिमा गरिएको छ ।
पशुपक्षीको बिमा कार्यक्रमअन्तर्गत चालू आवको साउनदेखि मङ्सिरसम्ममा लहानस्थित लुम्बिनी जनरल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडमा पशुपालक किसानले बिमा गराएको जिल्ला पशु सेवा कार्यालयका प्रमुख डा. काशीनाथ यादवले जानकारी दिए । उनका अनुसार सिरहामा पशुतर्फ १ सय ४० गाई, ६६ भैँसी, १ सय ८५ बाख्रा र १२ ओटा बङ्गुरको बिमा गरिएको छ । बिमा कार्यक्रमअन्तर्गत बाली र पशुपक्षीको बिमा गराएमा प्रिमियम रकमको ७५ प्रतिशत सरकारले अनुदानस्वरुप दिने र २५ प्रतिशत किसान स्वयंले तिर्नुपर्ने व्यवस्था रहेको डा. यादवको भनाइ छ ।
बिमा कार्यक्रमअन्तर्गत चालू आवको हालसम्ममा पशुतर्फ १ करोड ५४ लाख ५८ हजार, पक्षी (कुखुरा)तर्फ १३ लाख २३ हजार रुपैयाँको बिमा भएको लहानस्थित लुम्बिनी जनरल इन्स्योरेन्स कम्पनी लिमिटेडका शाखा इन्चार्ज अनिलकुमार यादवले जानकारी दिए । बाली तथा पशुपक्षी बिमा कार्यक्रमअन्तर्गत केही महिनाअघि कृषि बालीतर्फ धानबालीको समेत बिमा गरिएको उनको भनाइ छ ।