उर्जा, जलस्रोत तथा सिंचाइ मन्त्री बर्षमान पुनले ४ सय ५६ मेगावाटको तामाकोशी सञ्चालनमा आएपछि एक सय मेगावाट विद्युत भारतलाई विक्रि गर्न सकिने बताएका छन । उनले नेपालको पानी, जनताको लगानी अभियान अन्र्तगत सरकारले सुरु गरेको अभियान अन्र्तगत पाँच बर्षमा ३ हजार विद्युत् उत्पादन गर्ने लक्ष्य रहेको बताए ।
निर्माणाधिन माथिल्लो तामाकोसी जलविद्युत आयोजना एक बर्ष भित्र जसरी पनि सम्पन्न हुने बताए । मन्त्री पुनले दोलखामा तत्काल निर्माण गर्न सकिने तामाकोसी ३ र ५ आयोजनाको लागि समेत सरकारले प्रकृया अगाडि बढाउने जानकारी गराए । दोलखामा रहेको तामाकोसी ३ र ५ आयोजना सरकारको पहिलो प्राथामिकतामा रहेको पनि मन्त्री पुनले जानकारी गराए ।
त्यसअघि नेपाल कम्युनिष्ट पार्टी नेकपा दोलखाका नेता इश्वरचन्द्र पोखरेलले तामाकोसी ३ र ५ तत्काल सञ्चालन गर्नु पर्ने, लामोसागु जिरी सडकको स्तरउन्नतीको काम तत्काल सम्पन्न गर्नु पर्ने, दोलखामा रहेको सिंचाई, खानेपानी, भुसंरक्षण, कृषि, सडकका डिभिजन कार्यालय दोलखामै रहनु पर्ने भन्दै मन्त्री पुनको ध्यानाकर्षण गराएका थिए ।
कार्यक्रममा पूर्व सभामुख ओनसरी घर्ति, नेपाल कम्युनिष्ट पार्टी नेकपाका केन्द्रिय सदस्य एवं प्रदेश सांसद पशुपति चौलागाई, प्रतिनिधि सभा सदस्य पार्वत गुरुङ, श्याम श्रेष्ठ, पूर्व राज्यमन्त्री देवी खड्का, अनुसासन आयोगका सदस्य शिवप्रसाद भण्डारी, प्रदेश सभा सदस्य विशाल खड्का लगाएतको सहभागिता रहेको थियो ।
मन्त्री पुनले बुधवार (आज) नै जिल्ला समन्वय समिति दोलखाले गाँउपालिका तथा नगरपालिकाका निर्वा्चित जनप्रतिनिधिहरुको लागि आयोजना गरेको माथिल्लो तामाकोसी आयोजनाको सेयर संकलन सम्बन्धि अभिमुखी कार्यक्रमको उद्घाटन गरे । माथिल्लो तामाकोसी आयोजनाको लागि जिल्लावासीले पाउने गरी बुधबार देखि एक करोड पाँच लाख ९० हजार कित्ता सेयर आवेदन खुल्ला गरेको छ । उक्त सेयरको लागि दोलखा जिल्लामा बिभिन्न बैङ्कहरुको १९ वटा सङ्कलन केन्द्र र काठमाण्डौँमा बस्ने दोलखालीहरुको लागि सनराईज बैङ्कको ११ वटा सङ्कलन केन्द्र निर्धारण गरिएको आयोजनाका प्रवक्ता डा गणेश न्यौपानेले बताए ।