उपत्यकाका दूध भित्रिने पूर्वी नाकामा खाद्यले गर्यो कडाइ

दूधको गुणस्तर परीक्षण गर्न पाँचओटै तहले सतर्कता अपनाउनुपर्ने विभागले जनाएको छ । किसान, दूध सङ्कलन केन्द्र, डेरी उद्योग, प्रशोधन केन्द्र, ढुवानी केन्द्रले कसरी गुणस्तर कायम गर्ने भन्नेबारेको निर्देशिका तथा आचारसंहिता साउनभित्रै आउने भएको छ ।

लामो समयदेखि दूधमा देखिएको गुणस्तरहीनता हटाउन खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागले कडाइ थालेको छ । काठमाडौं उपत्यकामा भित्रिने दूधको गुणस्तर कायम गर्न खाद्य विभागको टोलीले बुधबार अनुगमन गरेको थियो । अनुगमनका क्रममा पूर्वी नाका काभ्रेको साँगाबाट काठमाडौं उपत्यकामा दूध ल्याउँदै गरेका ५ ओटा ठूला गाडीहरुको जाँचसमेत गरेको विभागका प्रवक्ता पूर्णचन्द्र वस्तीले जानकारी दिए । पूर्वी नाकाबाट भित्रिँदै गरेको कच्चा दूधको जाँच गर्दा कुनै खालको जीवाणु, कोलिफर्म तथा सोडा नभेटिएको उनको भनाइ छ । ‘लामो समयदेखि दूधको गुणस्तरबारे प्रश्न उठ्दै आएको छ,’ प्रवक्ता वस्तीले भने, ‘त्यसैले विभिन्न नाकामा अनुगमन र कडाई गरिरहेका छौँ ।’

गत केही हप्तादेखि नाकाहरुमा नियमित अनुमगन गरेकाले पनि गुणस्तरमा सुधार हुँदै गइरहेको विभागका महानिर्देशक सञ्जीव कर्णले बताए । उनले उपत्यका भित्रिने चार ओटै नाकामा नियमित रुपमा छड्के अनुगमन गर्ने र गुणस्तरहीन भेटिए भित्र्याउन नदिई कानुनबमोजिम कारबाही गरिने बताए । ‘केही हप्तादेखि दूधको गुणस्तर अनुगमन भइरहेको छ,’ उनले भने, ‘विभिन्न नाका भएर उपत्यका भित्रिने दूधका गाडीहरुलाई अनुगमन गरेका छौँ । केही सुधारसमेत देखिएको छ ।’

उनका अनुसार उपत्यका भित्रिने थानकोट, नुवाकोट, धुलिखेललगायत अन्य नाकामा पनि आगामी दिनमा अनुगमन गरिने विभागले जनाएको छ । उपत्यकामा अधिकांश दूध डेरी उद्योगहरुमा गरिएको अनुगमनमा अवस्थकर जीवाणु, सोडा भेटिएपछि विभागले कडाइ गर्न थालेको हो । दूधको गुणस्तर परीक्षण गर्न पाँचओटै तहले सतर्कता अपनाउनुपर्ने विभागले जनाएको छ । किसान, दूध सङ्कलन केन्द्र, डेरी उद्योग, प्रशोधन केन्द्र, ढुवानी केन्द्रले कसरी गुणस्तर कायम गर्ने भन्नेबारेको निर्देशिका तथा आचारसंहिता साउनभित्रै आउने भएको छ । उक्त निर्देशिका आगामी भदौदेखि नै कार्यान्वयन गरिने कर्णले बताए ।