एडीबीको ऋण तथा सहायता ११ अर्बले घट्यो

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल, गौतमबुद्ध विमानस्थल, मेलम्ची खानेपानी आयोजना र काठमाडौं उपत्यका खानेपानी वितरण आयोजनाको काममा अत्यधिक ढिलासुस्ती भएकाले सुधारका लागि सरकारी हस्तक्षेप आवश्यक

एसियाली विकास बैङ्क (एडीबी)ले यस वर्ष नेपालमा करिब १० अर्ब ७९ करोड रुपैयाँ (९ करोड ९० लाख अमेरिकी डलर) लगानी घटाएको छ । बिहीबार एडीबी, सरकार र सम्बन्धित आयोजनाबीचको त्रिपक्षीय पोर्टफोलियो समीक्षा बैठक २०१८ मा दिइएको जानकारीअनुसार यस वर्ष एडीबीले नेपाललमा २ अर्ब ३३ करोड ९० लाख डलर सहायता तथा ऋण लगानी गर्ने भएको छ । वर्ष २०१७ मा उसले नेपालमा २ अर्ब ४३ करोड ८० लाख डलर सहायता तथा ऋण लगानी परिचालन गरेको थियो ।

कार्यक्रममा अर्थसचिव डा. राजन खनालले आफ्ना योजनाहरुको कार्यान्वयनबारे हुने नियमित छलफलले सरकारलाई पनि नीति तथा कार्यक्रम समयभित्रै कार्यान्वयन गरिसक्न थप दबाब सिर्जना गर्ने बताए । ‘अर्थ मन्त्रालयले अन्तरमन्त्रालय तथा विभागहरुबीच समन्वयको काम गरिरहेको छ,’ उनले भने, ‘कुनै पनि बहानामा नीति तथा कार्यक्रम कार्यान्वयनमा ढिलाइ गर्न कसैलाई पनि छुट छैन ।’ विस्तारै मुलुक स्थिरतातर्फ गएकाले आयोजनाहरु निर्माणले पनि उल्लेखनीय रुपमा गति लिने अर्थसचिव खनालको दाबी छ ।

कार्यक्रममा नेपालका लागि एडीबीका देशीय निर्देशक मुख्तर खामुदाखानोभले नेपालमा काम गर्न चुनौतीपूर्ण रहेको भन्दै ढिलासुस्ती नरोकिनु मुख्य समस्या भएको बताए । सरकारसँग सहजीकरण गरेर एडीबी अघि बढिरहेको जानकारी दिँदै उनले आयोजनाहरु समयमै सक्न सबै एकजुट हुनुपर्नेमा जोड दिए ।

एडीबीले दिएको जानकारीअनुसार जुन ३० सम्म सबैभन्दा बढी सहरी र खानेपानी क्षेत्रमा ऋण तथा सहयोग परिचालन गरेको छ । यो क्षेत्रमा कुल पोर्टफोलियोको ३२ प्रतिशत अर्थात् ७५ करोड ८० लाख डलर परिचालन भएको छ । २०१७ मा कुल बजेटको ३१ प्रतिशत अर्थात् ७५ करोड १० लाख डलर परिचालन भएको थियो ।

एडिबीका डेपुटी डाइरेक्टर जनरल दिवस शरणले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल, गौतमबुद्ध विमानस्थल, मेलम्ची खानेपानी आयोजना र काठमाडौं उपत्यका खानेपानी वितरण आयोजनाको काममा अत्यधिक ढिला सुस्ती भएकाले सुधारका लागि सरकारी हस्तक्षेप आवश्यक रहेको बताए ।

एडीबीको बढी लगानी भएको दोस्रो क्षेत्र ऊर्जा रहेको छ । ऊर्जाक्षेत्रमा कुल पोर्टफोलियोको २३ प्रतिशत अर्थात् ५४ करोड ३० लाख डलर रहेको छ । जुन २०१७ मा कुल पोर्टफोलियोको २५ प्रतिशत अर्थात् ६० लाख १० लाख डलर परिचालन भएको थियो । त्यसैगरी यातायात क्षेत्रमा ४१ करोड ६० लाख डलर परिचालन भएको छ । जुन कुल पार्टफोलियोको १८ प्रतिशत हो । वर्ष २०१७ मा यो क्षेत्रमा कुल पोर्टफोलियोको १९ प्रतिशत अर्थात् ४५ करोड ३० लाख डलर थियो । यस वर्ष रकमका आधारमा गत वर्षकै बराबर रकम यो पनि कृषिमा छुट्ट्याएको छ । यस वर्ष एडीबीले कृषिक्षेत्रमा कुल पोर्टफोलियोको १० प्रतिशत अर्थात् २३ करोड डलर सहायता तथा ऋण लगानी गर्ने भएको छ ।

२०१७ मा कृषि क्षेत्रमा त्यतिबेलाको कुल पोर्टफोलियको ९ प्रतिशत अर्थात् २३ करोड डलर नै थियो । यस वर्ष पुनर्निमार्णमा परिचालन हुने रकम घटेको छ । कुल पोर्टफोलियोमा ९ प्रतिशत अर्थात् २० करोड २० लाख डलर छ भने वर्ष २०१७ मा पुनर्निर्माणमा ८ प्रतिशत अर्थात् २० करोड ३० लाख डलर थियो । गत वर्ष १४ करोड १० लाख डलर (६ प्रतिशत) शिक्षाक्षेत्रका लागि छुट्ट्याएको एडीबीले यस वर्ष १४ करोड (६ प्रतिशत) डलर नै छुट्ट्याएको छ । एडीबीले अन्य क्षेत्रमा भने गत वर्षकै जस्तो २ प्रतिशत अर्थात् करोड डलर सहायता तथा ऋण सहयोग गरेको छ ।

एडीबीले सन् २०१८ को मध्यसम्ममा नेपाली आयोजनाहरुमा १४ करोड ९० लाख डलरको सम्झौता हुनुपर्ने लक्ष्यमा १० करोड ४० लाख डलरको सम्झौता भएर ७० प्रतिशत प्रगति हासिल गरेको जनाएको छ । यस वर्ष कुल ४४ करोड ७० लाख डलरको आयोजना सम्झौता गर्ने एडीबीको कार्यक्रम छ । त्यस्तै खर्चतर्फ १४ करोड ६० लाख डलर हुनुपर्नेमा १० करोड ८० लाख डलर भएर ७० प्रतिशत प्रगति हासिल भएको जनाएको छ । यस वर्ष समग्रमा ३३ करोड ० लाख खर्च गर्ने कार्यक्रम एडीबीको छ ।

चालू वर्षको मध्यसम्म समग्रमा एडीबीले ६४ प्रतिशत आयोजना सम्झौता (१ अर्ब ५० करोड ८० लाख डलरको) भइसकेको छ भने ३६ प्रतिशतको सम्झौता हुन बाँकी रहेको जनाएको छ । त्यस्तै खर्चतर्फ ४० प्रतिशत (९३ करोड ५० लाख डलर) खर्च हुँदा ६० प्रतिशत रकम खर्च हुन बाँकी छ । एडीबीका ऋण तथा अनुदान सहयोगमा सञ्चालित ३३ परियोजनामध्ये २० ओटा कार्यान्वयनमा चरणमा छन् भने ३ ओटा स्थापना चरणमा र १० ओटा परियोजना अन्तिम चरणमा छन् । त्यसैगरी २० ओटा आयोजनामा २ करोड ७८ लाख डलर प्राविधिक सहायता परिचालित भएको एडीबीले जनाएको छ ।