असोज १८ र १९ मा इन्नोभेसन इन टीभीईटी फर सोसियल इकोनोमिक अन्र्तराष्ट्रिय सम्मेलन

आगामी असोज १८ र १९ गते इन्नोभेसन इन टीभीईटी फर सोसियल इकोनोमिक अन्र्तराष्ट्रिय सम्मेलन हुने भएकोे छ । डिप्लोमा इन्जिनियर्स एसोसिएसन नेपाल (डिन), कोलम्बो प्लान स्टाफ कलेज (सिपिएससी) मनिला र प्राविधिक शिक्षा तथा व्यवसायिक तालिम परिषद् (सिटिईभिटी) को आयोजनामा दुइ दिने सम्मेलन काठमाडौंमा हुने भएको हो ।

काठमाडौंको याक एन्ड यतिमा आयोजना हुने सम्मेलनमा शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालय र SAARC Diploma Engineers Forum (SDEF)को सहकार्य हुने छ ।
सम्मेलनले टीभीईटी क्षेत्रमा भईरहेको कार्यका बारेमा छलफल गर्नुका साथै इन्जिनियरिङ क्षेत्रका उत्कृष्ट उपलव्धिको अवलम्बन, सफल मोडलहरुको आदानप्रदान गर्ने डिनका अध्यक्ष तथा सम्मेलन आयोजक समितिका अध्यक्ष कामेश्वर प्रसाद सिंहले बताए । यसले राष्ट्रिय, क्षेत्रीय मात्र नभई अन्तर्राष्ट्रिय क्षेत्रमा सम्बन्ध विस्तार गर्दै गुणस्तरीय विकासका लागि सम्बन्ध विस्तार गर्ने सिंहले बताए ।

सम्मेलनले विश्वका पछिल्ला प्रविधि र प्राविधिक उत्पादन विकास र विकास निर्माणको शैलीप्रति जागरुकता फैलाउनुका साथै सकारात्मक प्रतिस्पर्धा निम्त्याउने आयोजकको विश्वास छ । २० हजार सदस्यको हकहित, पेशागत नीति निर्माणमा सुझाव, सल्लाह दिँदै आएको डिनले सम्मेलनमार्फत विभिन्न मुलुकमा सिटिईभिटीको माध्यमबाट भइरहेको सोसियल इकोनोमिक विकासका बारेमा जानकारी गराउने तथा एकापसमा सहयोग र ज्ञानको आदानप्रदान गर्न मद्दत पुग्ने अपेक्षा गरेको छ । सम्मेलनले सामाजिक, आर्थिक क्षेत्रमा गुणस्तरीय विकासको मापदण्ड निर्माण गर्नेसमेत डिनका महासचिव जीवनघिमिरेले पत्रकार सम्मेलनमा बताए ।

नीतिगत अस्पस्टताका कारण निर्माणमा समस्या, अलमल र कमसल अवस्था देखिएको बेला आसन्न अन्तर्राष्ट्रिय सम्मेलनले सकारात्मक प्रभाव पार्ने पत्रकार सम्मेलनमा बताइएको छ । आसन्न अन्तर्राष्ट्रिय सम्मेलनमा एसिया प्यासिफिक क्षेत्रका २० मुलुकका ५० जना, विज्ञ र सहभागी र नेपाली गरी ५०० जनाको सहभागिता रहनेछ ।

सम्मेलनमा टेक्निकल भोकेसनल एजुकेशन एन्ड टे«निङ विषयमा २० देशका अनुभव आदानप्रदानसहित २५ भन्दा बढी कार्यपत्र प्रस्तुत गरिने छन् । छलफल, प्यानल डिस्कसनबाट निस्केका निचोडहरु समेटेर घोषणापत्र जारी गरेर सम्मेलन सम्पन्न हुने अध्यक्ष सिंहले बताए ।