५० करोडको लगानीमा टायर उद्योग

उद्योगबाट सुरुमा ट्याक्टर, मोटरसाइकल, स्कुटी र ई–रिक्साका गरी चार प्रकारका टायर उत्पादन गरिनेछ ।

भारतको युचर ग्रुपसँगको साझेदारीमा विशाल ग्रुपले रु ५० करोडको लगानीमा टायर उद्योग सञ्चालनमा ल्याउने भएको छ । मोरङको कटहरीमा सो उद्योगबाट तीन सातापछि टायरको व्यावसायिक उत्पादन हुनेछ ।

उद्योगका कर्मचारी विनित सिङ्घानियाँका अनुसार कटहरीमा तीन बिघा क्षेत्रफलमा फैलिएको उक्त उद्योगबाट सुरुमा ट्याक्टर, मोटरसाइकल, स्कुटी र ई–रिक्साका गरी चार प्रकारका टायर उत्पादन गरिनेछ । उद्योगले अहिले वार्षिक दुई लाख थान टायर उत्पादन गर्ने छ ।

पहिलो चरणमा डेल्टा ब्राण्डका टायर बजारमा ल्याइनेछ । ट्रक, बस, जिप, लरी, ट्याक्टरका सबै प्रकारका टायरको वार्षिक २० लाख थान उत्पादन गर्ने लक्ष्य राखेको सिंघानियाले बताए । उद्योगमा पाँच वर्षभित्रै लगानी विस्तार गरेर रु २ अर्ब ५० करोड पु¥याउने उनको भनाइ छ ।

विशाल समूहका निर्देशक अनुज अग्रवालले आयात प्रतिस्थापन गर्ने उद्देश्यले उद्योग स्थापना गरिएको बताए । सो टायर उद्योगले कच्चापदार्थ भारतबाट आयात गरिरहेको छ ।