गुणस्तर तथा नापतौल विभाग भन्छ– फ्याक्ट्री होइन, बजार अनुगमन गर्छाैं

उत्पादन गर्ने ठाउँको तुलनामा उत्पादन भएर बजारमा गएको वस्तु जाँच गर्दा त्यसको वास्तविक तथ्य बाहिर आउने सम्भावना हुने विभागका महानिर्देशक विश्वबाबु पुडासैनीले जानकारी दिए ।

गुणस्तर तथा नापतौल विभागले फ्याक्ट्रीभन्दा बजारमा आएको सामग्रीको अनुगमन गर्ने भएको छ । उद्योगीले आफ्नो उद्योगमा जहिले पनि गुणस्तरीय सामग्रीमा मात्रै राख्ने गरेको र अनुगमनमा जाँदा सोही सामग्री मात्रै उपलब्ध हुने गरेकाले विभागले बजारमा गएको सामग्रीको जाँच गर्ने योजना बनाएको हो ।

उत्पादन गर्ने ठाउँको तुलनामा उत्पादन भएर बजारमा गएको वस्तु जाँच गर्दा त्यसको वास्तविक तथ्य बाहिर आउने सम्भावना हुने विभागका महानिर्देशक विश्वबाबु पुडासैनीले जानकारी दिए । ‘विभागबाट उद्योगमा अनुगमन जाँदा कहिल्यै गुणस्तर नपुगेको सामग्री पाइँदैन । तर त्यही कम्पनीबाट उत्पादित सामग्री बजारमा गुणस्तरहीन भेटिन्छ,’ उनले भने, ‘लामो समयदेखि यस्तो समस्या देखिन थालेपछि सरकारले बजारमा गएका सामग्रीको अनुगमन गर्नेछ ।’

विशेषगरी बजारमा गएका निर्माण सामग्रीको गुणस्तरमा ठूलो समस्या देखिएको विभागको निष्कर्ष छ । स्टिल, सिमेन्ट, जस्तापातालगायत सामग्रीमा ठूलो समस्या देखिएको विभागले जानकारी दिएको छ । ‘फ्याक्ट्रीमा गयो कुनै समस्या पाइँदैन,’ उनले भने, ‘बजारमा त्यही सामग्रीको गुणस्तर परीक्षण ग¥यो, गुणस्तरहीन पाइन्छ,’ महानिर्देशक पुडासैनीले भने, ‘अब बजार अनुगमन धेरै र फ्याक्ट्री अनुगमन कम गर्छौं ।’

अब गाउँगाउँमा घर बनाउने सिजन सुरु भएको र यही बेला उपभोक्ता ठगिने सम्भावना बढेपछि सरकारले बजार अनुगमन बढाउन लागेको हो । सिमेन्ट, रड, जस्तापातालगायत अन्य सामग्रीको उपयोग बढेसँगै उपभोक्ताहरु पनि ठगिने सम्भावना बढी हुने विभागको निष्कर्ष छ ।
‘बजारमा माग बढ्नेबित्तिकै मूल्य बढ्नु स्वाभाविकै हो,’ उनले भने, ‘तर, नेपालमा माग बढेपछि गुणस्तर र परिमाण पनि घट्न जान्छ । त्यसले गर्दा उपभोक्तालाई ठूलो नोक्सान पर्छ ।’