नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले यो हिउँदमा लोडसेडिङ नहुने बताएका छन् । केही दिनदेखि विभिन्न सञ्चारमाध्यम र सामाजिक सञ्जालमा अघोषित रूपमा लोडसेडिङ भइरहेको र लोडसेडिङ हुने भन्ने समाचारहरु सम्प्रेषण भइरहेकोमा पनि उनले प्राधिकरणको ध्यानाकर्षण भएको बताएका छन् । बिहीबार विज्ञप्ति जारी गरेरै उनले यस्तो ध्यानाकर्षण गराएका हुन् ।
अहिले औद्योगिक ग्राहकलाई दैनिक तीन घण्टाबाहेक अन्य ग्राहकलाई घोषित/अघोषित रूपमा कुनै प्रकारको लोडसेडिङ नगरिएको उनको भनाइ छ ।
प्राविधिक समस्याका कारण कहीँकतै केही बेरसम्म विद्युत आपूर्तिमा अवरोध आएको अवस्थामा समेत यस्ता समस्या देखिनासाथ प्राधिकरणले तत्काल प्राविधिक टोली खटाएर समस्या समाधान गरी विद्युत आपूर्ति सुचारु गरिरहेको छ । साथै आपूर्तिमा गुणात्मक सुधार ल्याउन ग्राहकको मागलाई समेत दृष्टिगत गरी फिडर तथा ट्रान्सफर्मरको क्षमता बढाई समग्र विद्युत् वितरण प्रणालीलाई सदृढीकरण गर्ने कार्यलाई उच्च प्राथमिकतामा राखी सोहीअनुसार देशैभरि काम भइरहेको उनले जानकारी दिए ।
हिउँद लागेसँगै खोला तथा नदीमा पानीको बहाव घट्दा विद्युत् उत्पादनमा कमी आउने तर विद्युत् माग बढ्ने हुँदा प्राधिकरणसँग उपलब्ध सीमित उत्पादनले विद्युत् माग र आपूर्ति व्यवस्थापन चुनौतीपूर्ण रहेको उनको भनाइ छ । यति हुँदाहुँदै पनि उचित व्यवस्थापन गरी विद्युत् आपूर्तिलाई सकेसम्म सहज बनाउन प्राधिकरण प्रतिबद्ध प्रतिबद्ध रहेको उनले जानकारी दिए । चुनौतीको सामना गरी ग्राहकलाई उज्यालो दिन गतवर्षझैं यस वर्षको हिउँदमा पनि लोडसेडिङ न्यूनीकरण गर्न प्राधिकरणले विद्युत् माग र आपूर्ति व्यवस्थापनको योजना तथा कार्यक्रम बनाएर त्यसलाई दृढतापूर्वक कार्यान्वयन गरिरहेको उनले बताए ।
यस वर्षको हिउँदको विद्युत् मागको व्यवस्थापनका लागि प्राधिकरणले आफ्नो स्वामित्वमा रहेका विद्युत् गृहको कुशलतापूर्वक उच्चतम सञ्चालन, निजीक्षेत्रको उत्पादन र अपुग विद्युत् विगतमा झैं भारतबाट आयात गर्ने योजना बनाएको छ । हिउँदयामको विद्युत आपूर्तिका लागि नेपाल आत्मनिर्भर भई नसकेको अवस्थामा गतवर्षजस्तै नेपाल–भारत प्रसारण लाइन संरचनाहबाट सहज रुपमा विद्युत् आपूर्ति भइरहेको विज्ञप्तिमा उल्लेख छ । साथै त्यसको निरन्तरताको लागि भारत सरकार र सम्बन्धित नियकायहरुबाट प्राधिकरणले सहयोग पाइरहेको समेत घिसिङले बताए ।