महासङ्घले उद्योगीहरुको समस्या समाधान र नीतिगत सुधार गर्न स्थानीय तथा प्रदेशले निर्धारण गरेको असामान्य करका बारेमा कुनै पनि धारणा बाहिर ल्याउन नसकेपछि अहिले ‘थ्रीबी’ को बहस सुरु भएको हो ।
सम्पूर्ण उद्योगीहरुको छाता सङ्गठन नेपाल उद्योग वाणिज्य महासङ्घ (एफएनसीसीआई)मा यतिखेर ‘थ्रीबी’ को बहस सुरु भएको छ । महासङ्घले उद्योगीहरुको समस्या समाधान र नीतिगत सुधार गर्न स्थानीय तथा प्रदेशले निर्धारण गरेको असामान्य करका बारेमा कुनै पनि धारणा बाहिर ल्याउन नसकेपछि अहिले ‘थ्रीबी’ को बहस सुरु भएको हो ।
प्रदेश तथा स्थानीय सरकारले मनलाग्दी रुपमा कर लगाउँदा पनि उद्योगीको छाता सङ्गठनको रुपमा परिचित महासङ्घले कुनै पनि ठोस कदम चाल्न नसकेपछि उद्योगीहरु रुष्ट भएर थ्रीबीको सोच बनाएका हुन् ।
महासङ्घका पदाधिकारीले स्थानीय तथा प्रदेशले लगाएको करको विषयमा धारणा बाहिर नल्याएपछि थ्रीबीको बहस चलाउनु परेको बिराटनगरका एक उद्योगीले बताए ।
महासङ्घका पदाधिकारीलाई अहिले निर्धारित कर अस्वाभाविक लाग्दा पनि महासङ्घले त्यसलाई समाधान गर्न कुनै पनि पहल गरेको छैन् । ‘हामीले महासङ्घलाई पटक–पटक यस विषयमा अवगत गराइसक्यौं,’ वीरगन्जका एक उद्योगीले क्यापिटल नेपालसँग भने, ‘तर, अहिलेसम्म कुनै सुनुवाइ भएको छैन ।’
एकातिर नेपाल उद्योग परिसङ्घ र नेपाल चेम्बर अफ कमर्स आफ्नो सदस्यहरुको हकहितमा तीव्र गतिमा अघि बढेको बेला महासङ्घ आन्तरिक किचोलमा परेकाले उद्योगीको समस्या समाधान हुन नसकेको भैरहवाका एक उद्योगीको भनाइ छ ।
के हो थ्रीबी ?
थ्रीबी अर्थात बिराटनगर, भैरहवा र वीरगन्ज । खासगरी, तीन ठाउँमा सबैभन्दा बढी उद्योगधन्दा छन् । सबैभन्दा बढी कर ती क्षेत्रका उद्योगले तिर्दै आएका छन् । तर, उद्योग व्यवसायमा देखिएको समस्या समाधान गर्न महासङ्घ उदासीन भएपछि तीन ओटै क्षेत्रका उद्योगी÷व्यवसायीले अहिले थ्रीबीको बहस सुरु गरेका हुन् । महासङ्घको शक्ति भनेकै तीन क्षेत्र हो ।
तीन क्षेत्रका उद्योगी/व्यवसायी मिलेर एउटा समूह बनाउने योजना समेत बुन्दै आएका छन् । यदि महासङ्घले बेलैमा उद्योग क्षेत्रमा देखिएका समस्या समाधान नगरे आगामी दिनमा थ्रीबीको एउटा समूह गठन हुन सक्ने व्यवसायीको आकलन छ ।
के थ्रीबी अन्यत्र पनि फैलिन सक्छ ?
औद्योगिक करिडोरमा रहेका उद्योगीलाई ठूलो समस्या भनेको दोहोरो कर हो । यदि दोहोरो करको मुद्दालाई महासङ्घले नउठाउने हो भने र त्यही मुद्दालाई थ्रीबीले जोडतोडले उठाएमा अन्य क्षेत्रका उद्योगी पनि थ्रीबी समूहमा आउन सक्छन् ।
सीएनआई एग्रेसिभ–चेम्बर पछिपछि–महासङ्घ सुस्त
उद्योगी व्यवसायीको समस्या सरकारसमक्ष पुर्याउन, नीतिगत सुधारका लागि आवश्यक पहल गर्न नेपाल उद्योग परिसङ्घ फरवार्ड देखिएको छ । स्थानीय तथा प्रदेशमा देखिएको उद्योगी र सरकारबीचको टकरावलाई मिलाउन पनि सीएनआई अघि सरेको देखिएको छ ।
सीएनआईको दायरा एकदमै साँघुरो भएकाले सबै क्षेत्रका उद्योगीको समस्या समाधानका लागि पहल नगर्न सक्छ । तर, चेम्बरले देशभर आफ्ना शाखा ब्यूँत्याएर आफूलाई सक्रियरुपमा प्रस्तुत गरेको छ । यदि महासङ्घले बेलैमा उद्योगीका समस्या हल गर्न सहयोग पु¥याएन भने, भोली थ्रीबी महासङ्घबाट छुट्टिएर चेम्बरमा जान सक्छ । यसतर्फ महासङ्घ पदाधिकारीले सचेत हुन आवश्यक छ ।