सरकार निजी क्षेत्रसँग मिलेर काम गरिरहे पनि सङ्घीयताको व्यवस्थापन र विकासका लागि आन्तरिक साधन र स्रोतले मात्रै नपुग्ने अर्थमन्त्री खतिवडाले विश्व बैङ्कलाई जानकारी गराएका छन् । उनले विश्व बैङ्कका विभिन्न प्रतिनिधिहरुसँग अमेरिकामा भेट्दै नेपालले विश्व बैङ्कसँग सार्थक सहयोगको अपेक्षा राखेको जानकारी गराएका छन् ।
अर्थमन्त्री डा युवराज खतिवडाले नेपालको आर्थिक र सामाजिक क्षेत्र, खासगरी पूर्वाधारमा ठूलो लगानी आवश्यक रहेको भन्दै त्यसमा सहयोग गर्न विश्व बैङ्कसँग याचना गरेका छन् । सरकार निजी क्षेत्रसँग मिलेर काम गरिरहे पनि सङ्घीयताको व्यवस्थापन र विकासका लागि आन्तरिक साधन र स्रोतले मात्रै नपुग्ने अर्थमन्त्री खतिवडाले विश्व बैङ्कलाई जानकारी गराएका छन् । उनले विश्व बैङ्कका विभिन्न प्रतिनिधिहरुसँग अमेरिकामा भेट्दै नेपालले विश्व बैङ्कसँग सार्थक सहयोगको अपेक्षा राखेको जानकारी गराएका छन् ।
‘राजनीतिक परिवर्तनपछि जनताका अपेक्षाहरू धेरै छन्,’ उनले भने, ‘तीव्र आर्थिक वृद्धि, रोजगारी, सामाजिक न्यायसहितको विकास र समृद्धिको लक्ष्य हासिल गर्न सबै किसिमका वित्तीय स्रोतबाट उच्च सहयोगको अपेक्षा गरेका छौं ।’ नेपालमा तीनै तहको निर्वाचन शान्तिपूर्ण रूपमा सम्पन्न भई करिब ३६ हजार जनप्रतिनिधि निर्वाचित भएका र ती जनप्रतिनिधिहरूमार्फत जनताका अपेक्षाहरू पूरा गर्न सरकार लागिपरेको बताएका थिए ।
नेपालका तत्काल चालू आयोजनाहरूका अतिरिक्त ठूला आयोजनाहरूको निर्माणमा विश्व बैङ्कले परियोजना विकासमा समेत सहयोग गर्न अर्थमन्त्री खतिवडाले अनुरोध गरेका छन् । उनले ऊर्जा क्षेत्रमा कानुनी, संरचनागतलगायतका सुधारमा निरन्तरता रहने र लगानीमैत्री वातावरण सृजना गर्न सरकार प्रतिबद्ध गरेको विश्व बैङ्कका प्रतिनिधिहरुलाई आवश्वस्त पार्न खोजेका छन् ।
अर्थमन्त्री खतिवडाले नेपालको विकास साझेदारी खाकासम्बन्धी विश्व बैङ्कका कार्यकारी निर्देशकहरूको सयुक्त बैठकलाई सम्बोधन गर्दै नेपालमा विकासका चुनौती र अवसरहरुबारे आगामी ५ वर्षका लागि गरिने लगानीको ढाँचा प्रस्ताव पेस गरेका थिए । नेपाललाई सन् २०२२ मा अतिकम विकसित राष्ट्रबाट स्तरोन्नति गर्न विभिन्न क्षेत्रमा थप सहयोगको आवश्यकता रहेको र नेपालले निरन्तर सुधारलाई अगाडि बढाएको खतिवडाले दाबी गरेका छन् ।
‘नेपाल सन् २०३० सम्म मध्यमस्तर आय भएको मुलुकमा स्तरोन्नति हुने दीर्घकालीन सोचसहित प्राथमिकता तोकेर अगाडि बढेको छ,’ उनले भने । त्यसअवसरमा अर्थमन्त्री खतिवडाले कार्यकारी निर्देशकहरूले स्थानीय तहको क्षमता, नेपालको विकासको मार्गचित्र, प्राथमिकता, सुधारको निरन्तरता, राजश्वको दिगोपना, समग्र व्यावसायिक वातावरण सम्बन्धमा राखेका प्रश्नहरुको जवाफ दिएका थिए ।
अर्थमन्त्री खतिवडासँगको भेटमा विश्व बैङ्कको दक्षिण एसियाका क्षेत्रीय उपाध्यक्ष हाटर््विग सेफरले विश्व बैङ्क समूह एकीकृत रुपमा नेपालको प्राथमिकताको क्षेत्रमा वित्तीय तथा प्राविधिक सहयोग गर्न र निजी क्षेत्रमा लगानी बढाउन तयार रहेको जानकारी गराएका थिए । सेफरले विश्व बैङ्कको अन्तर्राष्ट्रिय विकास सहयोग र अन्तर्राष्ट्रिय वित्त नियोगका अतिरिक्त क्षेत्रीय कोषहरूलगायतबाट नेपालको ऊर्जा, यातायात लगायतका पूर्वाधार विकासमा सहयोग गर्ने प्रतिवद्धता जनाएका छन् । त्यसैगरी विश्व बैङ्कका नेपालसमेत हेर्ने कार्यकारी निर्देशक डा. आन्दिन हादियान्तो, ऊर्जा र वित्तीय कोषका निर्देशक, विश्व बैङ्कका कार्यवाहक प्रमुख अर्थशास्त्री शान्ता देवराजनलगायतका पदाधिकारीहरुले पनि नेपालको ऊर्जा क्षेत्रमा गरिने लगानी, निजी क्षेत्रसँगको सहकार्यका बारेमा अर्थमन्त्री खतिवडासँग छलफल गरेका छन् ।
अर्थमन्त्री खतिवडासहित अमेरिकाका लागि नेपालका राजदूत डा अर्जुनकुमार कार्की र अर्थ मन्त्रालय वैदेशिक सहायता समन्वय महाशाखाका प्रमुख सहसचिव श्रीकृष्ण नेपालले नेपाल र विश्व बैङ्कको नेपाल सहायतासम्बन्धी उच्चस्तरीय बैठकमा भाग लिइरहेका छन् ।