प्रधानमन्त्री के.पी. शर्मा ओलीले सरकार र निजी क्षेत्रको सयुक्त प्रयासबाट मात्रै देशलाई चाहिएको समृद्धि आउने बताएका छन् । नेपाल उद्योग वाणिज्य महासङ्घका अध्यक्ष भवानी राणाको नेतृत्वमा गएको पदाधिकारी र कार्यकारिणी समिति सदस्यसँग भेट गर्दै ओलीले यस्तो बताएका हुन् ।
भेटमा महासङ्घले मुलुकभित्र उद्योग व्यवसाय फस्टाउने वातावरण बनाई दिन आग्रह गरेपछि जवाफमा यस्तो बताएका हुन् । ‘नेपालमा लगानीको वातावरण बनाउन सरकार जति पनि लचिलो हुन तयार छ्,’ उद्योगीबीच ओलीले भने, ‘ढुक्क भएर अघि बढ्नुस्, ।’
निजी क्षेत्रकोतर्फबाट महासङ्घका अध्यक्ष राणाले दुई तिहाईको सरकार आएपछि नयाँ उर्जाका साथ मुलुक समृद्धिको मार्गमा अगाडी बढ्ने अपेक्षा निजी क्षेत्रले गरे पनि त्यसको महशुस हुन नसकेको बताइन ।
अध्यक्ष राणाले पाँच दशक भन्दा बढी समयदेखि मुलुकभित्र उद्योग व्यवसायको विकास मार्फत सामाजिक रुपान्तरणमा क्रियाशिल रहँदै आएको निजी क्षेत्रको प्रतिनिधिमुलक संस्था महासङ्घले आमुल राजनीतिक परिवर्तनमा समेत विगतमा ऐतिहासिक भूमिका निर्वाह गरेको स्मरण गराइन । अध्यक्ष राणाले प्रधानमन्त्रीले अगाडी सारेको ‘समृद्ध नेपाल सुखी नेपाली’को अभियानलाई साकार बनाउन महासङ्घको प्रतिवद्ध रहेको बताइन ।
अध्यक्ष राणाले प्रधानमन्त्रीले यसअघि दिएको निजी क्षेत्र सम्मिलित परामर्श समूह गठन गर्ने आश्वासनलाई छिटो पूर्णता दिनुपर्नेमा बताइन् । स्थानीय तहमा दोहोरो तेहोरो करको समस्यालाई सम्वोधन गरी एकिकृत कर प्रणाली लागू गर्न, कर प्रणालीमा सुधार गर्न, कालो बजारी ऐन लगायतका पुराना ऐन कानूनहरूलाई पुनरलेखन, सशोधन र परिमार्जन गर्न समेत प्रधानमन्त्रीको ध्यानाकर्षण गराइन ।
प्रधानमन्त्री ओलीले उद्योग व्यवसायको विकासका लागि सरकारकातर्फबाट गर्नुपर्ने सहयोग सम्बन्धी ठोस सुझाव लिखित रूपमा ल्याउन आग्रह गरे । प्रधानमन्त्रीले पुराना ऐन कानूनहरूमा कहाँ, के सशोधन, पुनरलेखन, परिमार्जन आवश्यक छ सुझाव दिन समेत निजी क्षेत्रलाई अनुरोध गर्दै ती सुझावहरूलाई आफूले तत्काल कार्यान्वयन गर्ने विश्वास समेत दिलाए । मुलुकलाई समृद्धितर्फ लैजान पर्याप्त आधार र स्रोतहरू मुलुकभित्रै रहेको बताउँदै प्रधानमन्त्री ओलीले विशाल छिमेकी देशहरूको बीचमा रहेको नेपालका लागि बजार तथा लगानीको समेत अभाव नहुने धारणा राखे ।