एक वर्षमा साढे ३ अर्ब रुपैयाँभन्दा बढीको विद्युतीय सामान आयात

सबैभन्दा बढी एक हजार र त्यसभन्दा कम भोल्टेजका विद्युतीय कन्डक्टर आयातमा ठूलो रकम खर्च भएको छ । विभिन्न कन्डक्टर तथा मेसिन आयातमा एक अर्ब ७३ करोड ३९ लाख रुपैयाँ खर्च भएको हो ।

पछिल्लो एक वर्षको अवधिमा विभिन्न देशबाट साढे ३ अर्ब रुपैयाँभन्दा बढीको विद्युतीय सामान आयात भएको छ । आर्थिक वर्ष २०७४/०७५ को अवधिमा भारत तथा अन्य मुलुकबाट ३ अर्ब ४३ करोड २७ लाख २४ हजार रुपैयाँको विद्युतीय सामान आयात भएको भन्सार विभागको तथ्याङ्कले देखाएको छ ।

विद्युतीय सर्किट, मेसिन, तामाको तार, एक्सेल तार, विभिन्न भोल्टेजका कन्डक्टर, इन्सुलेटर, विद्युतीय पार्टपुर्जा र विभिन्न क्षमताका ट्रान्सफर्मर आयातमा उक्त रकम खर्चिएको हो । विद्युतीय सर्किट तथा उपकरण आयातमा एक करोड २ लाख ९० हजार, विद्युतीय मेसिन, तार आयातमा ५८ करोड ७४ लाख ८२ हजार, विभिन्न कन्डक्टर, मेसिन, इन्सुलेटर, पार्टपुर्जामा एक अर्ब ९० करोड करोड र विभिन्न क्षमताका ट्रान्सफर्मर आयातमा ९२ करोड ४५ लाख ६१ लाख रुपैयाँ विदेशिएको हो । सबैभन्दा बढी एक हजार र त्यसभन्दा कम भोल्टेजका विद्युतीय कन्डक्टर आयातमा ठूलो रकम खर्च भएको छ । विभिन्न कन्डक्टर तथा मेसिन आयातमा एक अर्ब ७३ करोड ३९ लाख रुपैयाँ खर्च भएको हो ।

नेपालमा आवश्यक पर्ने विद्युतीय सामान विदेशबाट आयात गर्नुपर्छ । ऊर्जा तथा विद्युत् माग बढेपछि त्यसको उपयोग गर्न विद्युतीय सामानहरुको आयात बढेको ऊर्जाविदको भनाइ छ । छिमेकी मुलुक भारत र अन्य तेस्रो मुलुकबाटबाट उच्च मात्रामा विद्युतीय सामान आयात हुने गर्छन् । विद्युतीय उपकरण, पार्टपुर्जा, मेसिन तथा उपकरणबिना जलविद्युत् तथा ऊर्जाको विकास गर्न नसकिने ऊर्जाविद् ज्ञानेन्द्रलाल प्रधानले बताए । विद्युतीय सामान यहाँ उत्पादन नहुने भएकाले र विदेशबाट तयारी सामान ल्याएर ऊर्जाको विकास गर्न नसकिएको प्रधानले बताए ।