विनोद चौधरी ‘होटलियर इण्डिया लाइफटाइम एचिभमेन्ट अवार्ड्’ बाट सम्मानित

 

नेपालमा एकमात्र अर्बपति एवं चौधरी ग्रुपका अध्यक्ष विनोद चौधरी ‘होटलियर इण्डिया लाइफटाइम एचिभमेन्ट अवार्ड’बाट सम्मानित भएका छन् । आतिथ्य सत्कार उद्योगमा योगदान पु¥याए वापत प्रदान गरिने यो अवार्ड अन्तर्राष्ट्रिय स्तरमा ठूलो मानिन्छ ।

भारतको आई्टीपी मिडिया ग्रुपले आतिथ्य सत्कार उद्योगमा अन्तर्राष्ट्रियस्तरमा ख्याती कमाएका विशेष ब्यक्तिहरुलाई प्रत्येक बर्ष यो अवार्ड प्रदान गर्दै आएको छ । अध्यक्ष चौधरी यो अवार्डबाट सम्मानित हुने नवौं व्यक्ति हुन् । यसअघि दि लिला ग्रुप लगायतका विख्यात होटल ब्राण्डहरुले यो अवार्ड प्राप्त गरेका छन् ।

बुधबार राती नयाँ दिल्लीस्थित जेडब्लू म्यारियटमा आयोजित भव्य समारोहकाबीच उनलाई उक्त अवार्ड प्रदान गरिएको हो । चौधरी ग्रुपले विश्वविख्यात होटल ब्राण्ड ताजसँग साझेदारी गर्दै आएको छ ।

हस्पिटालिटी क्षेत्रका विज्ञ सम्मिलित २० सदस्यीय छनोट समितिले आतिथ्य सत्कार उद्योगमा चौधरीको योगदानको कदर गर्दै उनलाई लाइफटाइम एचिभमेन्ट अवार्ड दिन सिफारिस गरेको थियो । उक्त अवसरमा भारतीय होटल उद्योगका चर्चित व्यक्तित्वहरू दिलिप पुरी, हेमन्त ओबेराय, मन्दिप लम्बा, राजीव काउललगायतको उपस्थिति थियो । आईटीपी मिडिया ग्रुपका कार्यकारी निर्देशक साइ कुमार एस तथा निर्देशक विभोर श्रीवास्तव र ब्लू स्टारका भाइस प्रेसिडेन्ट भी.एस. अशोकाले चौधरीलाई उक्त अवार्ड प्रदान गरेका हुन् ।

अध्यक्ष चौधरीले सन् २००० मा श्रीलंकाबाट आफूले अतिथि सत्कार उद्योगको यात्रा सुरु गरेको स्मरण गर्दै कठिन चुनौतीलाई अवसरमा बदल्दै यहाँसम्म आउन सम्भव भएको बताए । चौधरी ग्रुपले होटल उद्योगको लगानीलाई तिब्रताका साथ विस्तार गरिरहेको जानकारी दिँदै उनले सिजी होटल्स एण्ड रिसोर्टस्लाई एसियाकै तीव्र गतिमा फैलिइरहेको ब्राण्डका रुपमा प्रस्तुत गर्न पाउदा आफुलाई सन्तुष्टि मिल्ने बताए । चौधरी ग्रुपले आफ्नो हस्पिटालिटी विङलाई एसिया, अफ्रिका र अमेरिकासम्म फैलाएको छ ।

सिजी हस्पिटालिटी अन्तर्गत १५ देशका ९७ स्थानमा करिब एक सय होटल सञ्चालनमा छन् । होटलका विभिन्न ब्राण्डहरुमध्ये आप्mनै स्वामित्वका जिंक र फर्न ब्राण्डबाहेक संयुक्त लगानी तथा साझेदारीका ताज, अलिला, जेटविङ्ग, फार्मजस्ता ब्राण्डहरुसँग पनि ग्रुपले सहकार्य गरिरहेको छ । ताज एक्जोटिका रिसोर्ट्स माल्दिभ्स, ताज समुद्र कोलम्बो, द फार्म इन फिलिपिन्स, जेटविङ्ग उलभियना श्रीलंका र मध्य भारत एवं नेपालको चितवनमा रहेका ताज सफारी होटलहरु केही उल्लेख्य होटलहरु हुन् । विशिष्ट र विविधीकृत होटल चेनको रुपमा आफूलाई स्थापित गरेको सिजी होटल्स एण्ड रिसोर्ट्सले विश्वस्तरीय सेवा प्रदान गर्ने आफ्नो यात्रालाई जारी राखेको छ ।