हात्तीले टावरमा क्षति पुर्‍याउँदा मध्य तथा सुदूरपश्चिमका केहि स्थानमा  विद्युत अवरुद्ध

बाँकेको कोहलपुर र कुसुमको बीचमा पर्ने समशेरगञ्जमा जंगली हात्तीले विद्युतको प्रसारण लाईनको टावरमा क्षति पुराउँदा त्यस क्षेत्र आसपासमा विद्युत आपूर्ति अवरुद्ध भएको छ ।

टावरमा क्षति पुग्दा मध्य तथा सुदूरपश्चिमका केहि स्थानमा विद्युत आपूर्ति अवरुद्ध भएको नेपाल विद्युत प्राधिकरणले जनाएको हो । समशेरगञ्ज नजिक पर्ने १३२ केभी डबल सर्किट सस्पेन्सन प्रसारण टावरमा जंगली हात्तीले टावरलाई ढलाएको हो । टावरमा क्षति पुग्दा विद्युत प्रवाह हुने १३२ केभी सवस्टेशनहरु लालपुर, अत्तरिया, पहलमानपुर, भुरिगाउँ र कोहलपुरमा नेपाल बाट उत्पादित विद्युत प्रवाह हुने अवस्था नरहेको प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिमिङद्धारा जारी प्रेस विज्ञप्तीमा उल्लेख छ । नेपालबाट विद्युत प्रवाह गर्न नसकिएको र भारतबाट टनकपुर सबस्टेशन भएर आयात हुने विद्युतमात्र प्रवाह भइरहेकाले त्यस क्षेत्रको सबस्टेशनहरुबाट विद्युत आपूर्ति हुने विभिन्न स्थानहरुमा पिक आवरका समयमा करिब १५ मेगावाट विद्युत अपुग भई केहीबेर विद्युत कटौती गर्नुपर्ने वाध्यता सिर्जना भएको विद्युत प्राधिकरणले जनाएको हो ।टावरको क्षति जाँच गरी नयाँ टावर जडान वा अस्थायी व्यवस्था मिलाउन प्राधिकरणले प्राविधिक टोली परिचालन गरिसकेको जनाएको छ ।