राजमार्ग बन्द हुँदा राजस्व सङ्कलनमा असर

अवरुद्ध राजमार्ग चालू गरार्इ भन्सारको कर असुली, पर्यटकको आवागमन, निर्माण सामग्री ढुवानी र बिरामी ओसारपसारमा सहजता ल्याउन आवश्यक भएको र यसका लागि प्रयास जारी रहेको स्थानीय प्रशासनले जनाएको छ ।

अविरल वर्षापछि खसेको पहिराले सडक अवरुद्ध पार्दा राजस्व सङ्कलनमा ठूलो असर परेको छ ।

अवरुद्ध राजमार्ग चालू गरार्इ भन्सारको कर असुली, पर्यटकको आवागमन, निर्माण सामग्री ढुवानी र बिरामी ओसारपसारमा सहजता ल्याउन आवश्यक भएको र यसका लागि प्रयास जारी रहेको स्थानीय प्रशासनले जनाएको छ ।

पहिरो र नदीकटानबाट अवरुद्ध सडक पुनःनिर्माणका लागि नेपाली सेना परिचालन गर्न मन्त्रालयमार्फत् प्रक्रिया अगाडि बढिसकेकाले अबको एक दुई दिनभित्रै राजमार्गको पहिरो व्यवस्थापन गरी सवारी साधान सञ्चालन गर्न नेपाली सेना कालिप्रसाद इञ्जिनीयरिङ गणले स्थलगत निरीक्षणसमेत गरिसकेको प्रमुख जिल्ला अधिकारी कृष्ण पौडेलले जानकारी दिए ।

अबिरल वर्षाले रसुवागढी, धुञ्चे–भार्खुबीचको त्रिशुली नदी छेउका दुई स्थानमा पहिरा गएका कारण नेपाल–चीन सीधा सम्पर्क टुटेपछि तीजपर्व लागि ल्याइएका सौन्दर्यका सामग्रीसमेत रोकिएको एकता व्यापार सङघले जनाएको छ । सडक बन्द हुँदा नेपाली व्यवसायीले झिकाएका सामग्रीले आफ्नो गोदाम भरिसकेको चिनियाँ सामान ढुवानी गर्ने केरुङ क्षेत्रको सबैभन्दा ठूलो ढुवानी कम्पनी मुसा ट्रान्सर्पोटले जनाएको छ ।

सडक अवरुद्ध भएपछि भन्सार शुल्क समेत प्रभावित भएको बताउँदै प्रमुख भन्सार अधिकृत गोपाल कोइरालाले साउन १० गतेयता करिब ४८ करोड रूपैयाँ राजस्व सङ्कलनमा असर परेको बताए । साउन ११ गतेको अविरल वर्षाले क्षति पुगेको टिमुरे र रसुवागढी बीच घट्टेखोलाको पक्की पुल मर्मत ४५ प्रतिशत पूरा भएको डिभिजन सडक कार्यालयले जनाएको छ ।

अर्बौका सामान रोकिँदा आफ्ना व्यवसायीलाई ठूलो मर्का परेको र विभिन्न चाडपर्वसमेत नजिकिँदै गरेकोले छिटोभन्दा छिटो राजमार्ग चालू गराउन आग्रह गरिएको उक्त सङ्घका अध्यक्ष टपिन्द्रप्रसाद तिमल्सिनाले बताए ।

अवरुद्ध सडक छिटो खोल्न आफूले प्रयास जारी राखेको बताउँदै सडक विभागका महानिर्देशक रवीन्द्रनाथ श्रेष्ठले विष्फोटक पदार्थ प्रयोगका लागि नेपाली सेनालाई आग्रह गरिसकिएको र सेनाको नीति निर्माण तहबाट ठोस जवाफ नआउँदा सडक खोल्ने काम केही दिन ढिलाइ भएकाले सेनालाई विशेष निर्देशनका लागि रक्षा मन्त्रालयमा अनुरोधसमेत गरिरहेको बताए । रासस