‘निजी क्षेत्र भनेको दुहुनो गाई हो, यसलाई जसरी दुहे पनि हुन्छ भन्ने मानसिकता त्याग्नुपर्छ,’ दाहालले भने, ‘यदि यस्तो खराब नजिरलाई जोगाइराख्ने हो भने, देश आर्थिक रुपमा अघि बढ्दैन ।’
नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का अध्यक्ष तथा पूर्व प्रधानमन्त्री पुष्पकमल दाहालले निजी क्षेत्रलाई राज्यले दुहुनो गाई सम्झेर दुहिरहेको बताएका छन् ।
पार्टी प्यालेस तथा क्याटरिङ व्यवसायी सङ्घको साधारणसभालाई सम्बोधन गर्दै अध्यक्ष दाहालले निजी क्षेत्रलाई हेर्ने सरकारी मानसिकता परिर्वतन नगरेसम्म विकासको नारा नारामै सीमित हुने बताए ।
‘निजी क्षेत्र भनेको दुहुनो गाई हो, यसलाई जसरी दुहे पनि हुन्छ भन्ने मानसिकता त्याग्नुपर्छ,’ दाहालले भने, ‘यदि यस्तो खराब नजिरलाई जोगाइराख्ने हो भने, देश आर्थिक रुपमा अघि बढ्दैन ।’
अहिले निजी क्षेत्रका धेरै समस्या छन् । निजी क्षेत्रले खोजेजस्तो नीति, नियम तथा कानुनहरु बन्न नसकेको भन्दै पूर्व प्रधानमन्त्री दाहालले भने, ‘व्यावसायिक वातावरण बनाउने सरकारले नै हो । यदि व्यावसायिक वातावरण बनेन भने विदेशीको कुरै छाडौं स्वदेशी लगानीसमेत बढ्दैन ।’
‘अहिले सरकारले नाफा कमाउन अङ्कुश लगाएको छ । नाफा कमाए, व्यवसायीलाई थुन्ने समेत गरेको छ । सरकारले यस्तो कार्यलाई तत्काल बन्द गर्नुपर्छ । निजी क्षेत्रले नाफा नै कमाउनु हुँदैन भन्ने मान्यता नै गलत हो । लगानीकर्ताले लगानी गरेकै नाफा कमाउन हो,’ उनले भने, ‘यदि नाफा कमाउन नदिने हो भने कसरी लगानी वृद्धि हुन्छ, कसरी नयाँ लगानी थपिन्छ, कसरी रोजगारी वृद्धि हुन्छ ?’
नेपालमा लगानीको वातावरण छ, राज्यको संरक्षण छ तथा लगानीको संरक्षण छ भन्ने कुरा स्थापित गर्न नाफा कमाउन प्रोत्साहन गर्नुपर्ने अध्यक्ष दाहालले बताए ।
‘सरकारमा बस्ने तथा कर्मचारीले निजी क्षेत्र ठग हुन् भन्ने बुझाइ राखेर काम गर्छन्,’ उनले भने, ‘सरकारले सबैभन्दा सुधार गर्नुपर्ने कुरा त्यही हो । अनि मात्रै अन्य कुरा सुधार गर्नुपर्छ ।’
राज्यले आवश्यकताभन्दा बढी नियन्त्रण गर्न खोज्यो भने, पुँजी पलायन भएर विदेश पुग्छ । त्यो पनि राम्रो भएन । लगानीकर्तालाई धेरै विकल्प छन् । तर, हामीलाई एउटा मात्रै विकल्प छ । त्यसैले राज्य नियन्त्रणमुखी बन्न नहुने दाहालको भनाइ छ ।
लगानीकर्ताले नेपालमा लगानी गरेन भने विदेशमा गर्छ । त्यसो हुँदा नेपालको पैसा विदेशमा पुग्यो, रोजगारी पनि गुम्यो । आर्थिक समृद्धिमा पनि धक्का लाग्यो । त्यसैले नीति निर्माण तहमा बस्नेले यो कुरा विचार गर्नुपर्ने उनको भनाइ छ ।
अहिले निजी क्षेत्र आफ्नो लगानी असुरक्षित भएको महसुस गरिरहेको छ । त्यही कारणले पनि नेपाली पैसा विदेशमा विभिन्न माध्यमबाट पुगिरहेको छ । एउटा लगानीकर्ताले नेपालमा लगानी गर्दा धेरै असुरक्षित महसुस गर्छ । त्यही लगानीकर्ताले विदेशमा लगानी गर्दा सुरक्षित महसुस गर्ने गरेको उनको भनाइ छ । यदि सरकारले ठीक ढङ्गले काम गरेन भने सबै त्रसित हुन्छन् ।