आम ग्राहकको सुविधालाई मनन् गर्दै घरबाटै विद्युत् महसुल तिर्ने गरी अनलाइन सिस्टम देशैभर लागू गर्न लागिएको हाे ।
नेपाल विद्युत् प्राधिकरणअन्तर्गतका ९ क्षेत्रीय कार्यालयका एक सय ३१ ओटा वितरण केन्द्रमार्फत् विद्युत महसुल अनलाइनमार्फत् भुक्तानी गर्न सकिने भएको छ ।
काठमाडौं क्षेत्रीय कार्यालयअन्तर्गतका ३० ओटा, हेटौंडा क्षेत्रीय कार्यालयअन्तर्गतका ११, पोखरा क्षेत्रीय कार्यालय अन्तर्गतका ११, नेपालगन्ज क्षेत्रीय कार्यालयअन्तर्गतका १४, विराटनगर क्षेत्रीय कार्यालयअन्तर्गतका २२, विराटनगर क्षेत्रीय कार्यालयका ४, जनकपुर क्षेत्रीय कार्यालयका १७, बुटवल क्षेत्रीय कार्यालयका १६, अत्तरिया क्षेत्रीय कार्यालयका ६ ओटा वितरण केन्द्रका कार्यालयमा अनलाइनमार्फत् विद्युत् महसुल भुक्तानी गर्न सकिने भएको प्राधिकरणले जनाएको छ ।
मुलुकका अन्य वितरण केन्द्रमा पनि अनलाइनमार्फत विद्युत् महसुल भुक्तानी गर्ने प्रक्रिया सुरु गरिएको नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले जानकारी दिए । आम ग्राहकको सुविधालाई मनन् गर्दै घरबाटै विद्युत् महसुल तिर्ने गरी अनलाइन सिस्टम देशैभर लागू गर्न लागिएको उनले बताए ।
अहिले मुलुकका एक सय ६८ केन्द्रमा कम्प्युटराइजिङ सिस्टम कार्यान्वयन भइरहेको छ । एम पावर बिलिङ सिस्टम एक सय ४६ केन्द्रमा कार्यान्वयन भइरहेको छ । बाँकी २२ केन्द्रमा भने अझै कम्युटराइजिङ प्रणाली कार्यान्वयनमा नभएको प्राधिकरणले जानकारी दिएको छ ।