बाठाहरुले घटेको बेला पनि नाफा कमाउन सक्छन्– पूर्व अर्थमन्त्री महत

नेपाल वित्तीय संस्था कर्मचारी सङ्घको कार्यक्रममा बोल्दै उनले हल्लाको भरमा चलेको नेपाली सेयर बजारलाई दीर्घकालीन सोच र विचारका आधारमा लगानी गर्न भन्दै व्यङ्ग्य गरे ।

पूर्व अर्थमन्त्री तथा नेपाली काङ्ग्रेसका नेता रामशरण महतले घट्दो सेयर बजारलाई व्यङ्ग्य हान्दै आफ्नो एक भाषणले बजारमा ठूलो हलचल ल्याएको बताएका छन् । महतले आफूले लगानीकर्तालाई सेयर किन्ने मौका यही हो किन्नुस् भनेको अर्को दिन बजारमा हलचल आएको बताएका हुन् ।

नेपाल वित्तीय संस्था कर्मचारी सङ्घको कार्यक्रममा बोल्दै उनले हल्लाको भरमा चलेको नेपाली सेयर बजारलाई दीर्घकालीन सोच र विचारका आधारमा लगानी गर्न भन्दै व्यङ्ग्य गरे ।

महतका अनुसार नेपाल इन्भेस्टर्स फोरमको कार्यक्रममा आफूले दिएको सेयर बजारमैत्री एक भाषणले पूरै बजारलाई ठूलो प्रभाव पारेको बताए । तर, अर्थमन्त्री डा. युवराज खतिवडाले सेयर बजारलाई अनुत्पादक भनेकोमा दुख व्यक्त गर्दै उनले भने, ‘सेयर बजार अनुत्पादक नभई उत्पादक क्षेत्र हो, यसलाई अर्थमन्त्रीले कसरी अनुत्पादक देख्नुभयो ?’

महतका अनुसार सेयर बजारमा गरेको लगानी बैङ्कमा पैसा सङ्कलन गरेजस्तै भएको भन्दै उनले भने, ‘तर सेयरमा गरिएको लगानीमा बढी जोखिम हुन्छ त्यसकारण कमाइ पनि बढी हुने गर्छ ।’ पछिल्लो समय सरकारले सेयर बजारमा लगाउने भनेको करको विरोध गर्दै उनले लगानीकर्तालाई कर लगाएमा देशको अर्थतन्त्र धरासायी हुने बताए ।

यस्तै महतले सेयर बजारमा बाठाहरुले सूचक घटेको समयमा पनि नाफा कमाउन सक्ने बताउँदै बजार घटेको बेला किन्ने र बढेको बेला बेच्ने गर्न अनुरोध गरे । तर, यस प्रकारको काम व्यक्तिगत सेयर लगानीकर्ताले गर्न असम्भव भएकाले सामूहिक लगानीकर्ताले मात्र गर्न सक्ने बताए ।

पूर्वअर्थमन्त्री महतले रोजगारीका विषयमा बोल्दै देशमा हाल १० देखि १५ लाख विदेशी कामदारले काम गरिरहेको बताउँदै उनले सिकर्मी, डकर्मी वा बिजुलीको काममा भारतीय नागरिक नेपालमा आएको बताए ।

नेपाली युवाको विदेश मोहलाई व्यङ्ग्यात्मक शैलीमा उनले नेपालमा कृषिको काम गर्न लजाउने नेपालीले विदेशमा भाँडा माझ्न हुने ? भनेका छन् ।