जुम्लामा लगानी सम्मेलन हुदै

आगामी भदौ २९ गते चन्दननाथ नगरपालिकास्थित कर्णाली प्राविधिक शिक्षालयमा लगानी सम्मेलन आयोजना गर्न लागिएको मेयर कान्तिका सेजुवालले बताइन् ।

कर्णाली प्रदेशको जुम्लामा लगानी सम्मेलन हुने भएको छ । केन्द्रको अधिकार विकेन्द्रिकृत भएसँगै स्थानीय सरकारले पनि लगानी जुटाउने पहल सुरु गरेको हो । जुम्लाको चन्दननाथ नगरपालिकाले लगानी भित्राउनका लागि पहिलोपटक लगानी प्रवद्र्धन सम्मेलन आयोजना गर्ने भएको छ ।

आगामी भदौ २९ गते चन्दननाथ नगरपालिकास्थित कर्णाली प्राविधिक शिक्षालयमा लगानी सम्मेलन आयोजना गर्न लागिएको मेयर कान्तिका सेजुवालले बताइन् । आइतबार राजधानीमा पत्रकार भेटघाट कार्यक्रमको आयोजना गरी सेजुवालले स्थानीय विकास सामथ्र्य उजागर गर्ने उद्देश्यसाथ सम्मेलन आयोजना गरिएको बताइन् । भौतिक विकास र मानव विकासका दृष्टिले पिछडिएको कर्णालीका जनतालाई विकासका समान अवसर ल्याउन प्रयत्न गरेको बताइन् । ‘समग्र कर्णाली प्रदेशको विकास र अग्रगमनको लक्ष्य लिएको छ,’ उनले भनिन्, ‘ कृषि, पर्यटन तथा गैर वन पैदावार (जडिबुटी) का सम्भावना उजागर गरिनेछ ।’

सम्मेलनमा अर्थमन्त्री डा. युवराज खतिवडा, राष्ट्रिय योजना आयोगका उपाध्यक्ष डा. पुष्प कँडेल, सदस्य मीनबहादुर शाही पनि सहभागी हुने आयोजकले जनाएका छन् । लगानी प्रवद्र्धन सम्मेलनमा उद्योगी व्यवसायी, नेपाल स्थित कुटनीतिक नियोग तथा दातृ निकायका प्रतिनिधि, बैंक तथा वित्तिय संस्थाका प्रतिनिधिलाई आमन्त्रण गरिएको छ । सम्मेलनमा जुम्लामा लगानीको अवसरको बारेमा विज्ञले कार्यपत्र प्रस्तुत गर्नेछन् ।