बजारमा किन सुन अभाव ? विभिन्न जिल्लाका सुन पसल धमाधम बन्द

हिन्दु महिलाको चाड हरितालिका नजिकिँदै जाँदा मागको आधारमा सुनको आपूर्ति नभएपछि राजधानी लगायत मुलुकका विभिन्न जिल्लामा सुन अभाव भएको छ । सुन नपाएपछि रुपन्देही, पाल्पा, अर्घाखाँची, पोखरा लगायत जिल्लाका सुन व्यापारीले पसल नै बन्द गरेका छन् ।

मागको आधारमा सुन खरिद गर्न नपाएर ग्राहकलाई रित्तै फर्काउनु परेपछि चितवनका सुन व्यवसायीले चार दिनदेखि सुन पसल बन्द गरेका छन् । बैंकबाट पर्याप्त सुन नपाएपछि आन्दोलन स्वरुप नेपाल सुनचाँदी व्यवसायी संघ चितवनको आह्वानमा पसल बन्द गरेर आन्दोलनमा उत्रिएका हुन् ।

चितवनमा देखिएको यो समस्या देशभर फैलिएको छ । हिन्दु महिलाको चाड हरितालिका नजिकिँदै जाँदा मागको आधारमा सुनको आपूर्ति नभएपछि राजधानी लगायत मुलुकका विभिन्न जिल्लामा सुन अभाव भएको छ । सुन नपाएपछि रुपन्देही, पाल्पा, अर्घाखाँची, पोखरा लगायत जिल्लाका सुन व्यापारीले पसल नै बन्द गरेका छन् ।

मागको आधारमा सुन नपाएपछि देशभरको सुन व्यवसाय चौपट भएको नेपाल सुनचाँदी व्यवसायी महासंघका पूर्वअध्यक्ष तेजरत्न शाक्यले बताए । शाक्यका अनुसार विभिन्न जिल्लाका सुन व्यवसायी पसल बन्द गर्न बाध्य भएका छन् । ‘प्रदेश नं ५का अधिकांश सुन पसल बन्द छन्,’ शाक्यले भने, ‘प्रदेश ४को पोखरामा पनि शनिवारदेखि बन्द भए ।’

बजारमा दैनिक करिब २० किलो सुन अभाब भएको शाक्यले बताए । ‘अहिले ४० किलोबढी सुनको माग छ,’ शाक्यले भने, ‘बैंकबाट २० किलोमात्र सुन बजारमा जान्छ ।’ सुनको अभाब सुल्झाउनको लागि उद्योग वाणिज्य तथा आपूर्ति मन्त्री मातृका यादवको ध्यानाकर्षण गराउने तयारी गरेको शाक्यले बताए । ‘सुनको चरम अभाब भएपछि सरकारको ध्यानाकर्षण गराउन आज मन्त्रीलाई भेट्ने कार्यक्रम छ,’ उनले भने । आइतबार सुन तोलाको ५६ हजार ६ सय रुपैयाँ रहेको छ ।

२२ वटा वाणिज्य बैंकलाई नेपाल राष्ट्र बैंकले सुन आयात गरेर बजारमा बिक्री गर्न अनुमति दिएको छ । ती बैंकले बजारमा दैनिक बिक्री गर्ने २० किलो सुनले बजारको माग धान्न सकेको छैन । मुलुकमा वार्षिक ५० अर्ब रुपैयाँको सुन कारोबार हुन्छ । आर्थिक वर्ष ०७४÷७५मासात हजार दुई सय ६० किलो सुन बैंकिङ प्रणालीबाट आयात भएको थियो ।

मागको आधारमा सुन बजारमा उपलब्ध नभएपछि कालोबजारीमा सुन किनबेच हुन थालेको भन्दै व्यवसायी चिन्तित भएका छन् । प्रतितोला दुई हजारदेखि तीन हजार रुपैयाँसम्म बढी रकम तिरेर व्यापारीले किनिरहेका छन् ।

सुनको मूल्य सस्तो भएकाले पनि बजारमा पूरानो सुन बिक्री भएको छैन । सरदर करिब दैनिक पाँच किलो पूरानो सुन बजारमा आउने गरेको भए पनि अहिले त्यसमा पनि कमी आएको व्यापारी बताउँछन् । सुन खरिद गर्नको लागि विभिन्न जिल्लाबाट काठमाडौं आएका व्यापारीले सुन पाएका छैनन् । केही रित्तो हात फर्किएका छन् । सरकारले अबैध रुपमा सुन आयातमा कडाई गरेपछि पनि सुन अभाब हुन थालेको छ । गैर कानुनी रुपमा सुन आयातमा कमी आएकाले त्यसको असर बजारमा परेको छ ।