इन्डो–नेपाल रेमिट्यान्स सेवा सुरु

काठमाडौँ । आईएमई लिमिटेड र वाइजम्यान इम्पेक्स सर्भिस इन्टरप्राइजेजले संयुक्त रुपमा इन्डो–नेपाल रेमिट्यान्स सेवा प्रारम्भ गरेका छन् । सम्झौताअनुसार भारतमा रहेका हरेक नेपालीले वाइजम्यानका दुई सय शाखासहित १४ हजारभन्दा बढी एजेन्टमार्फत नेपालमा पैसा पठाउन सक्नेछन् । यसरी पठाइएको रकम नेपालस्थित आईएमईका ६ हजारभन्दा बढी एजेन्ट आउटलेटबाट भुक्तानी लिन सकिनेछ ।

यी दुईबीचको रेमिटेन्स सेवाका लागि नेपालस्थित ग्लोबल आईएमई बैङ्क लिमिटेड र भारतस्थित आरबीएल बैङ्कले सहजीकरण गर्ने बैङ्कले जानकारी दिएको छ । कार्यक्रममा आईएमई ग्रुपका अध्यक्ष चन्द्रप्रसाद ढकालले ‘आईएमई र वाइजम्यानको सहकार्यपछि भारतमा रहँदै आएका लाखौँ नेपालीलाई सहजै नेपाल पैसा पठाउने ढोका खुला भएको बताए । नेपालको पहिलो र सबैभन्दा ठूलो रेमिट्यान्स कम्पनी आईएमई र विदेशी विनिमय बजारमा नेतृत्वदायी भूमिका निर्वाह गर्दै आएको वाइजम्यानबीचको सहकार्यले भारतबाट नेपालमा पैसा पठाउन सहज हुने बताउँदै ढकालले इन्डो–नेपाल रेमिट्यान्स सेवामा सम्झौताले थप विविधता ल्याउने विश्वास व्यक्त गरे ।

भारतमा आयोजित सम्झौता कार्यक्रमलाई वाइजम्यानका व्यापार प्रवद्र्धन प्रमुख सन्दीप शर्माले ‘वाइजम्यानले विश्वमा छरिएर रहेका दुई करोड ५० लाख नागरिकले पठाएको रकम भारतमा रहेका तिनका आफन्तलाई सहज तरिकाले वितरण गर्दै आएको बताए । रेमिट्यान्स कम्पनी आईएमईसँगको सम्झौतापछि भारतका करिब ५० लाख नेपालीले नेपालमा रहेका आफ्ना आफन्तलाई भुक्तान गर्न सहज हुने विश्वास व्यक्त गरे ।
आईएमई र वाइजम्यानले भुक्तानीको पछिल्लो प्रविधि प्रयोग गरी रेमिट्यान्स सेवा दिन सफल हुने आरबीएल बैङ्कका सूचना प्रविधि प्रमुख सुजथा मोहनको भनाइ छ । भारतमा रहँदै आएका नेपाली र नेपालमा रहेका तिनका आफन्तलाई छिटो, सरल र सुरक्षित किसिमले रेमिट्यान्स सेवा लिन÷दिन यो सम्झौता महत्त्वपूर्ण हुने विश्वास व्यक्त गरेका छन् ।