मुलुकमा जारी ऊर्जा सङ्कटलाई समाधान गर्ने लक्ष्यका साथ तोकिएको समयभन्दा अगावै सम्पन्न हुन लागेको हो ।
आठ मेगावाट क्षमताको अप्पर नौगाड जलविद्युत् आयोजनाको निर्माण कार्य अन्तिम चरणमा पुगेको छ । यो आयोजना अपी पावर कम्पनीको हो ।
दार्चुला जिल्लामा आयोजनास्थल रहेको उक्त परियोजनाको भौतिक निर्माण कार्य सकिएकाले आगामी चैतदेखि विद्युत् उत्पादन शुरु गर्ने लक्ष्य राखिएको कम्पनीका प्रमुख सञ्जीव न्यौपानेले बताए । न्यौपानेका अनुसार मुलुकमा जारी ऊर्जा सङ्कटलाई समाधान गर्ने लक्ष्यका साथ तोकिएको समयभन्दा अगावै सम्पन्न हुन लागेको हो ।
कम्पनीको यो दोस्रो आयोजना हो । यसअघि कम्पनीले १७ महिनाको छोटो अवधिमा नै ८.५ मेगावाट क्षमताको नौगाड जलविद्युत् आयोजना सम्पन्न गरी सञ्चालनमा ल्याइसकेको छ । कम्पनीले कूल १८ मेगावाट क्षमताको सौर्य ऊर्जा उत्पादन प्रणालीसमेत जडान गर्ने तयारी गरेको छ । कम्पनीले ४० मेगावाट क्षमताको माथिल्लो चमेलियाको निर्माणको तयारी थालेको छ ।
जिल्लामै नेपाल विद्युत् प्राधिकरणले निर्माण गरेको चमेलिया जलविद्युत् आयोजनाको उत्पादनमा अप्पर नौगाडको समेत विद्युत् थप भएपछि सुदूर र मध्यपश्चिममा विद्युत् आपूर्ति सहज हुने विश्वास लिइएको छ ।