बिम्स्टेकको चौथो सम्मेलन : मन्त्रीस्तरीय बैठक सुरु

बैठकमा बङ्गलादेशका विदेशमन्त्री अबुल हसन महमूद अली, भारतका बाह्य मामिला राज्यमन्त्री भीके सिंह, म्यान्मारका अन्तर्राष्ट्रिय सहयोगसम्बन्धी सङ्घीय मन्त्री क्याव तिन, श्रीलङ्काका राज्यमन्त्री बसन्ता सेनानायके, थाइल्यान्डका विदेशमन्त्री दोन प्रमुदविनय सहभागी छन् ।

बहुपक्षीय प्राविधिक तथा आर्थिक सहयोगका लागि बङ्गालको खाडीको प्रयास (बिम्स्टेक)को चौथो शिखर सम्मेलनको मन्त्रीस्तरीय बैठक सुरु भएको छ । मन्त्रीस्तरीय बैठकको अध्यक्षता नेपालले आजै हस्तान्तरण गर्नेछ ।

बैठकमा बङ्गलादेशका विदेशमन्त्री अबुल हसन महमूद अली, भारतका बाह्य मामिला राज्यमन्त्री भीके सिंह, म्यान्मारका अन्तर्राष्ट्रिय सहयोगसम्बन्धी सङ्घीय मन्त्री क्याव तिन, श्रीलङ्काका राज्यमन्त्री बसन्ता सेनानायके, थाइल्यान्डका विदेशमन्त्री दोन प्रमुदविनय सहभागी छन् । त्यसैगरी भूटानका विदेश सचिव सोनाम छोङले आफ्नो मुलुकको प्रतिनिधित्व गर्नेछन् ।

काठमाडौंको सोल्टी होटलमा सुरु भएको बैठकमा मङ्गलबार बसेको सदस्य राष्ट्रका विदेश सचिवको बैठकले अन्तिम रुप दिएको समझदारी पत्रलाई छलफलपछि विदेशमन्त्रीस्तरीय बैठकले अनुमोदन गर्नेछ । यस्तै मन्त्रीस्तरीय बैठकमा विद्युत् लाइन प्रसारणको अन्तरदेशीय मार्ग बिम्स्टेक ग्रिड इन्टरकनेक्सनको समझदारीपत्रमा हस्ताक्षर हुनेछ । परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीको अध्यक्षतामा हुने आजको बैठकमा सदस्य देशका परराष्ट्र र बाह्य मामिला र विदेशमन्त्रीले सम्बोधन गर्नेछन् ।

क्षेत्रीय लगानी, व्यापार, पारवहन तथा सञ्चार, प्रविधि, प्रतिआतङ्कवाद तथा अन्तरदेशीय अपराध, कृषि, गरिबी निवारण र जनस्वास्थ्य गरी १४ मध्ये ७ विषयलाई प्राथमिकतामा राखेर छलफल अगाडि बढाइएको छ ।