निजी क्षेत्रबिना दोहोरो अङ्कको आर्थिक वृद्धि असम्भवः अर्थमन्त्री खतिवडा

अर्थमन्त्री खतिवडाले लगानी बोर्डको संरचना परिवर्तनको बाटोमा रहेको बताउँदै भने, ‘सरकार आफैँ लगानीकर्ता होइन, न त सरकारले लगानीकर्ता खोज्दै दौडधुप गर्छ ।’ त्यसमा निजी क्षेत्रको सहयोग अपेक्षा गरिएको डा. खतिवडाले बताए ।

अर्थमन्त्री डा. युवराज खतिवडाले सरकारले लिएको दोहोरो अङ्कको आर्थिक वृद्धिको लक्ष्य निजी क्षेत्रबिना असम्भव रहेको बताएका छन् । निजी क्षेत्रले दुई तिहाइ लगानी गर्ने भएकाले निजी क्षेत्रबिना आर्थिक वृद्धिको सम्भावना नरहेको बताएका हुन् ।

आर्थिक पत्रकार समाज (सेजन)को १९औं वार्षिक साधारण सभामा सम्बोधन गर्दै उनले देशमा स्थायी सरकार बनिसकेकाले निजी क्षेत्रले गरेको लगानी सुरक्षित हुने बताए । अर्थमन्त्री खतिवडाले लगानी बोर्डको संरचना परिवर्तनको बाटोमा रहेको बताउँदै भने, ‘सरकार आफैँ लगानीकर्ता होइन, न त सरकारले लगानीकर्ता खोज्दै दौडधुप गर्छ ।’ त्यसमा निजी क्षेत्रको सहयोग अपेक्षा गरिएको डा. खतिवडाले बताए ।

देशको आर्थिक प्रगतिको बाटोमा निजी क्षेत्रलाई दुई तिहाइ लगानी गर्न आग्रह गर्दै उनले सरकार निजी क्षेत्रको साथमा रहेको बताए । सरकार र निजी क्षेत्रबीच रहेका समस्या समाधान गर्न सरकार तयार रहेको बताउँदै खतिवडाले ‘राम्रो कामको थालनी गर्दा कहिलेकाहीँ आलोचना हुने, तर त्यसले समग्र देशलाई दीर्घकालीन फाइदा पुग्ने बताए ।

बजेट कार्यान्वयन भएको करिब ६ हप्ता पनि पूरा नभएको अवस्थामा सङ्घीय व्यवस्थालाई असफल भनिहाल्न नमिल्ने बताए । दोहोरो करको झन्झटलाई सरकारले नियाली रहेकाले त्यस सम्बन्धमा आवश्यक नीति नियम बनिरहेको बताए ।

एक दुई ओटा सूचक खतरामा रहेपनि समग्र अर्थतन्त्र खतरामा नरहेको बताउँदै उनले बजेट अनुशासनमा नभएका बेला आफूले अनुशासनमा ल्याउने प्रयास गरिरहेको बताएका छन् ।