मुलुकको आर्थिक स्थितिमा सुधार भएको छ : राष्ट्र बैङ्क

पछिल्लो समय सिमेन्ट, आल्मोनियम बार, कोल्डरोड रोड सिट इन क्वाइल, एमएस विलेट तथा रड जस्ता निर्माण सामग्रीहरुको आयातमा वृद्धि हुनुले पनि तीव्र निर्माण कार्य अघि बढेको देखिन्छ ।

नेपाल राष्ट्र बैङ्कले मुलुकको समग्र आर्थिक स्थितिमा सुधार भएको दाबी गरेको छ । चालू आर्थिक वर्षको ४ महिनाको ‘देशको वर्तमान आर्थिक तथा वित्तीय स्थिति’ सार्वजनिक गर्दै आर्थिक स्थितिमा सुधार भएको सङ्केत गरेको हो ।

केन्द्रीय बैङ्कले आर्थिक अवस्थामा सुधार आउनुमा तीनओटा कारण दिएको छ र त्यसमा निर्माण कार्यमा तीव्रता, औद्योगिक उत्पादन र पर्यटन क्षेत्रको सुधारलाई लिएको छ । राष्ट्र बैङ्कले चालू वर्षमा निर्माणको कामले गति लिएको बताएको छ । व्यक्तिगत घर, होटल तथा जलविद्युत् परियोजनाहरुको निर्माण बढ्दो क्रममा रहेको जनाएको छ । “पछिल्लो समय सिमेन्ट, आल्मोनियम बार, कोल्डरोड रोड सिट इन क्वाइल, एमएस विलेट तथा रड जस्ता निर्माण सामग्रीहरुको आयातमा वृद्धि हुनुले पनि तीव्र निर्माण कार्य अघि बढेको देखिन्छ” केन्द्रिय बैङ्कले भनेको छ ।

केन्द्रिय बैङ्कले आर्थिक अवस्था सुधार हुनुमा औद्योगिक उत्पादनको क्षेत्रमा क्रमिक सुधार भएको आधारलाई लिएको छ । केन्द्रिय बैङ्कले औद्योगिक प्रतिष्ठानहरुको उपयोग क्षमता बढेको, बैङ्क तथा वित्तीय संस्थाहरुले प्रवाह गर्ने औद्योगिक कर्जा विस्तार भएको र औद्योगिक कच्चा पदार्थहरुको आयात बढेको दाबी गरेको छ । औद्योगिक क्षेत्रतर्फ सिमेन्ट, फलाम तथा स्टिल, जस्तापाता तथा तार जस्ता उद्योगहरुको उत्पादन उत्साहप्रद रहेको राष्ट्र बैङ्कले दाबी गरेको छ । राष्ट्र बैङ्कले केही समयअघि ५७ जिल्लालाई समेटेर आर्थिक वर्ष २०७३÷७४ को आर्थिक गतिविधि अध्ययन सार्वजनिक गरेको थियो । राष्ट्र बैङ्कले प्रदेशसभा एवं प्रतिनिधिसभाको निर्वाचन सफलतापूर्वक सम्पन्न भइसकेकाले आगामी दिनमा सरकारी खर्च बृद्धि हुने अपेक्षा लिएको छ । स्थानीय, प्रदेश र केन्द्र तीन तहमा निर्वाचित जनप्रतिनिधि हुँदा त्यसले विकास अझ सकारात्मक फड्को मार्न सक्छ । आगामी दिनमा हुने सरकारी खर्च बृद्धिले हाल वित्तीय क्षेत्रमा देखिएको तरलता (लगानीयोग्य रकम) अभावको समस्या सहज हुने विश्वास लिएको छ । २०७४ कात्तिकमा कर्जा प्रवाह १७.५ प्रतिशत र निक्षेप परिचालन १४.९ प्रतिशतले वृद्धि भएको तथ्याङ्क केन्द्रीय बैङ्कले दिएको छ ।

केन्द्रीय बैङ्कले पर्यटन क्षेत्रमा पनि सुधारको सङ्केत देखिएको भन्दै त्यसलाई पनि आर्थिक अवस्थामा सुधार भएको आधार लिएको छ । पर्यटक आगमनसँगै होटलहरुको अकुपेन्सीदरमा वृद्धि, होटल निर्माणले गति लिएको राष्ट्र बैङ्कले उल्लेख गरेको छ ।

निर्वाचनकै कारण असोजको तुलनामा कात्तिकमा मूल्य वृद्धि केही बढेको छ । राष्ट्र बैङ्कका अनुसार कात्तिकमा उपभोक्ता मुद्रास्फिति ३.९ प्रतिशत मूल्य वृद्धिदर रहेको छ । यस्तो मूल्य वृद्धि असोजमा ३.१ प्रतिशत थियो भने गत वर्ष कात्तिकमा ४.८ प्रतिशत थियो । कात्तिकमा खाद्य मुद्रास्फिति २.३ प्रतिशत छ भने गैरखाद्य मुद्रास्फिति ५.१ प्रतिशत छ ।