बिहीबार अध्यक्ष राष्ट्रको हैसियतमा बिम्स्टेकको चौथो शिखर सम्मेलन उद्घाटन गर्दै प्रधानमन्त्री ओलीले बिम्स्टेकले महत्त्वपूर्ण भूमिका खेल्ने बताएका हुन् ।
प्रधानमन्त्री केपी शर्मा ओलीले एसियालाई आर्थिक रुपान्तरण गर्न बहुपक्षीय प्राविधिक तथा आर्थिक सहयोगका लागि बङ्गालको खाडीको प्रयास (बिम्स्टेक) ले महत्त्वपूर्ण भूमिका खेल्ने बताएका छन् । बिहीबार अध्यक्ष राष्ट्रको हैसियतमा बिम्स्टेकको चौथो शिखर सम्मेलन उद्घाटन गर्दै प्रधानमन्त्री ओलीले बिम्स्टेकले महत्त्वपूर्ण भूमिका खेल्ने बताएका हुन् ।
दुई दिनसम्म चल्ने सम्मेलनले चौथो शिखर सम्मेलनका एजेन्डाहरुलाई स्वीकार गरेको पनि उनले बताए । यो क्षेत्रको गरिबी निवारणमा बिम्स्टेकलाई उपयोग गर्न सकिने प्रधानमन्त्री ओलीको भनाइ छ । विश्वको कुल जनसङ्ख्याको करिब २२ प्रतिशत हिस्सा बिम्स्टेकका राष्ट्रहरुले ओगट्छन् । त्यसैले पनि यो सम्मेलनलाई विश्वभरिका समुदायले निकै चासोका साथ हेरेका छन् ।
आफ्नो सम्बोधनमा २० मिनेटभन्दा बढी समय खर्चिएका ओलीले ‘बुद्ध र सगरमाथाको देशमा, शान्ति र समृद्धिको देशमा सदस्य मुलुकका कार्यकारी प्रमुखहरुलाई स्वागत गर्दछु’ भनेका थिए । दक्षिण एसियाली क्षेत्रीय सहयोग सङ्गठन (सार्क)को विकल्पमा बिक्स्टेक आएको नभई दुवै संस्था एकअर्काका परिपूरकका रुपमा रहने र दुवै संस्थाले एकअर्कोलाई सहयोग गर्ने बताउँदै प्रधानमन्त्री ओलीले बिम्स्टेकले दक्षिण एसियालाई दक्षिणपूर्वी एसिया र हिमालय सागरसँग जोड्न सेतुको काम गर्ने बताए । उनले विविधतामा आधारित भएर उन्नतिका लागि सबै जना र क्षेत्र एकजुट भएर भाइचाराको हिसाबले अघि बढ्नुपर्नेमा जोड दिए ।
नेपालसहित सात सदस्य रहेको बिम्स्टेकको चौथो सम्मेलनमा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी, बङ्गलादेशकी प्रधानमन्त्री शेख हसिना वाजेद, थाइल्यान्डका प्रधानमन्त्री चा ओन चा, श्रीलङ्काका राष्ट्रपति मैत्रिपाल सिरिसेना र भूटानका अन्तरिम सरकारका प्रमुख सल्लाहकार एवम् प्रधानन्यायाधीश दसो छिरिङ वाङचुक सहभागी छन् । सदस्य मुलुकका राष्ट्र र सरकार प्रमुखले वर्णानुक्रमअनुसार सम्बोधन गर्ने क्रम जारी छ ।
उद्घाटन सत्र सकिएपछि प्रधानमन्त्री ओलीले आगन्तुकहरुको स्वागतार्थ रात्रिभोज आयोजना गर्नेछन् । भोलि शुक्रबार बिम्स्टेक सम्मेलनका क्रममा भएका सहमतिहरुलाई एकीकृत गरस् काठमाडौं घोषणापत्र जारी गरी सम्मेलनको समापन गरिनेछ भने भोलि अधिकांश राष्ट्र तथा सरकार प्रमुखहरु आआफ्ना मुलुक फर्कनेछन् ।