व्यक्तिगत निक्षेप गत वर्षको ४ महिनाभन्दा चालू वर्षको ४ महिनामा घटेको छ । गत वर्षको तुलनामा झन्डै १८ अर्ब रूपैयाँ व्यक्तिगत निक्षेप सङ्कलनमा कमी आएको छ ।
नेपाल राष्ट्र बैङ्कले चालू आर्थिक वर्षको कात्तिकसम्म बैङ्क तथा वित्तीय संस्थाहरूको निक्षेप ४.७ प्रतिशतले बढेको उल्लेख गरेको छ । निक्षेप सङ्कलनको वृद्धि अघिल्लो वर्षको यसै अवधिभन्दा केही बढी हो । अघिल्लो वर्ष कात्तिकसम्म वित्तीय संस्थाहरूमा निक्षेप ३.९ प्रतिशतले बढेको थियो । केन्द्रीय बैङ्कले देशको वर्तमान आर्थिक तथा वित्तीय स्थिति सार्वजनिक गर्दै वित्तीय संस्थाहरूको वार्षिक बिन्दुगत आधारमा २०७४ कात्तिकमा निक्षेप १४.९ प्रतिशतले बढेको उल्लेख गरेको छ ।
बैङ्क तथा वित्तीय संस्थाहरूमा निक्षेप बढ्ने क्रम निरन्तर छ र स्वाभाविक प्रक्रिया पनि हो । निक्षेप नबढेको अवस्थामा वित्तीय संस्थाको लगानी प्रभावित हुन्छ । निक्षेप बढेसँगै वित्तीय संस्थाहरूले ऋण लगानी बढाउन पाउँछन् । तर, यस्तो निक्षेप कहाँबाट बढेको छ ? त्यो निक्षेप कति दीर्घकालीन हो भन्ने कुराले लगानी प्रभावित हुन्छ । अल्पकालीन निक्षेपमा दीर्घकालीन लगानी सम्भव हुँदैन । किनभने बैङ्क तथा वित्तीय संस्थाले गर्ने ऋण लगानी दीर्घकालीन हुन्छ । पछिल्लो समय निक्षेप नबढेका कारण लगानी गर्न नसकिएको र निक्षेप बढाउनका लागि ब्याजदर बढाउने होड पनि उत्तिकै छ । वित्तीय संस्थाहरूले ब्याजदर बढाएर निक्षेप बढाउने योजना अघि सारे पनि एउटै निक्षेप घुम्ने गरेको त होइन भन्ने आशङ्काहरू पनि देखिएका छन् ।
व्यक्तिगत निक्षेप भने गत वर्षको ४ महिनाभन्दा चालू वर्षको ४ महिनामा घटेको छ । बैङ्क तथा वित्तीय संस्थाले २०७३ साउनदेखि कात्तिकसम्म ६९ अर्ब ९१ करोड ९९ लाख निक्षेप सङ्कलन गरेकोमा २०७४ साउनदेखि कात्तिकसम्म ५१ अर्ब ८२ करोड ७८ लाख रुपैयाँ मात्रै सङ्कलन भएको छ । यसरी हेर्दा गत वर्षको तुलनामा झन्डै १८ अर्व रुपैयाँ व्यक्तिगत निक्षेप सङ्कलनमा कमी आएको छ ।
व्यक्तिगत निक्षेप घट्नु भनेकाे व्यक्तिहरूकाे अाम्दानी घटेकाे रूपमा पनि लिन सकिन्छ । अर्काेतिर बैङ्कप्रति व्यक्तिहरूकाे रूची कम भएकाे पनि हुन सक्छ । बैङ्कहरूले ब्याजदर बढाइरहे पनि व्यक्तिगत निक्षेपमा कमी अाउनुले उनीहरूकाे लगानी अन्यत्र कतै गइरहेकाे छ कि भन्ने सङ्केत दिन्छ ।
राष्ट्र बैङ्कले सार्वजनिक गरेको तथ्याङ्कअनुसार कात्तिकसम्म यस अवधिमा बढेको निक्षेपमा वैदेशिक निक्षेपको हिस्सा अधिक छ । चालू वर्षको ४ महिनामा वैदेशिक निक्षेप मात्रै १६ अर्ब ३७ करोड ८ लाख रुपैयाँ थपिएको छ । वैदेशिक निक्षेप वृद्धि असारको तुलनामा १८.१ प्रतिशत छ । जब कि कुल निक्षेप वृद्धि ४.७ प्रतिशत मात्रै छ । वैदेशिक निक्षेपमा अघिल्लो वर्षको ४ महिनामा ०.५ प्रतिशतको कमी आएको थियो । वैदेशिक निक्षेप वित्तीय संस्थाको पुँजी कर्जा निक्षेप अनुपात कायम गर्न उपयोग भए पनि आन्तरिक रुपमा लगानीयोग्य हुँदैन ।
त्यसैगरी विगतमा न्यून रहने स्थानीय सरकार (गाउँपालिका÷नगरपालिका)को निक्षेप वृद्धि ह्वात्तै बढेको छ । स्थानीय तहको निक्षेप वृद्धि २५०.२ प्रतिशतले बढेको हो । अघिल्लो वर्ष स्थानीय तहको निक्षेपमा २.५ प्रतिशतले गिरावट आएको थियो । कात्तिकसम्म स्थानीय तहले ४ अर्ब १० करोड ५९ लाख रुपैयाँ निक्षेप वित्तीय संस्थामा राखेका छन् । चालू वर्षको बजेटमार्फत सरकारले स्थानीय तहलाई दिईने अनुदानमध्ये पहिलो किस्ता साउन १ मै स्थानीय तहको खातामा राखेको थियो । स्थानीय तहको नाममा भएको निक्षेप दीर्घकालीन प्रकृतिको हुँदैन ।
चालू वर्षको ४ महिनामा समग्रमा बैङ्क तथा वित्तीय संस्था बाहेकका गैरबैङ्क तथा वित्तीय संस्थाबाट ६.५ प्रतिशतको वृद्धि देखिएको छ । त्यसमा पनि बिमा कम्पनीहरूको सबैभन्दा बढी हिस्सा छ । बिमा कम्पनीहरूले यसबीचमा १४ अर्ब ३९ करोड ४९ लाख रुपैयाँ वित्तीय संस्थामा निक्षेप गरेका छन् । बिमा कम्पनीले अघिल्लो वर्षको तुलनामा १०.२ प्रतिशतले आफ्नो निक्षेप बढाएका छन् । यसको अर्थ बिमा कम्पनीहरूको व्यावसायमा पनि वृद्धि भएको छ भन्ने देखाउँछ ।
चालू वर्षको साउनदेखि कात्तिकसम्म १ खर्ब ११ अर्ब ४ करोड ४० लाख रुपैयाँ निक्षेप बढेको छ । यो निक्षेप जम्मा ४.७ प्रतिशतको मात्र वृद्धि हो । गत असारमा कुल निक्षेप २३ खर्ब ७५ अर्ब १० करोड ६७ लाख कात्तिकमा आइपुग्दा २४ खर्ब ८६ अर्ब १५ करोड ७ लाख रुपैयाँ पुगेको छ । गतवर्ष यस्तो निक्षेप २०७३ असारको तुलनामा तुलनामा ३.५ प्रतिशतले बढेर ७४ अर्ब ३९ करोड ५१ लाख रुपैयाँ पुगेको थियो । २०७३ असारमा २१ खर्ब ९ अर्ब ७ करोड ९ लाख रहेको निक्षेप २०७३ कात्तिकमा २१ खर्ब ८३ अर्ब ४६ करोड ६० लाख रुपैयाँ पुगेको थियो ।
कहाँबाट आएको छ निक्षेप ?