भारतीय बिमा कम्पनी लाइफ इन्स्योरेन्स कर्पोरेसनको ५५ प्रतिशत स्वामित्व रहेको कम्पनीले भारतमै पुनर्बिमा नगरी नेपालकै पुनर्बिमा कम्पनीलाई प्रवर्द्धन गर्न शतप्रतिशत जोखिम नेपाल पुनर्बिमा कम्पनीमै गरेको एलआईसीका निमित्त प्रमुख कार्यकारी अधिकृत अभिजितघोष दस्तिदारले जानकारी दिए ।
नेपालकै पुनर्बिमा कम्पनीमा छ ओटा बिमा कम्पनीले शतप्रतिशत पुनर्बिमा गर्न थालेका छन् । विगतमा मुलुकबाहिर पुनर्बिमा गर्दै आएका बिमा कम्पनीहरुले पछिल्लो समय मुलुकभित्रै नेपाल पुनर्बिमा कम्पनीसँग पुनर्बिमा गर्न थालेका हुन् । खासगरी जीवन बिमा कम्पनीहरुले नेपालमै सम्पूर्ण हिस्साको पुनर्बिमा गर्न थालेका हुन् । नयाँ तथा पुराना जीवन बिमा कम्पनीहरु नेपालमै पुनर्बिमा गर्न आकिर्षत भइरहेका छन् ।
आइतबार मात्रै लाइफ इन्स्योरेन्स कर्पोरेसन (एलआईसी) नेपालले शतप्रतिशत पुनर्बिमा गर्न नेपाल पुनर्बिमा कम्पनीसँग सम्झौता गरेको छ । यसअघि नै सरकारी स्वामित्वको राष्ट्रिय बिमा संस्थानसहित सूर्या लाइफ, गुराँस लाइफ, सानिमा लाइफ र आइएमई लाइफ इन्स्यारेन्स कम्पनीले शतप्रतिशत पुनर्बिमा गर्न कम्पनीसँग सम्झौता गरेका छन् ।
कम्पनीले जीवन बिमाको जोखिमका साथै महाविपत्तीतर्फको दुवै जोखिमको पुनर्बीमा गर्दै आएका छन् । भारतीय बिमा कम्पनी लाइफ इन्स्योरेन्स कर्पोरेसनको ५५ प्रतिशत स्वामित्व रहेको कम्पनीले भारतमै पुनर्बिमा नगरी नेपालकै पुनर्बिमा कम्पनीलाई प्रवर्द्धन गर्न शतप्रतिशत जोखिम नेपाल पुनर्बिमा कम्पनीमै गरेको एलआईसीका निमित्त प्रमुख कार्यकारी अधिकृत अभिजितघोष दस्तिदारले जानकारी दिए ।
पुनर्बिमा कम्पनीले पनि विश्वका २८ मुलुकका ५५ बिमा कम्पनी तथा पुनर्बिमा कम्पनीसँग पुनर्बिमा व्यवसाय गरी पुनर्बिमा शुल्क लिँदै आएको छ ।
विदेशी पुनर्बिमा कम्पनीमा पुनर्बिमामा झन्झिटिलो प्रक्रिया र दाबी भुक्तानीमा पनि लाामो समय लाग्ने गरेका कारण कम्पनीहरु नेपालमै पुनर्बिमा गर्न आकिर्षत हुँदै आएका छन् । यद्यपि कतिपय कम्पनीले नेपालमा पुनर्बिमा गर्न आनाकानी गरेपछि सरकारले चालू वर्षको बजेटमा नै जोखिमको २० प्रतिशत नेपालमै पुनर्बिमा गर्नुपर्ने व्यवस्था ल्याएको थियो ।
पुनर्बिमा कम्पनीका प्रमुख कार्यकारी अधिकृत चिरायु भण्डारीले बिमा कम्पनीहरुले विदेशी पुनर्बिमा कम्पनीमा छुट्टाछुट्टै पुनर्बिमा गर्दा धेरै रकम बिदेसिने भएकाले. नेपाल पुनर्बिमामार्फत् जाँदा थोरै रकम मात्र विदेशिने बताए । यसरी नेपाली कम्पनीमार्फत् नै पुनर्बिमा गर्दा व्यापार घाटा कम गर्न सहयोग पुग्ने भण्डारीको बुझाइ छ । हाल १४ जीवन बिमा कम्पनी र २० निर्जीवन बिमा कम्पनी सञ्चालनमा छन् ।
सशस्त्र द्वन्द्वका बेला हुलदङ्गा आतङ्कबादसम्बन्धी जोखिम विदेशी पुनर्बिमा कम्पनीले नलिएपछि सबै निर्जीवन बिमा कम्पनीहरु सेयरधनी बनाएर आकस्मिक बिमा कोष खडा गरिएको थियो । त्यो कोषलाई २०७१ मा पुनर्बिमा कम्पनीमा रुपान्तरण गरी जीवन बिमा कम्पनी तथा निजी क्षेत्रलाई कम्पनीमा हिस्सा दिइएको थियो । कम्पनीको चुक्ता पुँजी १० अर्ब रुपैयाँ पुर्याउन एक अर्ब ६० करोड रुपैयाँबराबरको प्राथमिक सेयर निष्कासनको प्रक्रियामा छ । गत आर्थिक वर्ष चार अर्ब रुपैयाँको पुनर्बिमा शुल्क प्राप्त गरेको कम्पनीले चालू वर्ष सात अर्ब रुपैयाँ बिमाशुल्क उठाउने लक्ष्य लिएको छ ।