नेपालको आर्थिक वृद्धिको गुणस्तर सूचक झनै कमजोर

नागरिकको जीवनस्तरमा समेत सुधार नदेखिएको प्रतिवेदनमा उल्लेख छ । यस अवधिमा दक्षिण एसियाली क्षेत्रीय सहयोग सङ्गठन (सार्क) मुलुकहरुमध्ये भारत, भूटान र बङ्गलादेशको मात्रै आर्थिक वृद्धिको गुणस्तर मापक सूचकमा सुधार देखिएको छ ।

आर्थिक वृद्धिको गुणस्तर मापक सूचकमा नेपालको स्तर झनै कमजोर देखिएको छ । १५ वर्षअघिको तुलनामा ८ स्थान तल खस्किएको छ ।

साउथ एसिएन नेटवर्क अन इकोनोमिक मोडलिङ (सानेम)ले गरेको अध्ययनअनुसार सन् २००० को तुलनामा २०१५ सम्म आइपुग्दा नेपालको आर्थिक वृद्धिको गुणस्तर मापक सूचकमा थप गिरावट आएको छ । नागरिकको जीवनस्तरमा समेत सुधार नदेखिएको प्रतिवेदनमा उल्लेख छ । यस अवधिमा दक्षिण एसियाली क्षेत्रीय सहयोग सङ्गठन (सार्क) मुलुकहरुमध्ये भारत, भूटान र बङ्गलादेशको मात्रै आर्थिक वृद्धिको गुणस्तर मापक सूचकमा सुधार देखिएको छ ।

यो सूचकले कमजोर देखिएका मुलुकमा आर्थिक विकास दिगो रुपमा अघि बढ्न नसकेको देखाउँछ । बङ्गलादेशी अनलाइन दि डेली स्टारका अनुसार अर्थतन्त्रको आधार, अर्थतन्त्रको सबल पक्ष र सामाजिक विकासलाई केन्द्रमा राखेर अध्ययन गरिएको हो ।

सन् २००० मा १२३औं स्थानमा रहेको नेपाल २०१५ मा आइपुग्दा ८ स्थान तल झर्दै १३१औं स्थानमा झरेको छ । नेपाल गुणस्तरीय आर्थिक विकासको सूचकाङ्कमा सार्क मुलुकमध्ये अफगानिस्तानभन्दा अगाडि छ । विश्वका एक सय ५६ देशमा गरिएको अध्ययनअनुसार सार्क राष्ट्रमा श्रीलङ्का ५५ औं स्थानमा छ । १५ वर्षअघि भने श्रीलङ्का ४९ औँ स्थानमा थियो । २००० को तुलनामा २०१५ मा माल्दिभ्स पनि ६ स्थान तल झर्दै ८९ औँ स्थानमा झरेको छ ।

नेपालको दक्षिण छिमेकी भारत भने यस अघिको १२२ औं स्थानलाई सुधार गर्दै १०५ औँ स्थानमा चढेको छ । त्यस्तै बङ्गलादेशले पनि ६ स्थान सुधार गर्दै १०६ औँ स्थानमा छ । त्यसैगरी पाकिस्तान १०८औं तथा भूटान १२० औँ स्थानमा छ भने अफगानिस्तान २१ स्थान तल झरेर १५५ औँ स्थानमा पुगेको छ ।
सानेमका कार्यकारी निर्देशक एवम् ढाका विश्वविद्यालय, बङ्गलादेशका प्राध्यापक सेलिम रैहानका अनुसार प्रत्येक देशले आफ्नो आर्थिक वृद्धिलाई परिमाणात्मकबाट गुणात्मकतर्फ कसरी परिवर्तन गराएका छन् भन्ने आधारलाई लिएर अध्ययन गरिएको बताए । प्रतिव्यक्ति कुल गार्हस्थ्य उत्पादन, प्रतिव्यक्ति आय र आर्थिक सबलता, प्रतिव्यक्ति आयको वृद्धिमा देखिएको अस्थिरता, आर्थिक विविधीकरण तथा निर्यात क्षमतालाई अर्थतन्त्रको आधारका रुपमा चित्रित गरिएको छ ।

सूचकअनुसार सबैभन्दा राम्रो अवस्था स्विडेनको छ । स्विडेनले १०० पूर्णाङ्कमा ९३.०१ अङ्क पाएको थियो भने पुछारमा रहेको गिनी बिसाउले २१.१३ अङ्क मात्रै पाएको छ ।