अन्तर्राष्ट्रिय बजारमा डलरको माग बढेपछि नेपाली रुपैयाँ कमजोर साबित भएको हो । तथापि नेपाली रुपैयाँ आँफै कमजोर नभई भारतीय मुद्राका कारण कमजोर भएको हो । खासगरी भारतीय मुद्रासँग नेपाली रुपैयाँ स्थिर विनिमय दर कार्यान्वयनमा रहेकाले भारतीय मुद्राको मूल्य घटेको वा बढेको आधारमा नेपाली मुद्राको सटही दर कार्यान्वयनमा आउँछ ।
अन्तर्राष्ट्रिय मुद्रा बजारमा अहिले नेपाली रुपैयाँ सर्वाधिक कमजोर भएको छ । खासगरी भारतीय मुद्रामा आएको गिरावटको असर नेपाली मुद्र्रामा पनि परेको हो । मङ्गलबार एक अमेरिकी डलरको मूल्य ११४ रुपैयाँ २४ पैसा पुगेको छ । अन्तर्राष्ट्रिय बजारमा डलरको माग बढेपछि नेपाली रुपैयाँ कमजोर साबित भएको हो । तथापि नेपाली रुपैयाँ आँफै कमजोर नभई भारतीय मुद्राका कारण कमजोर भएको हो । खासगरी भारतीय मुद्रासँग नेपाली रुपैयाँ स्थिर विनिमय दर कार्यान्वयनमा रहेकाले भारतीय मुद्राको मूल्य घटेको वा बढेको आधारमा नेपाली मुद्राको सटही दर कार्यान्वयनमा आउँछ । १०० भारु बराबर नेपाली १६० रुपैयाँको स्थिर विनिमय दर छ ।
नेपालमा आधिकारिक सटही दर नेपाल राष्ट्र बैङ्कले तोक्ने गर्छ । सोमबार एक अमेरिकी डलरको भाउ ११३ रुपैयाँ ८९ पैसा रहेको नेपाली मुद्राको सटही दर मङ्गलबार ११४ रुपैयाँ २४ पैसा पुगेको हो । पछिल्लो समय अन्तर्राष्ट्रिय बजारमा डलरको माग बढिरहेकाले अझै सटही दर बढ्ने अनुमान छ । वैशाख यता डलर निरन्तर बलियो र नेपाली रुपैयाँ कमजोर हुँदै गएको छ । फेडरल रिजर्वले ब्याजदर बढाएपछि भारतबाट विदेशी लगानी अमेरिकातर्फ फर्किंदा डलर सञ्चिति घट्न थालेको बताइएको छ । भारतीय रिजर्व बैङ्क (आरबीआई) ले मङ्गलबारका लागि १ डलर बराबर ७१ रुपैयाँ ३७ पैसा भारु तोकेको छ ।
डलर महँगिदा आयातित सबै वस्तु तथा सेवा महँगिन्छन् । डलर तिरेर आयात गरिएका वस्तु तथा सेवाको लागत महँगो भई खुद मूल्य बढ्छ र अन्त्यमा यसको मारमा उपभोक्ता पर्छन् । यस्तै पेट्रोलियमको भाउ बढाउन पनि सहयोग गर्छ । भारत तथा तेस्रो मुलुकबाट आउने सवारीसाधन, मोबाइल फोन, इलेक्ट्रोनिक्सका सामान, लत्ताकपडाको भाउ बढ्छ । विदेशबाट कच्चा पदार्थ ल्याएर उत्पादन गर्ने उद्योगको लागतमा पनि वृद्धि हुन्छ । त्यसैगरी राज्यले विदेशी दातृ निकायसँग लिएको ऋणको लागत पनि बढ्न जान्छ, जसले गर्दा सरकारले ब्याज तिर्न ठूलो मूल्य चुकाउनुपर्ने हुन्छ ।
त्यसैगरी नेपाल विद्युत् प्राधिकरणले डलरमा विद्युत् खरिद सम्झौता गरेका हकमा त्यसको बिजुली खरिद गर्दा तिर्नुपर्ने दायित्व पनि बढ्छ । त्यसैगरी विदेशी लगानीमा खोलिएका कम्पनीले लैजाने लाभांशलगायतको दायित्व पनि बढ्छ । अन्तर्राष्ट्रिय बजारमा हवाइ टिकटको मूल्य पनि बढ्छ । यसले गर्दा समग्रमा नेपाली जनता मारमा पर्ने गर्छन् । डलरको सटही दर बढ्दा विदेशबाट पठाइएको विप्रेषणको आय वृद्धि भने बढ्छ । त्यसैगरी विदेशबाट प्राप्त हुने पेन्सन आप्रवाहमा पनि वृद्धि हुन्छ । तर, स्वदेशबाट जाने विप्रेषण र पेन्सन आप्रवाहको दायित्व भने बढ्छ ।