आक्रामक बजार विस्तारमा एयरलाइन्स कम्पनी

पछिल्ला वर्षमा आन्तरिक उडान भर्ने मात्रै नौ विभिन्न कम्पनी छन् । यी कम्पनीसँग भएका ४४ विमानले सेड्युल उडान भरिरहेका छन् । र, सबैजसो कम्पनीको योजना छ– छिट्टै नयाँ विमान थप्ने ।

आकाश असीमित सम्भावनाहरुसहितको रहस्य हो । त्यसैले पनि निकै वर्ष अघिदेखि आकाशका रहस्यबारे खोज जारी छन् । र, रहस्यले भरिएको यही आकाशमा अथाह सम्भावना पनि छन् ।

आकाशका ती सम्भावना आर्थिक समृद्धिका लागि पनि कति उपयुक्त छन् भन्ने त यो आर्थिक वर्षमा नेपालकै आकाशले पनि प्रमाणित गरेको छ– पछिल्लो एक वर्षमै १५ नयाँ जहाज थपिएका छन् । यती एयरलाइन्सले दुई, नेपाल एयरलाइन्सले दुई तथा श्री एयरलाइन्सले एउटा विमान ल्याउने तयारी अन्तिम चरणमा छ । यो वर्षमात्र एक दर्जनभन्दा बढी विमान थपिनुले पनि आकाशको सम्भावना अझ बढ्दै गएको प्रमाणित हुन्छ । त्यसो त, विमानमात्र होइन, यो वर्ष आन्तरिक उडान गर्ने दुई एयरलाइन्स कम्पनी पनि थपिए । र, वैशाखसम्ममा हवाइजहाज तथा पाटपुर्जाको आयात १६ अर्ब रुपैयाँभन्दा बढीको भयो ।

अझै पनि सडक यात्रामा भर पर्न नसकिने र हाइवेमै घन्टौं जाम बस्नुपर्ने भएकाले यसरी हवाई क्षेत्रमा लगानी बढिरहेको सरोकारवालाहरु बताउँछन् । तर, नेपालमा हवाई क्षेत्रले यस्तो ठूलो फड्को मारेको लामो समय भएको छैन । नेपालमा २५ वर्षअघि सन् १९९२ मा पहिलोपटक निजी विमान उड्न थाल्यो । त्यसअघि तत्कालीन शाही नेपाल एयरलाइन्सले मात्र नेपालको आकाश ढाकेको थियो । यो फरक कुरा हो, त्यसभन्दा अगाडिदेखि नै अन्तर्राष्ट्रिय उडान भर्न विदेशी एयरलाइन्सका विमान त्रिभुवन विमानस्थालमा अवतरण गर्थे ।

पछिल्ला वर्षमा चाहिँ आन्तरिक उडान भर्ने मात्रै नौ विभिन्न कम्पनी छन् । यी कम्पनीसँग भएका ४४ विमानले सेड्युल उडान भरिरहेका छन् । र, सबैजसो कम्पनीको योजना छ– छिट्टै नयाँ विमान थप्ने । उदाहरणमा श्री एयरलाइन्सलाई नै लिन सकिन्छ । नेपालको सबैभन्दा ठूलो हेलिकोप्टर कम्पनी श्री यही वर्ष दुई अर्ब रुपैयाँ लगानी थप्दै ‘फिक्स्ड विङ’मा गएको छ । श्री एयरलाइन्सका अध्यक्ष सुधीर मित्तलका अनुसार अब केही वर्षभित्र श्रीले अन्तर्राष्ट्रिय उडान सुरु गर्दै छ ।

आखिर किन यसरी लगानी बढ्दै छ त उड्ड्यन क्षेत्रमा ? के नेपाली आकाशको सम्भावना अझ धेरै छ, जसले निकै लगानी माग गरिरहेको छ ?
किनकि, नेपालमा पर्यटनको सम्भावना प्रचुर मात्रामा छ भनेर वर्षौंदेखि भन्दै आइएको छ । यही सम्भावना अब वास्तविकतामा परिवर्तन हुनेमा अधिकांशको विश्वास छ । र, पछिल्ला वर्षमा हवाई यात्रा गर्ने नेपालीको सङ्ख्या पनि व्यापक बढेको छ ।

‘यो नौलो कुरा होइन, सन् २००० को दसकमा पनि यस्तै देखिएको थियो,’ गोमा एयरका अध्यक्ष विकास राणा भन्छन्, ‘तर, बीचमा यसमा केही समय ब्रेक लाग्यो । यो वर्षचाहिँ यो क्षेत्रमा लगानी बढ्यो ।’ लगानीमात्र बढेको होइन, एक दसकमा तीन गुणा फ्लिट (विमान) बढे पनि पछिल्लो समय कुनै पनि कम्पनी व्यापार नपाएर धरासयी भएको अभिलेख उड्डयन प्राधिकरणसँग छैन ।
गएको दसकमा नेपाल आउने विदेशीहरु वार्षिक ७ लाखभन्दा बढी छैनन् । तर पनि हवाई कम्पनीहरु पनि आइरहेको पुरानाले पनि प्रगति गर्दै गएका छन् । र, दसक अगाडिभन्दा तीनगुणा फ्लिट (विमान) बढेर पनि पछिल्लो समय कुनै पनि कम्पनी व्यापार नै नपाएर धरासयी भएको अभिलेख छैन ।

त्रिभूवन अन्तराष्ट्रिय विमानस्थल (टीअार्इए)का महाप्रवन्धक देवानन्द उपाध्यायले थप पूर्वाधार जबनाउँदासम्म नयाँ जहाज थप्न नसकिने बताए ।  अहिले क्षमताकाे झण्डै दाेब्बर जहाजलार्इ पार्किङ उपलब्ध गराएकाे उनकाे भनाइ छ । तर, यही पूर्वधारमा नयाँ जहाज थप्न कठीन हुने जानकारी  दिए ।

‘एक दसकयता यो क्षेत्रले राम्रो गरिरहेको छ,’ पर्यटन मन्त्रालयका सहसचिव सुरेश आचार्य भन्छन्, ‘एक दसकयताको ट्रेन्डलाई आधार बनाएर नै यो क्षेत्रमा लगानी बढेको हुनुपर्छ ।’ अर्कोतिर अन्तर्राष्ट्रिय नागरिक उड्डयन सङ्गठन (आइकाओ)को विश्लेषण छ– केही वर्षयता एसिया प्यासिफिक र त्यसमा पनि दक्षिण एसियामा हवाई यात्रा गर्ने संस्कृतिको विकास तीव्र गतिमा भइरहेको छ । नेपालमा पनि यो क्षेत्रप्रतिको आकर्षण बढ्नुमा यही विश्लेषण लागू हुन्छ ।

‘नेपालमा पछिल्लो समय हवाई यात्रा तीव्र गतिमा बढिरहेको छ,’ नागरिक उड्डयन प्राधिकरण (क्यान) महानिर्देशक सञ्जीव गौतम भन्छन्, ‘केही समय अगाडिसम्म विदेशीको भर पर्नुपर्ने वायुसेवा कम्पनीहरु अहिले नेपाली यात्रुहरुले भरिभराउ छन् ।’ सन् २०१६ मा १७ लाख नेपालीले हवाई यात्रा गरेको र अबको पाँच वर्षमा हवाई यात्रा गर्ने नेपालीको सङ्ख्या दोब्बर हुने अनुमान क्यानले गरेको गौतमले जानकारी दिए ।

यो सत्य किन पनि हो भने विदेशी पर्यटकको सङ्ख्या घट्दा पनि नेपालमा हवाई यात्रुको सङ्ख्यामा त्यति ठूलो भिन्नता आएको छैन । सन् २०११ मा सबैभन्दा बढी पर्यटक नेपाल आएको वर्ष १५ लाखले आन्तरिक हवाई यात्रा गरेका थिए भने सन् २०१६ मा विदेशी पर्यटकको सङ्ख्या आधा घट्दा पनि हवाई यात्रा गर्नेको सङ्ख्या दुई लाखले बढेको तथ्याङ्क क्यानसँग छ ।

सरकारको प्राथमिकतामा छ विमानस्थल
व्यस्त नेपालको आकाशलाई हेरेर मात्र होइन, नेपाल घुम्न आउने पर्यटकको मुख्य गेटवे भएकाले अन्तर्राष्ट्रिय विमानस्थल सरकारको प्राथमिकतामा पर्दै आएको छ । आगामी आर्थिक वर्षका लागि पनि बजेटमा विमानस्थल निर्माण तथा मर्मतलाई प्राथमिकतामा राख्नुको कारण यही भएको पर्यटन मन्त्रालयका सहसचिव सुरेश आचार्यको दाबी छ ।
आगामी वर्षको बजेटमा निजगढ अन्तर्राष्ट्रिय विमानस्थल, गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल र पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थल निर्माणका लागि १३ अर्ब ७२ करोड रुपैयाँ विनियोजित छ ।
‘भैरहवा विमानस्थल निर्माण हुँदै छ, अब छिट्टै पोखरा विमानस्थलको पनि निर्माण कार्य सुरु हुन्छ,’ नागरिक उड्डयन प्राधिकरणका महानिर्देशक गौतम भन्छन्, ‘निजगढ विमानस्थल निर्माणका लागि परामर्शदाता नियुक्त गर्ने काम सुरु भइसकेको छ ।’ गौतमले पर्यटन प्रवद्र्धनमा विमानस्थल निर्माण अनिवार्य भएकाले यी परियोजना केन्द्रबिन्दुमा राखेर काम अगाडि बढिरहेको बताए ।
अर्कोतिर व्यवसायीहरु सरकारले बजेट विनियोजन गरे पनि कार्यक्रमहरु कार्यान्वयन हुने सम्भावना अत्यन्त न्यून रहेको गुनासो गर्छन् । ‘विगतलाई हेर्ने हो भने सरकारी लक्ष्य भेटिन्छ भनेर गर्व नगर्दा हुन्छ,’ होटल एसोसिएसन (हान)का पूर्वअध्यक्ष नरेन्द्र वज्राचार्य भन्छन्, ‘किनकि बजेट विनियोजन मात्र हुन्छ, कार्यान्वयनमा सधैं अलमल देखिन्छ ।’
सरकारी अधिकारीहरुलाई चाहिँ अब पनि त्यस्तै अलमल दोहोरिएला भन्ने लाग्दैन । उनीहरुको तर्क छ– हिजो त्यस्तो हुनुमा अस्थिर राजनीति कारक थियो, अब राजनीति व्यवस्थित भएको छ, कार्यक्रमहरु प्नि व्यवस्थित हुन्छन् ।

सडक पनि प्राथमिकतामा
विमानस्थल निर्माण जति सरकारी प्राथमिकतामा छ, त्यति नै सडक निर्माण पनि प्राथमिकतामा राखेर सरकारले योजना अगाडि बढाएको छ ।
सरकारले आगामी आर्थिक वर्षको बजेटमा सडकका लागि ८९ अर्ब रुपैयाँ विनियोजन गरेको छ । यो सडक विकासमा पर्याप्त रकम भएको अधिकारीहरु बताउँछन् । तर, बजेट विनियोजन भए पनि खर्च हुने र गुणस्तरीय सडक निर्माण हुनेमा पूर्वमन्त्री रमेश लेखक नै आशङ्का व्यक्त गर्छन् ।
भौतिक योजना तथा निर्माण मन्त्रालयको अनुभव सँगालिसकेका लेखक भन्छन्, ‘सबैभन्दा ठूलो समस्या गुणस्तरीय निर्माण नुहनु हो । मैले यो कुरा अनुभव गरेकैले हामीले नीतिगत सुधार र भएका नीतिगत व्यवस्था कार्यान्वयन गर्ने फ्रेमवर्क बनाएका छौँ ।’
माओवादी अध्यक्ष पुष्पकमल दाहाल नेतृत्वको सरकारमा भौतिक योजना मन्त्रालयको नेतृत्व गरेका लेखकले थपे, ‘नीति पहिले पनि थिए, अहिले पनि छन् । समस्याचाहिँ कार्यान्वयनको हो । अब राजनीति स्टेबल हुने भएकाले विकासको अजेन्डाले प्राथमिकता पाउँछ र विकास हुन्छ भन्नेमा विश्वस्त छु ।’

अहिले अस्वस्थ भए पनि सम्भावना देखेर लगानी बढ्यो

विकास राणा
अध्यक्ष, गोमा एयर

केही वर्ष अघिसम्म सुस्ताएको उड्डयन क्षेत्रमा यो वर्ष अचानक लगानी बढ्यो । यसरी उड्डयन क्षेत्रमा बढेको लगानी कत्तिको सुरक्षित छ ?
खासमा देशमा संविधान जारी भएपछि पर्यटन क्षेत्रमा आकर्षण बढेको हो । पर्यटन क्षेत्रकै महङ्खवपूर्ण ‘कम्पोनेन्ट’ हो, एयरलाइन्स पनि । संविधान बनेपछि देशमा राजनीतिक स्थिरता कायम हुने र पर्यटक आकर्षित हुने अनुमानमा यो क्षेत्रमा आकर्षण बढेको हो ।

अब यो क्षेत्रको लगानी कति सुरक्षित छ भन्ने कुरा अहिले नै ठोकुवा गर्न सकिँदैन । किनकि, यसको भविष्य यसका सहयोगी क्षेत्रको विकासमा निर्भर हुन्छ । पर्यटकीय चहलपहल कस्तो हुन्छ, समग्र देशको आर्थिक अवस्थामा कस्तो सुधार आउँछ भन्नेले यसलाई निर्धारण गर्नेछ । हेर्नुस्, आउन त यसअघि पनि कम्पनी आएका थिए । तर, उनीहरुले राम्रो गर्न सकेनन्, टाट पल्टिए । अहिले पनि केही कम्पनी घाटामा चलिरहेको हामीले देखेका छौँ । त्यसैले, यो क्षेत्रको लगानी कति सुरक्षित भनेर अहिलेको अवस्थालाई आधार बनाएर भन्न सकिँदैन, भविष्य नै कुर्नुपर्ने हुन्छ ।

भविष्य त विभिन्न सिनेरियोले निर्धारण गर्ने भयो । अहिलेको अवस्थाचाहिँ के हो ?
अहिले यो क्षेत्र स्वस्थ छैन । उडानमा विमानहरु थपिएका छन्, सिट बढेका छन् । तर, त्यही अनुपातमा यात्रु बढेका छैनन् । हिजो १२ लाख विदेशी पर्यटकलाई सेवा दिँदाभन्दा आज विमान बढेका छन् । तर, पर्यटकको सङ्ख्या बढेको छैन । कस्टमर नबढेर विमान बढ्दा भाडादरमा कम्पिटिसन भएको छ । हो, विमानमा अहिले नेपालीको सङ्ख्या बढेको छ । तर, यसमा पनि उस्तै प्रतिस्पर्धा छ । कसले सस्तोमा सेवा दिने भन्ने कम्पिटिसन हुँदा एयरलाइन्स कम्पनीलाई फाइदा हुँदैन । भाडा घटाउने प्रतिस्पर्धामा सामेल भएर पनि आफ्नो व्यापार सर्भाइभ गराउन एयरलाइन्स कम्पनी बाध्य छन् । यसले गर्दा हिजोको जस्तै दुर्घटना दोहोरिन सक्छ, फेरि पनि एयरलाइन्स कम्पनी टाट पल्टिएर बन्द हुन सक्छन् ।

तपाईं अवस्था अस्वस्थ छ भन्नुहुन्छ । तर, यो क्षेत्रमा धमाधम लगानी ओइरिएको छ । यो त कन्ट्र्याडिक्सन भएन र ?
होइन, खासमा अहिले पर्यटनमा सम्भावना देखेकाले यस्तो भएको हो । अरु क्षेत्र पनि लगानी आउने भनेको यस्तै आशावादी आवस्थामा हो । फेरि सम्झनुपर्ने कुरा के हो भने यस्तै समयमा आएका कम्पनीले सफलताको शिखर चुम्छन् । त्यसैले पनि अहिले राम्रो अवस्था नहुँदा–नहुँदै भोलि पर्यटन क्षेत्रमा हुने सम्भावना देखेर यो क्षेत्रमा लगानी बढेको हो ।

लगानी बढ्नु एउटा कुरा, यो क्षेत्रमा पक्कै समस्या पनि होलान् । तपाईंलाई यो क्षेत्रका मुख्य समस्या के हुन् जस्तो लाग्छ ?
सबैभन्दा पहिलो समस्या त विमानस्थल हो, त्यो पनि अन्तर्राष्ट्रिय । हामीसँग अहिलेसम्म एउटा मात्र अन्तर्राष्ट्रिय विमानस्थल छ र त्यो पनि राम्रो छैन । त्यसैले, सबैभन्दा ठूलो समस्याका रुपमा पनि यसलाई लिन सकिन्छ । किनकि, विमानस्थल नै नेपालको गेट हो, विदेशीका लागि ।

विमानस्थलमा भएका समस्या भनेका सबै यो क्षेत्रका समस्या हुन् । अब मूल ढोका नै राम्रो छैन भने भित्रका कलात्मक ढोका हेर्न जाने जाँगर कसलाई हुन्छ ?
अर्को समस्या भनेको नयाँ गन्तव्यको पहिचान नगर्नु हो । हामीले वर्षौंदेखि पोखरा, चितवन, सगरमाथामात्र बेचिरहेका छौँ । हामीसँग भएका यति धेरै हिमाल र प्राकृतिक सौन्दर्य, सम्पन्न संस्कृति र सम्पदाको प्रचार तथा प्रवद्र्धन गर्न सकेका छैनौँ । यो क्षेत्रका लागि यो सबैभन्दा बढी खट्किने समस्यामध्ये एक हो । यसलाई समाधान गर्न सरकार र निजीक्षेत्र एकसाथ मिलेर अगाडि बढ्नुपर्छ ।

विदेशी पर्यटक घटेको खण्डमा यो क्षेत्र अत्यन्त धरासयी हुनपुग्ला कि केही समय नेपाली यात्रुकै कारण पनि आन्तरिक उडान गर्ने एयरलाइन्स कम्पनी चलिरहलान् ?
सम्भावनाचाहिँ छ । यस्तो सम्भावना किन पनि छ भने पहिले हामीसँग विदेशी यात्रुमात्र हुन्थे, पछिल्लो समय हवाई यात्रा गर्ने नेपाली यात्रुको सङ्ख्या बढेको छ । हवाई यात्रा सुरक्षित र भरपर्दो हुन थालेको छ, हवाई यात्रा एउटा कल्चरका रुपमा विकास भइरहेको छ । तर, बिर्सनु के हुँदैन भने नेपाली यात्रुकै भरमा मात्र यसलाई यहाँभन्दा ठूलो उद्योग बनाउन सकिँदैन ।