एलपीजी ग्यासको मासिक घाटा ८० करोड, निलाे सिलिन्डरको मूल्य बढाउने तयारी

ग्यासको घाटा समायोजनका लागि निगमले व्यावसायिक रुपमा प्रयोग हुने निलाे सिलिन्डरको मूल्य बढाउने तयारी गरेको छ । त्यसका लागि ग्यास व्यवसायीहरुसँग घरायसी र व्यावसायिक खपतको परिमाण माग गरिएको निगमका निमित्त कार्यकारी निर्देशक भट्टराइको भनाइ छ ।

नेपाल आयल निगमले एलपीजी ग्यासमा मात्र मासिक ८० करोड रुपैयाँ घाटा व्यहोर्दै आएको छ । हाल प्रतिलिटर २ रुपैयाँ ८४ पैसा र प्रतिसिलिन्डर तीन सय १० रुपैयाँ ९१ पैसा घाटा रहेको निगमका निमित्त कार्यकारी निर्देशक सुशील भट्टराईले जानकारी दिए ।

ग्यासको घाटा समायोजनका लागि निगमले व्यावसायिक रुपमा प्रयोग हुने निलाे सिलिन्डरको मूल्य बढाउने तयारी गरेको छ । त्यसका लागि ग्यास व्यवसायीहरुसँग घरायसी र व्यावसायिक खपतको परिमाण माग गरिएको निगमका निमित्त कार्यकारी निर्देशक भट्टराइको भनाइ छ ।

उनले एलपी ग्यासमा रातो र नीलो सिलिन्डरको प्रयोगको कार्यविधिलाई पुनः अध्ययनन गरी सरोकारवाला पक्षहरुसँग आवश्यक छलफल एवम् राय सल्लाह लिई नेपाल सरकारको निर्देशनबमोजिम लागू गर्ने दिशातर्फ अघि बढ्ने तयारी निगमले गरिरहेको जानकारी दिए ।

निमित्त कार्यकारी निर्देशक भट्टराईले सेप्टेम्बर १ मा इन्डियन आयल कर्पोरेसन (आईओसी)बाट प्राप्त पेट्रोलियम पदार्थको नयाँ मूल्यअनुसार निगमलाई १५ दिनमा करिब ३१ करोड ५९ लाख रुपैयाँ घाटा रहेको जानकारी दिए । पछिल्ला केही दिनदेखि अमेरिकी डलरसँग नेपाली मुद्राको अवमूल्यन हुने क्रम सुरु भएपछि निगमको घाटा बढ्दै गएको हो ।

हाल अन्तर्राष्ट्रिय बजारमा इन्धनको मूल्य निकै बढेको छ । करिब तीन साताअघि प्रतिब्यारेल कच्चा इन्धनको मूल्य ७३÷७४ डलर थियो । विश्व परिवेशमै भएको इन्धन राजनीतिका कारण हाल मूल्य वृद्धि भएर प्रतिब्यारेल ७७ डलर पुगेको छ । प्रतिब्यारेलमै पछिल्लो समयमा तीन डलरले मूल्य वृद्धि भएको छ ।

प्रतिब्यारेल एक डलर मूल्य वृद्धि हुँदा मासिक १७ करोड घाटा हुन्छ । अहिले प्रतिब्यारेल तीन डलर बढेका कारण मासिक करिब ५० करोड रुपैयाँ घाटा निगमले व्यहोर्नु पर्ने भएको छ ।