चालकको न्यूनतम तलब १३ हजार ४ सय ५० पुर्याउने तयारी

चालकले अन्यन्तै न्यून तलब सुविधा पाउँदै आएकाले सरकारले श्रम ऐनअनुसार तलब पुर्याउन लागेको हो ।

पेट्रोलियम पदार्थ ढुवानी गर्दै आएका चालकको न्यूनतम तलब १३ हजार ४ सय ५० रुपैयाँ पुर्याउने गरी गृहकार्य सुरु भएको छ । चालकले अन्यन्तै न्यून तलब सुविधा पाउँदै आएकाले सरकारले श्रम ऐनअनुसार तलब पुर्याउन लागेको हो ।

नेपाल पेट्रोलियम ट्याङ्कर चालक सङ्घले भदौ ३ गते वाणिज्य तथा आपूर्ति मन्त्रालयमा ज्ञापन पत्र बुझाउँदै न्यूनतम पारिश्रमिक ३२ हजार पुर्याउनु पर्ने माग अघि सारेका थिए । हाल उनीहरुले ७ हजार ४ सय रुपैयाँ पाउँदै आएका छन् । सरकारले चालक र सहचालकको सेवा सुविधा फरक फरक बनाउने गरी काम सुरु गरेको स्रोतले बताएको छ ।

यता नेपाल पेट्रोलियम ट्याङ्कर चालक सङ्घले बुधबार थानकोट डिपोमा विरोध कार्यक्रमको आयोजना गरी आफूहरुको मागलाई सरकारले बेवास्ता गरेको भन्दै भदौ ३० गतेदेखि पेट्रोलियम पदार्थ ढुवानी नगर्ने चेतावनी दिएका छन् । सङ्घका अध्यक्ष ईश्वर लामाले भदौ ३ गते सरकारलाई बुझाएको मागपत्रको विषयमा सरकार गम्भीर नभएका कारण आफूहरु आन्दोलनमा जान बाध्य भएको बताए । उनले ट्याङ्करका चाबी नेपाल पेट्रोलियम ढुवानी व्यवसायी महासङ्घमा बुझाउने तयारी गरेको जानकारी दिए । सङ्घले सरकारसमक्ष १८ बुँदे मागपत्र पेस गरेको थियो । मागपत्रमा बिरामी हुँदाको रकम उपलब्ध गराइनुपर्ने लगायतका माग समावेश गरिएको छ ।

यसैबीच वाणिज्य तथा आपूर्ति मन्त्रालयका प्रवक्ता नवराज ढकालले चालकहरुको माग सम्बोद्धन हुने बताएका छन् । उनले मन्त्रालयले गम्भीर रुपमा छलफल गरिरहेको बताउँदै आन्दोलन गर्नुपर्ने अवस्था नआउने जानकारी दिए ।