दुई देशका उच्चस्तरीय सरकारी अधिकारीबीच कार्यविधिमा समझदारी भएपछि तेस्रो मुलुकमा हुने व्यापारमा नेपालले भारतको बन्दरगाह मात्र प्रयोग गर्नुपर्ने अवस्था हट्ने भएको हो ।
नेपालले चीनका सबै बन्दरगाह प्रयोग गर्न पाउने भएको छ । नेपाल र चीनका उच्चस्तरीय सरकारी अधिकारीबीच बिहीबार राति पारवहन तथा यातायात सम्झौता कार्यविधिमा सझदारी भएपछि नेपाललाई चीनका बन्दरगाह प्रयोग गर्न बाटो खुलेको हो ।
दुई देशका उच्चस्तरीय सरकारी अधिकारीबीच कार्यविधिमा समझदारी भएपछि तेस्रो मुलुकमा हुने व्यापारमा नेपालले भारतको बन्दरगाह मात्र प्रयोग गर्नुपर्ने अवस्था हट्ने भएको हो ।
नेपाल र चीनबीच दुई वर्षअघि २०१६ मा पारवहन सम्झौता भएको थियो । त्यही सम्झौताको प्रोटोकल बैठक दुईदिन बस्दै बिहीबार सकिएको हो । बैठकले तेस्रो मुलुकबाट चीन हुँदै नेपाल आउने सामानका लागि सबै बन्दरगाह प्रयोग गर्ने मस्यौदालाई अन्तिम रुप दिइएको उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयले जनाएको छ ।
मन्त्रालयका प्रवक्ता नवराज ढकालले जारी गरेको विज्ञप्तिमा बन्दरगाहबाट नेपालसम्म आउने उपयुक्त मार्ग, भन्सारसँग सम्बन्धित प्रक्रिया, यातायातको माध्यम, ढुवानी प्रक्रियालगायतका पारवहनसम्बन्धी विषयहरुमा छलफल भएको र प्रोटोकलको मस्यौदालाई अन्तिम रुप दिइएको उल्लेख छ ।
प्रोटोकलमा नेपालका तर्फबाट उद्योग मन्त्रालयका सहसचिव रविशङ्कर सैंजु र चीनका तर्फबाट यातायात विभागका महानिर्देशक वाङ सिपिङले हस्ताक्षर गरेको मन्त्रालयले जनाएको छ ।