म्याग्दी र मुस्ताङलाई जोड्ने धौलागिरि आइसफल क्षेत्रमा पदमार्ग निर्माण गरिएको छ । ६ वर्ष अगाडि टान पोखराको नेतृत्वमा जिल्लाका सरोकारवालाको पहलमा स्थलगत अवलोकनबाट पहिचान गरिएको यस पदमार्गमा निरन्तर काम भइरहेको छ ।
मनोरम हिमशृङ्खलाको दृष्यावलोकन गर्न सकिने सो पदमार्गमा पर्यटन कार्यालय पोखरामार्फत विनियोजित १० लाख बजेटबाट पदमार्गअन्तर्गत चिमखोलाको ससलधारा क्षेत्रमा करिब एक किलोमिटर पदमार्ग निर्माण गरिएको हो । झन्डै दुई महिना धौलागिरि हिमालको फेदीतिर अस्थायीरुपमा बसोबास गरी २८ ओटा पदमार्ग निर्माण गरिएको धौलागिरि आइसफल पदमार्ग निर्माण समितिका अध्यक्ष धु्रवकुमार पाइजाले जानकारी दिए ।
रघुगङ्गा नदीको किनारमा ससलधारा कोखेभीरदेखि कालीबराह खोलासम्म पदमार्ग निर्माण गरिएको छ । अक्करे भीरमा डोरीको सहायताले भीर फोरेर पदमार्ग निर्माण गरिएको छ । अध्यक्ष पाइजा भन्छन्, ‘अझै केही भीरमा पदमार्ग खन्नुपर्नेछ, त्यसका लागि सरकारीस्तरबाट सुरक्षित हुने सामग्रीको आवश्यकता छ ।”
अधिकांश ठाउँमा ढुङ्गाको भर्याङ् चिनेर पदमार्ग बनाइएको छ । पाँच वर्षको अवधिमा भगवतीको रुइसेदेखि पछेत्राधुरी, सोबाङधुरी, लोसधुरी, दहबुकी, फेदी, सुगुरथला हुँदै ससलधारा क्षेत्रसम्म पदमार्ग निर्माण गरिएको छ । रुइसेदेखि दहबुकीसम्मको पदमार्गलाई अझै स्तरोन्नति गर्नुपर्ने अवस्था छ भने दहबुकीदेखि कालीबराह खोलासम्म सिँढी चिनेर पदमार्ग बनाइएको छ ।
कुइनेमङ्गले र चिमखोलातर्फको भूभागमा पर्ने धौलागिरि हिमालको आधार शिविर पुग्नका लागि अब झन्डै तीन किलोमिटर पदमार्ग निर्माण गर्नुपर्ने छ । त्यसमा झन्डै ५० मिटर जति भूभाग कडा चट्टानको भीरलाई काटेर बनाउनुपर्ने पाइजा बताउँछन् । कालीबराहको दोभानबाट कालीबराहताल हुँदै मुस्ताङको लेते निस्कने परम्परागत गोरटोबाटोलाई स्तरोन्नति गर्नुपर्ने छ ।
पदमार्ग निर्माण योजना अगाडि बढे पनि नक्साङ्कन र थप पर्यटन पूर्वाधार निर्माण नहुँदा पदमार्ग सञ्चालनमा ढिलाइ भएको धौलागिरि आइसफल पदमार्ग निर्माण तथा व्यवस्थापन समितिका सल्लाहकार देवेन्द्र केसीले बताए । कुमारी पदमार्गको रुपमा रहेको यस क्षेत्रमा प्रारम्भिक चरणको पदमार्ग निर्माण गर्ने काम अन्तिम चरणमा पुगेकाले नक्साङ्कन गरी सूचनामूलक सङ्केतबोर्ड राख्ने र खानेपानी, भ्यु टावर, लज इत्यादि पूर्वाधार निर्माणतर्फ ध्यान दिनुपर्ने केसीले बताए ।